नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा २ सदस्यीय वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने ‘दीपक’ पनि छन् ।
सरकारले समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा आजै समिति गठन गरिसकेको छ ।
पार्टीका तर्फबाट महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
सञ्चारमन्त्री पार्वत गुरुङले समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा हुने प्रतिक्रिया दिएका छन् ।
समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो ।
विज्ञप्ति जारी गर्दै विप्लवले नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न तयार रहेको स्पष्ट पारेका छन् । विप्लवले उच्चस्तरीय वार्ता टोली गठन गरेको जनाएका छन् ।