इटहरी। इटहरी चोकमा भारतीय माग्नेहरू प्रशस्तै भेटिन थालेका छन् । पैदलयात्रीलाई कपडामै झुण्डिएर माग्ने गरेकाले यात्री तथा व्यापारी आजित बनेका छन् ।

आधा दर्जन बालबालिकाहरू माग्न हिँड्दै गरेका भेटिन्छन् । इटहरीका सामाजिक अगुवा राजु केसीले सडकमा समूह नै बनाएर मगन्ते बालबालिका भेटिने गरेको बताए । इटहरी सङ्गीत चोकमा माग्नेले कपडा तान्ने, खुट्टामा झुण्डिने कारण बटुवा समस्यामा परेको उनले बताए । ‘मैले प्रहरीलाई खबर गरिदिएको थिएँ त्यसपछि अहिले आएको देखेको छैन,’ उनले भने ।

स्थानीयका अनुसार ती बच्चाहरू नेपाली बोल्न नजान्ने र हिन्दी भाषामा माग्ने गरेका छन् । उनीहरू नेपालको नभई भारततिरबाट आएको हुनसक्ने केसीले जानकारी दिए । माग्नेहरूका बारेमा स्थानीयवासीबाट निकै गुनासो आएको छ । हीरा होटलका सञ्चालक प्रकाश महतोले हुलनै बाँधिएर माग्ने कारण आफूहरू वाक्कदिक्क भएको बताए । सडकमा सर्वसाधरणसँग झुण्डिएर माग्ने मगन्तेहरूले पसलमा आउनेहरूलाई समेत दिक्क लगाएको उनी बताउँछन् ।

‘एक दिन हैन दैनिकजसो माग्न आउने कारण समस्या भएको छ’ उनी भन्छन्, ‘सानो सानो नानीहरू च्यापेर दुःख देखाउँदै माग्न आउनेको सङ्ख्या पनि उस्तै छ ।’ मगन्तेहरू विभिन्न बाहानमा पसलहरू छिरेर माग्ने गरेको व्यापारीहरू बताउँछन् । इटहरीको मुख्यचौकमा व्यवसायमा दैनिक ५ पटकसम्म मगन्ते आउने गरेको इटहरीका कपडा व्यवसायी अजित चौधरी बताउँछन् । उनी भन्छन्, ‘मगन्तेहरू ह्वात्त बढे । यसलाई व्यवस्थापनमा सरकारी पक्षले ध्यान दिनु जरुरी छ ।’

पैदलयात्रीलाई पछ्याउने केटाकेटीदेखि वृद्धसम्म इटहरी बजारमा एकाएक बढेका छन् । ‘गरिब भएको पत्र बोकेर माग्दै हिँड्ने, ससाना बालबालिकासमेत सडकमा माग्दै हिँड्नेको सङ्ख्या बढ्दो छ’ चौधरी भन्छन्, ‘हामीलाई दोकानमा दिनमा पाँच पटकसम्म माग्नेले सताएका छन् कसरी दिएर सक्ने रु’ इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर रमेश बस्नेतले नेपालका सडक बालबालिकाको व्यवस्थापन भए पनि भारतीय मूलका माग्नेहरूले दुःख दिन थालेको गुनासो आएको बताए ।‘माग्नेका कारण तनाब दियो’ उनले भने,‘हामीले मागेको देख्ने बितिक्कै लेखेट्दै मात्र छौं ।’ उनका अनुसार प्रहरीमा गुनासो आएकार आधारमा पुग्दा प्रहरी नपुगी नै भाग्ने गरेकाले नियन्त्रणमा समस्या भइरहेको उनले बताए । सडक बालबालिकाहरूको व्यवस्थापन गरिए पनि भारतीय मुलका माग्नेहरूलाई नियन्त्रण गर्नेतर्फ लागेको इन्स्पेक्टर बस्नेत बताउँछन् ।