इटहरी। इटहरी–५ का टङ्कराज त्रिताल केही महिना अगाडिसम्म खानेपानीको महसुल तिर्न इटहरी उपमहानगरपालिकाको हाताभित्र घण्टौं लाइन बस्थे । लाइन बसेर पालोमा महसुल तिर्नु उनको बाध्यता थियो । तर, अहिले त्यो झन्झटबाट मुक्त भएका छन् ।

लाइनमै बसेर महसुल तिर्नुपर्ने बाध्यता हटेपछि टङ्कराजलाई केही सहज भएको छ । पछिल्लो समय इटहरी खानेपानीले प्रविधिमैत्री बिलिङ प्रणाली अवलम्बन गरेपछि उनी खानेपानी महसुल तिर्न महसुल काउण्टर धाउनु परेको छैन । अहिले ई–सेवाबाट पानीको महसुल तिर्न थालेको पनि ५ महिना भइसकेको उनी बताउँछन् । अहिले प्रविधिको सहायता लिएर घरमै बसी–बसी खानेपानीको महसुल भुक्तानी गर्दा महसुल तिर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको सुनाउँदै त्रितालले अनलाइनबाट समयमै भुक्तानी गर्दा सहुलियतसमेत हुने गरेको अनुभव सुनाए । 

त्रितालको जस्तै महिनामा एक पटक महसुल तिर्न पुग्ने इटहरी–५ का राम थापा पनि यतिखेर मख्ख छन् । उनले पनि लाइन बसेर खानेपानीको महसुल काउण्टर नधाएको महिनौं भयो । उनी आफूले ई–सेवामार्फत् खानेपानी महसुल भुक्तानी गर्ने गरेको र यसबाट समय, लागत पनि घटेकाले उपभोक्तालाई सहज भएको तर्क गर्छन् । सूचना तथा प्रविधिको विकासले सारा विश्व एउटा सानो गाउँ झैं रूपान्तरण भएको भान भइरहेको बेला लगभग २० हजारको हाराहारीमा रहेका उपभोक्ता रहेको खानेपानीले प्रविधिको अवलम्बन गर्नाले सेवाग्राहीहरूलाई सुविधा पुग्नुका साथै आर्थिक पारदर्शिता र विश्वसनीयतासमेत बढेको इटहरी खानेपानीका उपभोक्ता राम थापा बताउँछन् । 

अहिले इटहरी खानेपानी उपभोक्ता संस्थाले क वर्गका सबै वाणिज्य बैङ्क, सहकारी संस्था र ई–सेवा, खल्ती, आईएमई पेबाट महसुल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । अनलाइन र विद्युतीय भुक्तानी गर्ने व्यवस्था सुरु गरिसकेपछि अहिले महसुल असुली गर्ने काउण्टरमा उपभोक्ताको चाप घटेको इटहरी खानेपानीको बिलिङ तथा उपभोक्ता सेवा शाखाका प्रमुख राजु दङ्गाल बताउँछन् । अनलाइन भुक्तानी सुरु नहुँदा दैनिक सरदर ६ सयदेखि ७ सयको हाराहारीमा उपभोक्ता लाइन बसेर महसुल भुक्तानी गर्नुपर्ने बाध्यता थियो । प्रविधिमैत्री अनलाइन भुक्तानी सुरु गरेपछि अहिले दैनिक सरदर १ सयदेखि २ सय जना उपभोक्ताले मात्र खानेपानी काउण्टरमा आई भुक्तानी गर्ने गरेको तथ्याङ्क इटहरी खानेपानीमा छ । 

महसुल असुलीमा मात्र नभएर इटहरी खानेपानीले अहिले बिलिङ, लेखा र स्टोर व्यवस्थापनसमेत आफ्नै सर्भर खडा गरी एचटुओ नामको सफ्टवेयरबाट गरिरहेको छ । नेपालमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमध्ये आफूहरूले नै पहिलो पटक २०६१ सालदेखि सफ्टवेयर प्रयोगको सुरुवात गरेको शाखा प्रमुख दङ्गाल बताउँछन् ।

इटहरी खानेपानीले क्रमिक रूपमा प्रविधिको सहयोग लिँदै गत ३ वर्ष अघिदेखि डिभाइस प्रयोग गरेर मिटर रिडिङ सुरु गरेको र खपत युनिट तथा बिल रकमको जानकारी सिधै ग्राहकको मोबाइलमा जाने व्यवस्था गरिएको छ । इटहरीमा खानेपानी वितरणलाई थप व्यवस्थित र नेपालकै नमुना बनाउन इटहरी खानेपानीले स्मार्ट मिटरिङ र जिआईएस प्रविधिको सम्भाव्यता अध्ययन गरिरहेको दङ्गालको भनाइ छ ।  स्मार्ट मिटरिङ जडान भएको खण्डमा खानेपानीको मिटरसँगै स्मार्ट बक्स जडान गरी सिम टेक्नोलोजीको प्रयोग गरेर मोबाइलबाटै मिटर रिडिङ गर्ने व्यवस्था गरिने भएको छ । 

