विजयपुर । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गत बिहीबारको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति प्रति ओशो महापरिनिर्माण ध्यान केन्द्रले आपत्ति जनाएको छ ।

केन्द्रले आईतबार विज्ञप्ती जारी गर्दै मेयर राईले सार्वजनिक शौचालय निर्माण स्थलमा रहेका ४ वटा रुख काटेर स्काभेटर चलाउन निर्देशन दिएको तर आरोप केन्द्रलाई लगाएको उल्लेख गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘पत्रकार सम्मेलनमा नगरप्रमुख ज्यूले सार्वजनिक शौचालय निर्माण स्थलमा रहेको रुखहरु काट्न आश्रमकै केटाहरु प्रयोग भएको भनि लगाउनु भएको आरोप प्रति हाम्रो गम्भीर आपति रहेको छ । किन भने सो स्थलमा नगर प्रमुख ज्युले ४ वटा रुखहरु छन् भन्ने देख्दा देख्दै आफैं ठेकेदार कम्पनीलाई रुख काटेर स्काभेटर चलाउन निर्देशन दिनु भएको थियो ।’

गत बिहीबारको ब्लाष्ट दैनिक पत्रिकामा ‘मेयरको मनपरी : राजमार्गमा निर्माण गर्नुपर्ने शौचालय खानेपानीको स्रोत माथि’ शिर्षकको समाचार प्रकाशित भएको थियो । सोहि समाचार भित्र नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले रोपेका रुख पनि शौचालय निर्माणका लागि काटिएको समाचार प्रकाशित भएको थियो । सोहि समाचारको विषयमा मेयर राईले गरेको पत्रकार सम्मेलनमा उनले रुख काटिएको बारे आफुलाई जानकारी नभएको भन्दै आश्रमकै मान्छेहरुले काट्न लगाएको आरोप लगाएका थिए ।

मेयर राईको सो अभिव्यक्ति गलत भएको भन्दै केन्द्रका अध्यक्ष हरीशरण शर्माले विज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् ।
शौचालय निर्माणका लागि गरिएको बैठकको माईन्युट आश्रमका सञ्चालक आनन्द श्रेष्ठले गरेको भनाई प्रति पनि केन्द्रले आपत्ति जनाउँदै स्पष्टिकरण दिएको छ । शौचालय निर्माणको छलफल गर्न औपचारिक रुपमा नबोलाई आनन्द श्रेष्ठ ध्यान सकेर निस्कदा प्रमुख राईले व्यक्तिगत रुपमा बोलाएर माईन्युट लेख्न लगाएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा श्रेष्ठको व्यक्तिगत उपस्थितिलाई सिंगो आश्रमको प्रतिनिधित्वको रुपमा लिई शौचालय निर्माणमा आश्रमको पनि सहमति रहेको भन्ने अभिव्यक्ति प्रति पनि आपत्ति जनाइएको छ । उक्त बैठकमा आश्रमलाई औपचारिक निमन्त्रणा नरहेको र संस्थागत उपस्थिति पनि नरहेको उल्लेख छ ।

मेयर राईले ध्यान केन्द्रले जग्गा अतिक्रमण गरेको आरोप लगाएको प्रति पनि केन्द्रले आपत्ती जनाएको छ । २०६२ सालदेखि तत्कालिन विष्णुपादुका गाविसको लिखित अनुमति लिएर ध्यान केन्द्र सञ्चालन गरिएको तर अतिक्रमण नगरिएको विज्ञप्तीमा उल्लेख छ । केन्द्रले धरानको खानेपानीको स्रोत सर्दु जलाधार क्षेत्र रहेको हुँदा यस्तो स्थानमा शौचालय बनाउँदा जलाधार विज्ञ, वातावरण विज्ञ प्राविधिकहरुको सुझाव लिएर मात्र निर्माण गर्न पनि आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ती

IMG-3303 ph