ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा मंगलबार बिहानबाट लागेको आगो नियन्त्रणमा आएको छ । 

आगलागीका कारण मेरिङ्देन गाउँपालिका वडा नम्बर ३, दोभान बजारका करिब ४७ वटा घर पूर्ण रुपमा जलेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए । 

Taplejung_Dovan_aaglagi_1

आगो करिब २ घण्टापछि स्थानीय, दमकल र सुरक्षा निकायका जनशक्तिले नियन्त्रणमा लिएका थिए । सदरमुकाम फुङलिङबाट पुगेको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिन रोकिएको हो ।

आगलागी फैलन नदिन एक्स्काभेटरले केही कच्ची घरहरू भत्काएको थियो । बस्तीतर्फको जोखिम कम भए पनि आगो नजिकैको जंगलतर्फ फैलिएको छ । त्यसलाई पनि नियन्त्रणको प्रयास जारी रहेका बताइएको छ ।

Taplejung_Dovan_aaglagi_2

अहिले क्षतिको विवरण संकलन तथा तत्काल राहत वितरणका सन्र्दभमा सरोकारवालाहरु विचको बैठक जारी रहेको छ । 

प्रारम्भिक जानकारी अनुसार ४७ घरका ७९ परिवार विस्थापित भएका छन् । उनीहरुले बिहानको खाना समेत नखाएका कारण खानाको व्यवस्थाका लागि पनि तयारी थालिएको स्थानीय राजु पोखरेलले जानकारी दिए । 

Taplejung_Dovan_aaglagi_3

बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । स्थानीय टंका गुरागाईका अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको हो । 

Taplejung_Dovan_aaglagi_4

पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको बताइएको छ । 

सदरमुकाम फुङलिङबाट १७ किमी दूरीमा रहेको उक्त बजारमा ८५ घर थिए । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

Taplejung_Dovan_aaglagi_5