धरान। अन्तर्राष्ट्रिय ब्राण्ड सर्वो कम्पनीको स्टिकर टाँस गरेर स्थानीय मोबिल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारी  पक्राउ परेका छन् ।

विराटनगर–११ जनपथ टोलका ७८ वर्षीय शङ्करलाल खेम्कालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । उनले भण्डारण गरेको मोबिललगायतका सामग्री पनि नियन्त्रणमा लिएको छ ।

उनले स्थानीय मोबिललाई सर्वो कम्पनीको भन्दै बिक्री गरेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्ने क्रममा मोबिलसहित सर्वो कम्पनीको स्टिकर छाप्ने मेसिन पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रवक्ता मानबहादुर राईले जानकारी दिए । 

खेम्काले लामो समयदेखि कारोबार गर्दै आएको खुलेको छ । खेम्काले इनामेलमा पनि एसियन पेण्टको स्टिकर टाँस गरी बिक्री गरेको भेटिएको छ । उनको गोदामबाट स्टिकर छाप्न प्रयोग गरिने २१ व्टा फर्मा पनि बरामद गरिएको डिएसपी राईले जानकारी दिए ।

छापा मार्दा २ सय लिटर मोबिलका १५ वटा ड्रम, २० लिटरको मोबिलका ३ वटा ड्रम, १० लिटरको मोबिलका २ बाल्टी, १ लिटरको मोबिलका १४ वटा बट्टा र २ सय लिटरको २४ वटा खाली ड्रम बरामद गरिएको छ ।

त्यस्तै  सर्वोको १ सय वटा स्टिकर पनि बरामद गरिएको छ । त्यस्तै अन्य सामग्री पनि बरामद गरिएको छ । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि म्याद थप गरी कारबाही अगाडि बढाइएको छ ।