विजयपुर। धरान उपमहानगरले कपडा सिलाइ कटाइको ज्याला निर्धारण नगर्दा उपभोक्ता मारमा पर्दै आएका छन् । कमिसन लिनेदिने प्रमाणित हुँदा पनि उपमहानगरले ज्याला निर्धारणमा चासो दिएको छैन ।
लामो समयदेखि नै कपडा व्यवसायी र सिलाइ व्यवसायीबीच कमिसन लेनदेन हुँदै आएको भए पनि पुष्टि हुन सकेको थिएन । केही टेलर्स सञ्चालकबाहेक अधिकांश टेलर्स सञ्चालकले कमिसन लेनदेन गर्ने गरेको आरोप लाग्दै आएको छ । कमिसन भएको भनिए पनि प्रमाणित नहुँदा नियमनमा समस्या हुँदै आएको थियो ।
माघ २६ गते कपडा पसलका कर्मचारी र टेलर्स सञ्चालकबीच कमिसनकै कारणले झगडा भएपछि प्रमाणित भएको थियो । केही टेलर्स सञ्चालकबाहेक अधिकांशले आफूहरूले कमिसन लेनदेन गर्दै आएको सञ्चारकर्मीलाई स्वीकार गरेका थिए । नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ धरानका निवर्तमान अध्यक्षसमेत रहेका सोनी टेलर्सका सञ्चालक इम्तियाज अलीले सबै कपडा पसलले कमिसन लिने गरेको बताए ।
उनले कपडा पसल सञ्चालकले कमिसन दिने टेलर्सलाई मात्र पठाउने गरेको दाबी गर्दै आएका छन् । पसलले नै कमिसन दिने टेलर्समा पठाएपछि कमिसन लेनदेन नगर्ने टेलर्स मारमा पर्ने गरेको उनले बताए ।
कमिसन नलिने टेलर्स सञ्चालकले कमिसन खोरविरुद्ध आन्दोलन नै गरेका थिए । उनीहरूले आन्दोलनमा उपमहानगरले ज्यालादर निर्धारण गर्न माग पनि राखेका थिए । तर, उपमहानगरले आन्दोलन गरेको १५ दिन बित्दा पनि टेलर्स सञ्चालकसँग समन्वय नगरेको सिलाइ तथा कपडा व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष फिरोज अलीले बताए ।
उनले अहिलेसम्म पनि ज्याला निर्धारण चासो नदिँदा शङ्का लागेको बताए । उनले भने, ‘खुलेआम बिचौलियाको राज छ, उपमहानागरले चासो दिँदैन, उपभोक्ता र कमिसन नदिने टेलर्स सञ्चालक मारमा छौं ।’ उनले सुनसरी उद्योग वाणिज्य सङ्घले पनि सहयोग नगरेको दाबी गरे । उनले भने, ‘हामीलाई नपत्याएर आतिथ्यता ग्रहण गर्न पनि आउँदैनन् ।’ उनले थपे, ‘टेलर्स सञ्चालक पनि उद्योग वाणिज्य सङ्घमा आवद्ध छौं, तर, हाम्रा लागि बोल्दैन ।’
नगरका उपप्रमुख मञ्जु भण्डारी सुवेदीले दुई दिनअघि कपडा र सिलाइ व्यवसायीबीचको कमिसनको खेल के हो भन्ने विषयमा बुझ्नका लागि आफूलाई निर्देशन दिएको बजार अनुमगन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए । उनले सोहीअनुसार टेलर्स व्यवसायी र कपडा व्यवसायीहरूसँग छलफल गर्ने चरणमा रहेको बताए । उनले चाँडै नै समस्या समाधान गरिने बताए ।
कति लिन्छन् कमिसन ?
कपडाको डिजाइनअनुसार ५० रुपैयाँदेखि ७ सय रुपैयाँ कमिसनबापत कपडा पसललाई कमिशन दिनुपर्ने सोनी टेलर्सका सञ्चालक इम्तियाज अलीले बताए । कमिसन नदिँदा हाल सिलाइरहेको मूल्यभन्दा कम पर्ने उनले बताए । उनले एक जोर सुट अहिले ३ हजारदेखि ३ हजार २ सयसम्म ज्याला लिने गरेको बताए । उनले कमिशन दिनु नपरे २ हजार ५ सयसम्म सिलाउन सकिने बताए । सङ्घका केन्द्रीय उपाध्यक्ष फिरोज अलीले कमिसनको चलखेल नभए ४५ सय लिँदै गरेको थ्री पिस सुट ३ हजारसम्ममा सिलाउन सक्ने बताए ।
टेलर्स सञ्चालकलाई सचेतना
नेपाल कपडा तथा सिलाइ कपडा व्यवसायीले सङ्घ धरानले व्यवसायी तथा श्रमिकहरूलाई सचेतना कार्यक्रम गरेको छ । धरान–१२ स्थित गीता मन्दिरको हलमा सम्पन्न कार्यक्रम कमिसन केन्द्रित रहेको थियो । कार्यक्रममा बोल्दै सङ्घ केन्द्रीय उपाध्यक्ष फिरोज अलीले धेरै टेलर्सहरूले दर्ता नगरी सञ्चालन गर्दा पनि उपमहानगर बेखबर रहेको बताए । उनले सानो स्थानमा टेलर्स सञ्चालन गरी राज्यलाई कर छलेको दाबी गरे । उनले कर छली गर्नेहरूले कमिसन लेनदेन गरेको दाबी गरे ।
दाहाल–नेपाल समूह नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदीले विगतदेखि नै टेलर्स सञ्चालकले कपडा पसललाई कमिसन दिने गरेको बताए । उनले टेलर्स सञ्चालकलाई कपडा पसललाई भन्दा श्रमिकको ज्याला केही वृृद्धि गरिदिए गुणस्तरीय उत्पादन गर्ने र गुणस्तरीय भएपछि ग्राहक खोज्दै आउने बताए ।
वडा नं. १२ का वडासदस्य ब्रमज्ञ भट्टराईले बिचौलियाका कारण धरानमा महँगो ज्याला हुने भएकाले कपडा खरिद र सिलाउनका लागि इटहरी जाने गरेको बताए । उनले कमिसनलाई निरुत्साहित गर्नका लागि वडाले सहयोग गर्ने बताए । नेपाली काङ्ग्रेस धरानका सचिव युवराज शङ्करले आफूले कमिसनको खेललाई नजिकबाट नियालेकाले काङ्ग्रेसकै नगर प्रमुख भएको बेला ज्यालादर निर्धारण गर्नमा पहल गर्ने बताए । उनले मूल्य निर्धारण विषयमा एक चरण कुरा पनि भएको बताए । उनले कपडा पसलले कमिशन लिने तर, आरोप मजदुरलाई लाग्ने गरेको बताए । साधारणसभाले पहिलेकै कार्यसमितिलाई थप एक कार्यकालका लागि पूर्णता दिएको छ ।