दमक/  नाममा विवाद भएपछि झापाको कमल गाउँपालिकामा बन्ने भनिएको अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला नबन्ने भएको छ ।

झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीले भोगचलन गरेको स्थानमा सरकारले निर्माण अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने योजना ल्याएको थियो । १२ वर्षअघि तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले पाथीभरा रङ्गशाला भनेर शिलान्यास गरेकी थिइन् । तर रङ्गशालाका नाममा शिलान्यास बाहेक अर्को एउटा इँटा पनि लगाइएको छैन ।

पहिला पाथीभरा रङ्गशाला भनेर शिलान्यास गरिएकोमा पछि आदिवासी जनजातिहरूको समाधि स्थल भत्काएर बनाइने भएकाले नाम आदिवासी रङ्गशाला हुनुपर्ने आवाज उठ्न थाल्यो । यही विवादले गर्दा अहिले लखनपुरको योजना दमकमा सारिएको छ ।

कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी पछि लखनपुरमा मदन भण्डारीको नाममा रङ्गशाला बनाउने विषयमा सम्झौता भएको तर कार्यान्वयन गर्ने बेलामा भने केही सीमित व्यक्तिहरूको स्वार्थका कारण भाँजो हाल्ने काम भएको बताउँछन् ।शिवाकोटी भन्छन्, ‘कमलमा रङ्गशाला निर्माणको काम थाल्ने बित्तिकैदेखि योसँग जोडिने अन्य पूर्वाधार विकासका काम पनि सँगसँगै सुरु हुन्थे । तर अब न रङ्गशाला बन्ने भयो र ठूला खालका अन्य पूर्वाधार नै ।’

सहमति जुट्यो तर कार्यान्वयन भएन

२०७५ फागुन २५ गते कमल र दमक नगरपालिकाका जनप्रतिनिधि, प्रदेश सांसद्सहित विवाद समाधान पहल समितिका संयोजक देवेन्द्र दाहाल, आदिवासी जनजातिका तर्फबाट  हुकुमसिंह राई, दिलीप राई,  अक्कलबहादुर गुरुङ, नित्यानन्द ताजपुरियालगायतको उपस्थितमा भएको छलफलले ४० बिघा क्षेत्रफलमा मदन भण्डारी रङ्गशाला बनाउने र त्यसको ठिक पूर्वपट्टि  आदिवासी जनजाति स्मृति पार्क निर्माणका लागि जग्गाको भोगाधिकारसहित योजना सम्पन्न गराउन बजेट माग गर्ने भनेर लिखित सम्झौता नै भएको थियो ।

तर पछि यस्तो सम्झौता नभएको भन्दै आदिवासी जनजाति रङ्गशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुम सिहं राई तर्के । यस्तै विवादका कारण रङ्गशाला नबन्ने भएको उपाध्यक्ष शिवाकोटी बताउँछन् । उनी भन्छन्, ‘बैठकमा उहाँको हस्ताक्षरसहितको निर्णय पुस्तिका नै हामीसँग सुरिक्षत छ ।’

यता दमक नगरपालिका–३ स्थित दुम्सेमा सरकारले मदन भण्डारी रङ्गशाला बनाउने भनेर घोषणा गरिसकेपछि यस क्षेत्रका नागरिकमा उत्साह बढेको छ ।  सुरुमा सानो नगरस्तरीय रहेको चुलाचुली रङ्गशालामा नै मदन भण्डारी रङ्गशाला बन्ने निश्चित भएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले यहाँस्थित हम्से दुम्से सामुदायिक वनको २७ हेक्टर क्षेत्रफलमा मदन भण्डारी रङ्गशाला निर्माण गर्ने भन्ने निर्णय भएसँगै यसक्षेत्रमा स्थानीयवासी उत्साहित भएका हुन् । हम्से दुम्से सामुदायिक वनको १ हजार ९ सय २४ वटा रुखबिरुवा काटेर जमिन उपलब्ध गराउने निर्णय भएको छ । 

तर यतिका धेरै रुख काटेर र जमिन खाली गराएपछि यही मात्रामा  जमिन र बिरुवाको वृक्षारोपण हुन पर्ने शर्त हम्से दुम्से सामुदायिक वनले राखेको छ । सामुदायिक वनका अध्यक्ष हिमालय दाहालले नजिकै रहेका रतुवा र मावा नदीले कटान गरेको जमिनलाई ‘हरित क्षेत्र’मार्फत् निकाल्न सकिने र त्यहाँ वृक्षारोपण गर्न सकिने भनेर सरकारलाई विकल्प पनि दिइएको बताए ।