विराटनगर। मोरङको केराबारी गाउँपालिकाभित्रका खोलामा जनप्रतिनिधिहरूको संरक्षणमा क्रसर उद्योग र ठेकेदारले मापदण्ड विपरीत प्राकृतिक स्रोत दोहन गर्दा बस्ती जोखिममा परेको छ ।

केराबारीको खदम खोला र त्यस छेउको निजी जग्गामा मापदण्ड विपरीत तीव्र गतिमा उत्खनन गरेको कारण केराबारी गाउँपालिका–८ को आमजुँगी बस्तीको ५ सय घरपरिवार उच्च जोखिममा परेको हो । क्रसर व्यवसायी भीम पौडेलसहितका जनप्रतिनिधिहरू रहेको महादेवा मिनिरिल इन्डष्ट्रिज र शिवम् क्रसरले खदम खोला र केराबारी–८ मा रहेको बस्तीछेउदेखि मापदण्ड विपरीत उत्खनन गरेको कारण सोही वडाको आमजुँगी बस्ती जोखिममा परेको स्थानीय जितबहादुर बस्नेतले बताए ।

ठेक्कासमेत नलागेको खदम खोलादेखि अहिले दिउँसो र रातिको समयमा अवैध रूपमा ढुङ्गा, गिट्टी बालुवाको दोहन तीव्र र चोरी तस्करी हुने गरेको स्थानीयले बताए । उनीहरूले यहाँका स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको संरक्षणमा यहाँका खोला र बस्ती नजिकको निजी जग्गाहरूदेखि मापदण्ड विपरीत उत्खनन गर्ने गरेको स्थानीयको भनाइ छ ।

अधिकांश क्रसर उद्योग र खोलाका ठेकदार स्थानीय जनप्रतिनिधिको संरक्षणमा रहेको समेत पाइएको छ । केराबारी–८ आमजुँगीको खदम खोलामा ठेकदारले तोकिएको मापदण्डभन्दा बढी खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्दा खोलो नै तालजस्तो बनेका छन् । त्यहाँ खोला उत्खनन गर्नका लागि सम्बन्धित निकायले बढीमा एक मिटर ४० सेन्टिमिटर गहिराइमा खन्नका लागि अनुमति दिएको थियो । 

ठेकेदारले तीनदेखि ४ मिटरसम्म गहिरो खन्दा आसपासका बासिन्दा आक्रोशित भएका छन् । तोकिएको मापदण्ड विपरीत खोला उत्खनन गरिँदा खोला बस्तीमा पस्ने भएको त्रास उत्पन्न भएको केराबारी–८ आमजुँगीका जितबहादुर बस्नेतले बताए । ‘हामीले त्यति गहिरो बनाएर नखन्न ठेकेदारलाई आग्रह ग¥यौं,’ उनले भने,  ‘तर खन्न छाडेनन् ।’

खदम खोलामा मापदण्ड विपरीत खोलाको दोहन गर्दा खोलाको सतह गरिएर आसपासका बस्तीका चापाकल र इनारको पानीको स्रोत सुकेपछि पानी नै आउने छाडेको स्थानीयको गुनासो छ । उनका अनुसार मापदण्ड विपरीत खोला खन्दा यहाँका जनप्रतिनिधिहरू पनि चुपचाप छन् ।

उनीहरूले गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की, ८ का वडाअध्यक्ष मनोज खड्कासहितको संरक्षणमा मापदण्ड विपरीत खदम र निजी जमिनदेखि धमाधम ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको आरोप छ । यसरी दैनिक ५ सय टिपर ढुङ्गा, गिट्टी मापदण्ड विपरीत निकाल्दा पनि सम्बन्धित निकायले वास्ता नगर्नु जनप्रतिनिधिहरूको मिलेमतो रहेको यहाँका स्थानीयको भनाइ छ । 

तोकिएको मापदण्ड विपरीत ठेकेदारले नदी उत्खनन गरेको केराबारी गाउँपालिका–८ का वडाअध्यक्ष मनोजकुमार खड्काले स्वीकार गरेका छन् । ‘हामीले तोकिएको मापदण्डमा रहेर ढुङ्गा, बालुवा र गिट्टी निकाल्ने आचारसंहिता बनाएका थियौ,’ वडाअध्यक्ष खड्काले भने, ‘त्यसको अहिले पालना भएको छैन ।’ जनप्रतिनिधिले पनि अवैध खोला उत्खनन र चोरी तस्करी रोक्न नसकेको उनको भनाइ छ ।

खदम खोला र त्यसछेउमा सञ्चालन भइरहेका क्रसर उद्योग र ठेकदारले वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत खोलाको दोहन गर्दा स्थानीय निकाय, प्रहरी र प्रशासन मौन छन् । शून्य दशमलव ५ मिटरदेखि बढीमा डेढ मिटरसम्म गहिरो बनाएर गिट्टी, बालुवा र ढुङ्गा उत्खनन गर्न स्थानीय तहले क्रसर र ठेकदारलाई अनुमति दिएको थियो । तर तीन मिटरदेखि चार मिटरसम्म गहिरो खनेर उत्खनन गर्दै आएको पाइएको हो ।