 खानेपानी लिकेज र समस्या पत्ता लगाउन सकिने र जिआईएस प्रविधिको सहायताले कार्यालयबाटै मिटर तथा पाइपलाइनको समग्र अवस्थालगायत पानीको बहाव मापन गर्न सकिने जनाइएको छ । प्रविधिको सहायताले समय र श्रमको बचत तथा उपभोक्ताहरूलाई समेत सुविधा थपिनुका साथै पारदर्शिता कायम गर्न मद्दत पुगेको छ । प्रविधिमा कुनै कसर बाँकी नराख्ने उद्देश्यका साथ इटहरी खानेपानीले आफ्नो वेबसाइट र मोबाइल एपको समेत विकास गरिसकेको इटहरी खानेपानीले जनाएको छ ।

आर्थिक पारदर्शितामा जोड दिँदै इटहरी खानेपानीले वेबसाइटमार्फत् मासिक आर्थिक विवरण प्रकाशन गर्ने, खानेपानीका सूचनाहरू प्रकाशित गर्ने, सेवा प्रवाहमा लाग्ने शुल्क दस्तुरको जानकारी राख्ने तथा उपभोक्ताले आफ्नो बाँकी बक्यौता हेर्न मिल्ने व्यवस्था वेबसाइटमा गरिनेछ । 

खानेपानीलाई थप सहज, सुलभ र व्यवस्थित बनाउन आइटी क्षेत्रका कर्मचारीलाई तालिम दिएर थप दक्ष बनाउँदै समयानुकूल सेवा प्रवाहमा जोड दिँदै खानेपानी क्षेत्रमा नयाँ नयाँ प्रविधि प्रयोग गर्दै जाने नीति रहेको खानेपानीका प्रबन्धक हरिबहादुर कटुवालले दिए । 

मानव जीवनको लाइफलाइनको रूपमा रहेको खानेपानीको वितरणलाई सहज, व्यवस्थित र पारदर्शी बनाउन वेबसाइट, मोबाइल एप र अनलाइन मिटरिङले महत्वपूर्ण भूमिका खेलेको छ । प्रविधिको सहायता लिँदा स्थिर लागतमा खानेपानी संस्थाको लगानी एक पटकका लागि बढे पनि दीर्घकालीन हिसाबले समग्र सञ्चालन लागतमा कमी आउने आँकलन इटहरी खानेपानीको छ ।

उपभोक्ता बढ्दै, कार्यालयमा चाप घट्दै 

प्रविधिमा जानुअघि खानेपानी कार्यालय र इटहरी नगरपालिकाको हाताभित्र रहेको महसुल काउण्टरमा थेग्नै नसक्ने गरी अचाक्ली भीड हुने गरेकोमा प्रविधि आत्मसात गरेसँगै उपभोक्ताको चाप घट्दो छ । प्रविधिको सहायताले घरमै बसी महसुल भुक्तानी गर्ने व्यवस्था मिलाउँदा महसुल समयमै उठ्ने गरेको छ भने बक्यौता रकम घटेको तथ्याङ्कले देखाएको छ । 

प्रविधिको आत्मसात गर्दा स्थिर ओभरहेडमा एक पटकका लागि राम्रो लगानी भए पनि प्राविधिक पृष्ठभूमिको खानेपानी कार्यालयको दीर्घकालीन सञ्चालन खर्चमा नियन्त्रण, आर्थिक पारदर्शिता कायम गर्न सहयोगी र उपभोक्ताका लागि सुविधा थपिएको छ । 

अनलाइनबाटै तिर्छन् ७२ प्रतिशतले महसुल

इटहरीमा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन भई आयोजना निर्माण भएको २६ वर्ष पूरा भएको छ । यस अवधिमा इटहरी खानेपानी तथा उपभोक्ता संस्थामा आमूल परिवर्तन आइसकेको छ । 

करिब १८ हजार ५ सय उपभोक्ता रहेको इटहरी खानेपानीका उपभोक्ताले लाइनमा बसेर महसुल भुक्तानी गर्दा दैनिक सरदर हजारको लाइन हुने गरेकोमा अहिले अनलाइन तथा मोबाइल वालेटमार्फत् महसुल भुक्तानी गर्ने व्यवस्था सुरु भएपछि काउण्टरबाट महसुल तिर्नेको सङ्ख्या ह्वात्तै घटेको छ । 

