धरान। धरान उपमहानगरपालिकाका मेयर तिलक राईको जोडबलमा सर्दु–खर्दु जलाधार क्षेत्र भित्र पर्ने बीपी पार्कमा शौचालय निर्माण सुरु भएको छ ।

निर्माणाधीन शौचालयभन्दा करिब ७ सय मिटर दक्षिणपूर्व सर्दु खोलाबाटै नेपाल खानेपानी संस्थान धरान शाखाले खानेपानीको पाइप जोडेको छ । उक्त स्थल धरान–१३ को फुस्रे र वडा २० को विष्णुपादुकाको सीमामा पर्छ । पार्क र निर्माणाधीन शौचालय जलाधारको पुछारमा पर्छ । जलाधार क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नु व्यावहारिक र सैद्धान्तिक रूपमा पार्क र शौचालय निर्माण गर्नु गैरकानूनी रहेको जानकार बताउँछन् ।

खानेपानीको आम उपभोक्ताले पार्क र शौचालय नबनाउन गरेको अनुरोधलाई बेवास्ता गर्दै नगर प्रमुख राईले धरानको पर्यटनमा टेवा दिन आधुनिक र व्यस्थित शौचालय बनाउन लागेका हुन् । नगर प्रमुख राईले भने सबैको सहमतिमा नै शौचालय निर्माण गर्न लागिएको बताए । उनले पार्कमा पर्यटकहरू बढ्न थालेपछि हाल भएको दुर्गन्धित शौचालयलाई व्यवस्थित तरिकाको बनाउन लागिएको दाबी गरे ।

नेपाल सरकारको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले उपलब्ध गराएको बजेटले धरान १३ बेसक्याम्पमा निर्माण गर्नुपर्ने शौचालय सर्दुखोलास्थित बीपी पार्कमा सरसफाईको व्यवस्थापन गर्न आधुनिक शौचालय निर्माण कार्य शुरु गरेको मेयर राईले बताए । उनले भने, ‘बेसक्याम्पमा शौचालय निर्माण गर्नका लागि जमिन नपाएकाले बीपी पार्कमा बनाउन लागिएको हो ।’ 

पार्ककै आसपास भएर बग्ने सर्दु खोलाको पानी नेपाल खानेपानी संस्थानले सङ्कलन गरेर ट्याङ्कीमा झार्ने गरेको छ । करिब एक दशकअघि हालको ओशो पार्क र बीपी पार्क नजिकै रहेको मानव शव जलाउने स्थललाई समेत अन्यत्र सारिएको नजिर हुँदाहुँदै पछिल्लो समयमा आएर पार्क बिस्तार गर्ने र शौचालय बनाउने काम गर्नु खानेपानी उपभोक्ताको जीवन र स्वास्थ्यमाथि नै खेलवाड भएको स्थानीय बुद्धिजीवी डा. राजेन्द्र शर्माले बताए । उनले भने, ‘अहिले पार्क भनिएको जमिन जलाधार हो । धरानको खानेपानीको स्रोत सर्दु जलाधार भन्ने हेक्का नभएका जनप्रतिनिधिहरूमा सुझबुझ नदेखिएको पनि उनले बताए । उनले जलाधार क्षेत्र जीवन र स्वास्थ्यसँग सिधै जोडिएकाले त्यससम्बन्धी विज्ञ राखेर तत्काल सिमाङ्कन गरी सुरक्षा निकायको निगरानीमा राख्न सुझाव दिए ।

उनका अनुसार जलाधार भएकैले साढे चार दशकअघि नै तत्कालीन राजा वीरेन्द्र त्यहाँ बसोबास गरेका घर परिवारलाई अन्यत्र सारिएको थियो । तर भूमाफियाहरूले आँखा लगाएर जलाधारलाई तहसनहस बनाएपछि सिमाङ्कन गर्न ढिलाइ भएसँगै थप मानवीय अतिक्रमण बढेको हो । उनले भने, ‘जलाधार घोषणा भएपछि त्यसको रेखदेख सैनिकले गर्नुपर्छ । भारतको उत्तराखण्डमा रहेको टिहरी जलाधारको बाँधमा सर्वसाधारणलाई प्रवेश गर्न दिँदैन । तर यहाँ जलाधारको महत्व, उपयोगिताको विषयमा बेवास्ता गरिएको छ । धरानको खानेपानी स्रोत भएका जलाधारमा रहेको ट्याङ्कीमा कसैले सनकमा आएर वा अञ्जानमा विषादि हालिदिने हो भने धरानका खानेपानी उपभोक्ता सोत्तर हुन्छन् ।’