उक्त खोला र त्यसछेउको निजी जग्गादेखि तोकिदिएको मापदण्ड विपरीत बालुवा गिट्टी झिक्ने क्रसर उद्योगी भीम पौडेल रहेको आरोप लागेको छ । स्थानीयका अनुसार खदम खोलाछेउमा रहेको ६ बिघाको जमिनबाट दैनिक ३ देखि ५ सय टिपर ढुङ्गा, बालुवा र गिटी तोकिएको मापदण्ड विपरीत उत्खनन गरे लैजाने गरेका छन् । यतिका ठूलो परिमाणमा उत्खनन गरेर लग्दासमेत स्थानीय निकाय मौन छ । 

खोलाबाट पनि गिट्टी, बालुवा दोहन भइरहँदा पनि गाउँपालिकाले नियन्त्रणको प्रयत्न गरेको छैन । क्रसर उद्योगी पौडेलले खदम खोला छेउमा रहेको आफ्नो निजी जमिनदेखि बालुवा र गिट्टी मापदण्डअनुसार झिक्ने गरेको दाबी गरे । ‘मैले ६ बिघा जमिन किनेको छु । अहिले खोला ठेक्का लागेको छैन । त्यही भएर अहिले आफ्नो निजी जमिनदेखि बालुवा र गिट्टी झिक्ने गरेको छु,’ उनले भने, ‘बालुवा र गिट्टी झिकेपछि गहिरो हुन नदिन माटो हालेर पुर्ने गरेको छु ।’

ठेक्कै नलागेको खोलादेखि बालुवा र गिट्टीको चोरी तस्करी 

केराबारीमा गाउँपालिकाभित्र खदम, भलुवा, लोहन्द्रा, मुगु र हुरहुरे खोला छन् । खोला ठेक्कामा लगाउन गाउँपालिकाले पाँचवटा खोला टेन्डर आह्वान गरेको छ ।

९ फागुनमा १६ करोड ९९ लाख २ हजार ८ सय ४५ रुपैयाँ टेन्डर आह्वान गरिएको छ । अहिले पाँचवटा कम्पनीले आवेदन परेको गाउँपालिका सूचना अधिकारी सुवास सुवेदीले जानकारी दिए । पाँचवटा ठेकदारमध्ये कान्छाराम कन्ट्रक्सनले बढी कबुल गरेका छन् । कान्छाराम कन्ट्रक्सनले २१ करोड ९८ लाख ९८ हजार रुपैयाँ कबुल रहेको गाउँपालिकाले जनाएको छ ।

तर, गाउँपालिकाले ठेक्का लगाउनुभन्दा अगाडिदेखि दिउँसो र रातिको समयमा खदमलगायतका अन्य खोलाहरूदेखि चोरी तस्करी हुने गरेको यहाँका स्थानीय बताउँछन् । 

जनप्रतिनिधिको क्रसर, मनलाग्दी उत्खनन

दुई वर्षअघि जिल्ला प्रशासन कार्यालयले मोरङका क्रसर उद्योगहरूको नियमनका लागि गठन गरेको अनुगमन समितिले अधिकांश उद्योग खोला र वन क्षेत्रमै मापदण्ड विपरीत सञ्चालन भइरहेको प्रतिवेदन तयार गरेको थियो । प्रशासनले उक्त प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा ल्याएको छैन । त्यसलगत्तै प्रशासनले खोला नदी र वन क्षेत्रमा अवैध रूपमा क्रसर सञ्चालन भएको र एक्स्काभेटर लगाएर मापदण्ड विपरीत उत्खनन भइरहेको गुनासो बढेपछि घरेलु कार्यालयका तत्कालीन प्रमुखको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो ।

त्यसैगरी केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीको कृष्ण क्रसर उद्योग, वडा ८ का अध्यक्ष मनोज खड्का र वडा १० का अध्यक्ष जङ्ग खवासको महादेव क्रसर उद्योग पनि खदम खोलामा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको प्रतिवेदनमा उल्लेख थियो । वडाअध्यक्ष खड्काको क्रसर उद्योगी पौडेलसँग मिलेर ढुङ्गा, गिट्टी र बालुवा झिक्दै आएका छन् । 

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल मापदण्ड विपरीत उत्खनन भएको गुनासो आएकोले तत्काल अनुगमन गरिने बताए । ‘मापदण्ड विपरीत खोलाहरूमा उत्खनन भएको गुनासो आएको छ,’ उनले भने, ‘हामी प्राविधिकसहितको टोलीले चाँडै अनुगमन गर्नेछौं ।’ अनुगमनपछि घटनाको यथार्थ बाहिर आउने उनले बताए । 

