भद्रपुर। तरकारी तथा फलफुल भित्र लुकाएर लत्ता कपडा लगायत अन्य सामान तस्करी हुदै आएको पाइएको छ । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने तरकारी तथा फलफूल लोड गरिएका गाडीहरूमा लत्ताकपडासहित अन्य सरसामान अवैध रुपमा नेपाल भित्रिने गरेको हो ।
काँकडभिट्टासँग जोडिएको भारतको पानीटंकी नाकामा भारतीय एसएसबीले विशेष सूचनाको आधारमा तरकारीका बोराहरू लोड गरिएको एउटा गाडी चेकजाँच गर्दा त्यसभित्र ठुलो परिणाममा लत्ताकपडा फेला पारेपछि घटना बाहिरिएको हो । सीमा नाकामा तैनाथ एसएसबीका ४१ बटालियन गौरसिंहबस्तीबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मिनी ट्रकमा लोड गरिएको तरकारीका बोरा निकालेर हेर्दा त्यसभित्रबाट लत्ताकपडा बरामद गरेको हो ।
ट्रकको तल लत्ताकपडाका पोकाहरू राखेर माथिबाट आलु र सब्जीका बोरा राखिएको फृला पारेको थियो । एसएसबीले मेची नदीमा बनेको नयाँ पुलबाटै सामानसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको लत्ताकपडाको आवश्यक कागजात चालकले देखाउन नसकेपछि करिब भारतीय रुपैयाँ १० लाख मुल्याकङ्न तोकेर सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइसकेको एसएसबीले जानकारी दिएका छन् ।
पानीटंकी भन्सारलाई समेत तरकारीको राजश्व तिरेर लुकाई छिपाई ट्रक तथा पिकअपमा सरसामान नेपाल भित्राउँदै आएको यही घटनाले पुष्टि गरेको छ । भारतमा लोड भएर आउने त्यस्ता ट्रक तथा पिकअप भ्यानलाई मेची भन्सार परिसरभित्र पनि चेकजाँच गरिँदैन । विषादी परीक्षण पश्चात् तरकारी र सब्जीको राजश्व तिरेर भन्सारबाट निस्किने ती गाडीहरू सोजै गन्तव्य तर्फ जाने गरेका छन् । भन्सारमा राजश्व तिरेर निस्किएका तरकारीका गाडीलाई बाटोमा पनि सशस्त्र र नेपाल प्रहरीले कुनै चेकजाँच गरेको पाइँदैन ।
मेची भन्सार प्रमुख धुव्रराज विश्वकर्माले भारतबाट आउने तरकारी गाडीहरू सामान्य रुपमा चेकजाँच गरिने बताए । तरकारीका गाडी लत्ताकपडा लगायत अन्य सरसामान आउने विषयमा जानकारीमा नआएको बताए ।
अबदेखि तरकारीका गाडीहरूलाई भन्सारभित्रै चेकजाँच गरेर मात्र पठाइने उनले जनाए । अहिलेसम्म मेची भन्सारमा लत्ताकपडा नआए पनि नेपाली बजारमा भारतीय लत्ताकपडा छ्यापछ्याप्ती पाइने जिल्ला स्तरीय राजश्व चुहावट तथा नियन्त्रण समितिमा कुरा उठिरहेको उनले बताए ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले भारतबाट आउने तरकारीका गाडीहरू सोजै भन्सार जाने गरेको बताए ।
भन्सार प्रवेश गर्ने सामानमाथि प्रहरीले हस्तक्षेप गर्न नमिल्ने डिएसपी दाहाले बताए । अब भन्सारसँगको सहकार्यमा भारतबाट तरकारी लगायत अन्य सरसामान लिएर आउने गाडीमाथि निगरानी बढाइने उनले जानकारी दिए ।
भारतबाट त्यसरी भित्रिने गरेका गाडीहरूले मेची भन्सार कार्यालय काँकडभिट्टामा तरकारी तथा फलफूलको मात्र राजश्व तिर्ने र गाडीभित्र रहेका लत्ताकपडा र अन्य सामान बिना भन्सार पास हुने गरेको पाइएको छ । चेकजाँचका लागि खटिएका कर्मचारीले समेत सर्वसाधारणबाट रकम असुल्दै आइरहेका छन् ।