उनले जलाधार क्षेत्रमा मानिसको आवागमनलाई नियन्त्रण गर्नतिर प्रमुख र उपमहानगरपालिकाका जनप्रतिनिधि लाग्नु पर्नेमा जलाधार क्षेत्रलाई नै लक्षित गरेर पर्यटन प्रवद्र्धनको नाममा मानिसको आवागमन बढाउने ओशो पार्क, बीपी पार्क र शौचालय निर्माणमा लाग्नु विडम्बना भएको उनले बताए । उनले जलाधार क्षेत्रमा ओशो पार्क, बीपी पार्क र शौचालय सबै हटाउनु पर्ने बताए ।

उता मेयर राई भने पार्कमा दैनिक घुम्न आउनेको सङ्ख्या सयौं हुन थालेको र भविष्यमा पार्कको भौतिक विकाससँगै अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै जाने भएकाले सरसफाइको पूर्व योजनाअनुसार व्यवस्थित र सुविधायुक्त शौचालय बनाउन ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको डिजाइनअनुसारको शौचालय निर्माण सुरु गरेको बताउँदै आएका छन् । उनले पार्कमा पुरुषका लागि २ ट्वाइलेट, ५ युरिनल, महिलाका लागि ३ ट्वाइलेट,  अपाङ्मैत्री ट्वाइलेटसहित एउटा सर्भिस रुम निर्माण भइरहेको बताए । जलाधार भित्र शौचालयको डिजाइन र निर्माणको टेन्डर सरसफाइ कोषले गरेको हो । पार्कमा निर्माणाधीन शौचालयको लागत करिव २३ लाख रुपैयाँ रहेको बताइएको छ ।

धरान–१३ देवी मार्गका खानेपानीका उपभोक्ता कृष्ण तामाङ, केशव न्यौपाने र सूर्य न्यौपानेले भने जलाधार क्षेत्रमा पार्क र शौचालय बनाउनुको सट्टा जलाधार संरक्षणमा ध्यान दिन सकेको भए धरानमा खानेपानीको अभाव भोग्न बाध्य उपभोक्ताले थोरै भए पनि राहत पाउने बताए । तामाङले भने, ‘धरानको खानेपानीको मुख्य स्रोत सर्दु खर्दु जलाधार भन्छन्, तर त्यहीँ जलधारको पुछारमा पार्क र शौचालय बनाउँछन् । उपमहानगर र त्यो ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समितिले गर्न खोजेको के हो ?’ 

यही विषयमा ब्लाष्टले बुधबार समाचारप्रकाशित गरेपछि प्रमुख राईले बिहीबार पत्रकार सम्मेलन गर्दै सबैको निर्णयमा शौचालय निर्माण गर्न लागिएको बताएका थिए । त्यसक्रममा आफूलाई रुख काटिएकोबारे अगवत नभएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए । पत्रकार सम्मेलन गरेको विषयको प्रकाशित समाचारमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बिरुवा रोपेको थाहा थिएन भनेर बोल्दै नबोलेको कुरालाई उल्लेख गरेर ब्लाष्टले आफूमाथि ‘इगो’ साधेको भन्दै कार्यालयमै आएर समाचारप्रति असहमति प्रकट गरेका थिए ।

ब्लाष्टका प्रबन्ध निर्देशक एवम् सम्पादक किशोरकुमार कार्कीले आधिकारिक रूपमै समाचारमा फलोअप गरेर त्रुटि भएको कुरालाई सच्याउने बताए पनि नगर प्रमुख राईले शनिबार बिहान ‘भ्रमपूर्ण समाचारबारे प्रेश विज्ञप्ति’ जारी गर्दै ब्लाष्टले खण्डन र कुनै प्रकारको समाचार प्रकाशित नगरेको भन्दै आक्रोस पोखेका छन् ।