अवैध उत्खनन रोक्न माग राख्दा उल्टै उजुरी 

खदम खोला र त्यस छेउको निजी जमिनमा मापदण्ड विपरीत उत्खनन हुने गरेको पाइएपछि रोक्न माग राख्दै केराबारी–८ आमजुँगीका स्थानीय दुई दिनयतादेखि आन्दोलित छन् । अवैध उत्खनन रोक्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको बेला क्रसर उद्योगी भीम पौडेलको महादेवा मिनिरल इन्डष्ट्रिजले दुईवटा स्काभेटर, २ वटा टिपर खदम खोला छेउको निजी जमिनदेखि ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको स्थानीय बताउँछन् । स्थानीयले अवैध उत्खनन गरेको सवारी साधन हटाउन प्रहरीलाई खबर गर्दा पनि ढिलो गरी आएको स्थानीय जितबहादुर बस्नेतले बताए । 

अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रण नगरेको भन्दै आक्रोशित भएका स्थानीयले उद्योगी पौडेलको क्रसरको कार्यालयको दुई वटा झ्याल तोडफोड गरिदिए । यता स्थानीयले भने पौडेलले आफ्नो अवैध उत्खनन ढाकछोप गराउन प्रहरी प्रशासन लगाएर धम्क्याउने गरेको आरोप लगाएका छन् ।

‘अहिले उद्योगी पौडेलले १७ लाख ५० हजार रूपैयाँमा चोरी भएको भन्दै चारजना विरूद्ध प्रहरीमा उजुरी दिएका छन्,’ बस्नेतले भने । स्थानीयका अनुसार केराबारी–८ का गोपाल खड्का, गोपाल थापा, जितबहादुर राई र राजेश राईविरुद्ध इलाका प्रहरी कार्यालय बेलाबारीमा उजुरी दिएको बताए । प्रहरीले अवैध उत्खननमा प्रयोग भएको दुई वटा स्काभेटर र २ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार इलाका प्रहरी कार्यालय केराबारीले क्रसर उद्योगी पौडेलको स्काभेटर र टिपर नियन्त्रणमा लिएको इप्रका बेलबारीले जनाएको छ । 

गाउँपालिका प्रमुख कार्यकक्षमा थुनिए 

खदम खोलामा चोरी तस्करी रोक्नुपर्ने र मापदण्ड विपरीत उत्खनन रोक्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयले केराबारी गाउँपालिको कार्यालय घेराउ गरेका छन् । मापदण्ड विपरीत क्रसर उद्योगले खदम खोला र त्यस वरिपरि उत्खनन गर्दा बस्ती जोखिममा परेको भन्दै उनीहरूले आइतबार दिउँसो गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् । 

अवैध उत्खनन र मापदण्ड विपरीतका क्रसर उद्योगहरू बन्द गरिनुपर्ने माग राख्दै ठूलो सङ्ख्यामा उपस्थित भएका स्थानीय गाउँपालिकामा १२ बजे पुग्दा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की कार्यालयको मूल गेटको ढोकामा ताल्चा लगाएर बसे । स्थानीय दिनभरि कार्यालय बाहिर नाराबाजी गर्दै बसेका थिए ।

साँझसम्म आन्दोलनमा उत्रिएका स्थानीय र गाउँपालिका प्रमुख कार्कीबिच भएको बार्ता पनि बिनानिश्कर्ष टुङगीएको बार्तामा सहभागि निरबहादुर खड्काले जानकारी दिए । ‘अवैध उत्खनन रोक्नुपर्दछ । बस्ती जोखिममा पार्ने क्रसर बन्द गरिनुपर्ने र उद्योगी पौडेलले प्रहरीमा स्थानीयविरुद्ध दिएको जाहेरी फिर्ता लिनुपर्ने हाम्रो माग थियो,’ वार्तामा सहभागी भएका खड्काले भने, ‘प्रमुख कार्कीले सबै माग पूरा गर्न नसक्ने भनेपछि बिना निष्कर्ष टुङ्गियो ।’ 

यता गाउँपालिका प्रमुख कार्कीले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिन मानेनन् । 

गाउँपालिको झ्याल तोडफोड

स्थानीयले केराबारी गाउँपालिकाको झ्याल तोडफोड गरिदिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित भएका स्थानीयले गाउँपालिको झ्यालमा ढुङ्गा हानेर तोडफोड गरिदिएका हुन् । जनताका प्रतिनिधि नै खोला दोहनको मतियार बनेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको स्थानीयको भनाइ छ ।

लामो समयदेखि स्थानीयबासीहरूले खोला दोहनका कारण उठिबास हुने अवस्था सिर्जना भएको भन्दै दबाब दिँदै आएका थिए । आइतबार गाउँपालिका परिसर भित्र नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरेको थियो ।