संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. ५ याफूमा खानेपानी आयोजना काम सम्पन्न गरि हस्तान्तरण भएको छ । दातृ संस्थाको सहयोगमा निर्मित सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिले निर्माण गरेको खानेपानी स्थानीयलाई शनिबार हस्तान्तरण गरिएको हो । 

कादुरी एग्रिकल्चर एड एसोसिएसन व्रिटिस गोर्खाज पोखरा र स्थानीय उपभोक्ताहरुको ६० लाख ९३ हजार २ सय २२ रुपियाँ ८७ पैसाको कुल लागतमा खानेपानी निर्माण भएको हो ।

सिलीचोङ गाउँपालिका वडा नम्बर ५ मा रहेको सिम्ले, पिसुवा, बडाहारे र खाम्खु टोलका ६३ स्थानमा खानेपानी धारा पुगेको छ ।

कादुरीले ४९ लाख ६८ हजार ७ सय २२ रुपियाँ ८७ पैसा र उपभोक्ताहरुको ११ लाख २४ हजार ५ सय बराबरको जनश्रमदानबाट यो आयोजना सम्पन्न भएको हो गत बर्ष बैशाख २० गते विस्तृत सभेक्षण सम्पन्न भएको यो आयोजना गत बर्षको मंसीर ११ गते बाट काम सुरु भएको थियो । 

शनिबार सिम्लेमा आयोजित हस्तान्तरण कार्यक्रममा सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङ र वडाध्यक्ष ईश्वर कुलुङलाई प्रोजेक्ट मेनेजर देवान राईले सिम्ले पिसुवा खानेपानी आयोजना हस्तान्तरण गर्नु भएको हो ।

खानेपानी योजनामा २ वटा इन्टेक, कलेक्सन च्याम्बर २ वटा, रिजर्भ ट्याङ्की ४ वटा, डिष्ट्रियूसन च्याम्बर १ वटा, मिटर जडित धारा ५९ वटा र ४ हजार ८ सय ८२ मिटर लम्बाईमा पाइप लाईन रहेको सामुदायिक मर्मत सम्भार कार्यकर्ता खेगेन्द्र राईले जानकारी दिए । 

५९ घर उपभोत्ता धारा, बरुण आ.बि.मा २ धारा, कृषि सहाकरीमा १ धारा र सामुदायिक वनको भवनमा १ धारा जम्मा ६३ धारा निर्माण गरि हस्तान्तरण भएको उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङले जानकारी दिए । उनका अनुसार व्यवस्थित खानेपानी प्राप्त भएपछि गाउँबासी स्थानीयहरु हर्षित भएका छन् ।