धरान। धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई एकपछि अर्को विवादमा परिरहेका छन् । विष्णुपादुकामा रुख काट्न लगाएपछि विवादमा परेका उनी धरान खानेपानी व्यवस्थापन बोर्डमा बिना प्रतिस्पर्धा कार्यकर्तालाई भर्ती गराएर पुनः विवादमा परे । पछिल्लो पटक भने उनी कोशी राजमार्गछेउमा बनाउनु पर्ने सार्वजनिक शौचालय धरानवासीको खानेपानीको मुहानमाथि बनाउन थालेपछि विवादमा परेका छन् ।
मेयरले मनपरी गरेको भन्दै धरान–१३ शिवधाराका स्थानीयहरू केही दिनदेखि विरोधमा उत्रिएका छन् । उनीहरूले बुधबार पनि फुस्रेस्थित बीपी पार्कमा पुगेर मेयरको मनपरी भएको भन्दै विरोध जनाए ।
धरानको उपनिर्वाचनअघि तत्कालीन कार्यवाहक मेयर मञ्जु भण्डारीले खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाइ विकास कोषमा धरानमा तीनवटा सार्वजनिक शौचालयको माग गर्दै पत्राचार गरेकी थिइन् । त्यसमध्ये दुईवटाका लागि बजेट छुट्टियो ।
धरान–१३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार धरानबाट भेडेटार र पहाडी क्षेत्रमा जाने गाडीका यात्रुहरूले जथाभावी दिसापिसाब गर्दा धरानको खानेपानीको मुहानमा समेत मिसिने गरेपछि सार्वजनिक शौचालयको माग गरिएको थियो । त्यसमध्ये एउटा पब्लिक हाईस्कुलको मैदानमा र अर्को कोशी राजमार्गस्थित धरान–१३ को शिवधारा क्षेत्रमा बनाउने योजना थियो ।
उपमहानरपालिकामा तिलक राई मेयर बनेर आएपछि उनले शिवधारामा बनाइने भनिएको शौचालय फुस्रेको सर्दु खोलापारि बन्दै गरेको बीपी पार्कमा लाने निर्णय गरेको वडाध्यक्ष काफ्ले बताउँछन् । उनले आफूहरूले शौचालय राजमार्गमा अतिआवश्यक हो भनेर पटक–पटक भने पनि मेयर राईले मनपरी गरेको बताए । उनले भने, ‘त्यो पानीको मुहानमा बनाउनु हुँदैन, राजमार्गका लागि आएकाले बेसक्याम्पमै बनाउनु पर्छ भनेर धेरै भन्यौं तर, उहाँले सुन्नुभएन ।’
बेसक्याम्पका लागि आएको शौचालय बीपी पार्कमा लगिएको भन्दै धरान–१३ का स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् तर, पनि मेयर राईले उनीहरूका कुरा नसुनी डोजर लगाएर निर्माण कार्य सुरु गराएका छन् ।
बीपी पार्कको पनि त्यस्तो ठाउँमा शौचालय बनाइँदै छ, जसको करिब १० मिटर तलबाट खानेपानी संस्थानले पानी ल्याएको छ । त्यहाँबाट ल्याइएको पानी सोझै खानेपानी संस्थानको ट्याङ्कीमा जम्मा हुने गरेको छ । पानीको स्रोतकै माथि सार्वजनिक शौचालय बनाइँदा त्यसको फोहोर धरानवासीको खानेपानीमा मिसिन्छ ।
हाल शौचालय बनाइँदै गरेको स्थान धरानको वडा नं. २० मा पर्छ । स्थानीयले विरोध गर्दागर्दै पनि मेयरले आफूखुसी शौचालय बनाउन थालेपछि धरान–२० का वडाध्यक्ष मणिकुमार राईले पनि मेयरलाई ध्यानाकर्षण गराएर पत्र पठाएका थिए तर, मेयरले वास्तै नगरेको उनी बताउँछन् । उनी भन्छन्, ‘स्थानीयले यस्तो हुँदैछ भनेपछि मैले पत्र दिएको हुँ तर, उहाँले हामीसँग समेत समन्वय नगरी निर्माण थाल्नुभएछ । त्यसो गर्नु हुँदैनथ्यो ।’
धरानका दुईसहित ६ वटा शौचालयको १ करोड २२ लाखमा तेजनारायण साहले ठेक्का पाएका छन् । कोष, उपमहानगरपालिका र ठेकेदार पक्षको सम्झौताअनुसार शौचालय निर्माण थालिएको छ । तर, यसको चौतर्फी विरोध भइरहेको छ । ठेकेदार साह भने आफूले नगरपालिकाले देखाएको ठाउँमा निर्माण थालेको र अरू कुरा थाहा नभएको बताउँछन् ।
धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी धरानको खानेपानीको स्रोतमा प्रदूषण भएको आवाज उठेपछि शिवधारामा सार्वजनिक शौचालय बनाउन पहल गरेको तर, अहिले मेयरले मनखुसी गरेको बताउँछिन् । उनी भन्छिन्, ‘जलाधार क्षेत्रमा प्रदूषण भयो भनेर शिवधारामा बनाउन खोजेका थियौं तर, मेयरले आफ्नै लिँडे ढिपीले पानीको स्रोतमाथि शौचालय बनाउन खोज्नुभयो । यसमा मेरो असहमति छ ।’
मेयर राई भने यस विषयमा बोल्न चाहेनन् ।
देउवाले रोपेका रुख पनि काटिए
फुस्रेमा बन्दै गरेको बीपी पार्कमा २०७१ भाद्र २ मा आएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले रोपेको शिरिषको बिरुवा हुर्किएर ठूलो भएको थियो । सोही पार्कमा काङ्ग्रेस नेता रामचन्द्र पौडेलले पनि बिरुवा रोपेका थिए तर, मेयर राईले ती शिरिषका रुख पनि काट्न लगाएका छन् ।
उनले ओशो पार्कभित्रका अन्य ३ वटा रुख पनि काट्न लगाएको स्थानीयले बताएका छन् । त्यहाँ रहेका दुईवटा मलेसियन सालको रुख र रातो शिरिषको रुख काटिएका छन् । यसअघि विष्णुपादुकामा सामुदायिक वनमा सखुवाका रुख कटान गरिएपछि मेयर राई विवादमा तानिएका थिए । सो मुद्दाका अनुसन्धान अझै सकिएको छैन ।