इटहरी उपमहानगरपालिकाको  हाताभित्र र इटहरी खानेपानी कार्यालयकै हातामा रहेको महसुल काउण्टरको तथ्याङ्क हेर्ने हो भने इटहरी खानेपानी प्रविधिमा गएसँगै अनलाइन र मोबाइल वालेट प्रयोग गर्दै महसुल भुक्तानी गर्ने उपभोक्ता करिब ७२ प्रतिशत बढी छन् । अनलाइन र वालेटमार्फत् महसुल भुक्तानी नगर्नेको सङ्ख्या २८ प्रतिशतभन्दा कम रहेको छ । 

इटहरी खानेपानी प्रविधिमा गएसँगै अनलाइन तथा मोबाइल वालेटबाट महसुल भुक्तानी गर्ने ग्राहकको सङ्ख्या बढेपछि खानेपानी महसुल समयै उठ्ने र पहिलेको तुलनामा शुल्क बक्यौता पनि घट्दै गएको छ । समयमै भुक्तानी हुँदा इटहरी खानेपानीको आर्थिक पारदर्शिता कायम राख्न प्रविधिको प्रयोग कोसेढुङ्गा साबित भएको छ । 

प्रविधिको सहायताले दीर्घकालका हिसाबले खानेपानीका समस्या यथाशक्य समाधान गर्न मद्दत मिल्ने देखिन्छ । खानेपानीका क्षेत्रमा विश्वभर नवीन प्रविधिहरूको विकास र प्रयोग बढिरहेको सन्दर्भमा आधुनिक प्रविधि प्रयोग गर्दै जाने र अहिले उत्पन्न हुने समस्या समाधान सरल रूपमा हुने विश्वास इटहरी खानेपानीको छ । 

सूचना प्रविधिको बढ्दो प्रयोगले परम्परागत कार्यशैलीमा सुधार भई सेवा सहज हुन थालेको छ । घण्टौं लाइन बसेर महसुल तिर्नुपर्ने खानेपानीको अब प्रविधिको प्रयोग गरी घरैमा बसीबसी महसुल तिर्ने उपभोक्ताको सङ्ख्या विस्तारै बढ्दै गएको छ ।

इन्टरनेटको सहयोगबाट घरमा बसीबसी सजिलै महसुल भुक्तानी गर्दा छिटोछरितो र सजिलो हुन थालेपछि काउण्टरबाट भुक्तानी गर्नेको सङ्ख्या निरन्तर घट्दो अवस्थामा रहेको इटहरी खानेपानी उपभोक्ता समितिले जनाएको छ ।  

विभिन्न महसुल भुक्तानीका लागि ई–सेवा, आईएमई पे, फोन पेलगायत विभिन्न सेवाहरू सञ्चालनमा छन् । त्यसबाट उपभोक्ताले सहज सेवा लिन सक्नेछन् । यसले बैङ्कबाट कारोबार गर्ने पद्दतिको विकास गर्ने भएकाले सेवालाई अझ विश्वसनीय पारदर्र्शीसमेत बनाउने प्रयोगकर्ताहरूको अनुभव छ ।

प्लम्बिङमा पनि फड्को: अध्यक्ष चौंलागाईं 

आइटिका क्षेत्रमा मात्र नभएर इटहरी खानेपानीले पछिल्लो समय फिल्डमा पाइप बिछ्याउने तथा प्लम्बिङसम्बन्धी काममा समेत प्रविधिको सहायता लिई काम सुरु गरेको खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौंलागाईं बताउँछन् । 

प्रारम्भमा मानवशक्ति प्रयोग गरेर गरिने काम पछिल्लो समय मेसिनको प्रयोग गरी गर्न थालिएको छ । त्यति मात्र नभएर प्रयोग भइसकेका तर कबाडीमा परिणत नभएका खानेपानी सामग्रीहरूलाई इटहरी खानेपानीले पुनः प्रयोग गर्न आफै आवश्यकता अनुरूप उपकरण टुल्स बनाउन थालेको छ ।

यसबाट समस्या पनि समाधान भएको र लागतसमेत कम हुने देखिएको छ । त्यसो त पाइपलाइन तथा खानेपानी वितरण प्रणालीमा पनि प्रविधिको सहायताले विगत र अहिले निकै ठूलो परिवर्तन गरिएको अध्यक्ष चौंलागाईंको भनाइ छ । खानेपानी वितरणलाई सरल, सुलभ र सहज बनाउँदै वितरण प्रणाली व्यवस्थित बनाउन नवीनतम् प्रविधिको प्रयोग बढाउँदै लाने अध्यक्ष चांैलागाईंले बताए ।