सङ्क्रमणकालीन राजनीतिक संस्कृतिले गाँजेको देशहरूमा लोकतान्त्रिक व्यवस्थाका स्तम्भ दलहरू तिनै संस्थाका नायकहरूका गलत महŒवकाङ्क्षाका शिकार बनेर दलीय अस्तित्वमात्र नभई देशको अस्मिता नै धरापमा परेको उदाहरण संसारमा देखिएका छन् । जबसम्म देशमा चोखो स्वप्नदर्शी नेतृत्व जन्मन सक्दैन, तबसम्म देशले कायाकल्प लिने कुरा खोक्रो कल्पना र नारा मात्र बन्छ । नेतृत्व भनेको काम हो, नाम र पदमात्र होइन ।

कसैले नघच्घयाउँदै समस्या देख्न, जान्न, बोध गर्न र समाधान गर्न सक्ने तागत नै नेतृत्वको विशेषता हो । त्यसैले त नेतृत्व एक सफल निर्देशक, सुपरीवेक्षक र सङ्गठनको व्यवस्थापक हो भनिन्छ । विश्व नै एउटा गाउँजस्तो भइरहेको आजको सन्दर्भमा नेतृत्व रचनात्मक एवम् सिर्जनात्मक अवधारणामा देशलाई चलायमान गराउन सक्ने, निर्भिक, त्याग र निर्णय क्षमता भएको, चुम्बकीय व्यक्तित्व, शिक्षादीक्षाले सुसंस्कृत र युगीन पदचाप छाम्न सक्ने बौद्धिक तागत भएको व्यक्तित्व हो ।

नेपालका राजनीतिक रङ्गशालामा देखिएका हालका नेतृत्वहरू बढी औपचारिकतामुखी बनेकै कारण अथाह प्राकृतिक स्रोत, साधन सम्पन्न देश भएर पनि हामीले विकास र समृद्धिको यात्रा तय गर्न सकेका छैनौं । राजनीतिक दलहरू जबसम्म आदर्शको आलोकमार्फत् सिद्धान्तको राजमार्गबाट क्रियात्मक रूपमा व्यवहारको अनुशरण गर्न सक्दैनन्, तबसम्म देशमा दलहरू राजनीतिक शक्तिगृह बन्न सक्दैनन् । दल त विचारको क्रियाशीलतामा सङ्गठित हुने ऊर्जा हो । त्यसै भएर त राजनीतिक विश्लेषकहरू दललाई ‘विचारको ब्रोकर, लोकतन्त्रको आत्मा र विभूषण’ भनेर मान्छन् ।

नेपालमा दलीय इतिहासले आठ दशक नाघिसकेको छ । दलीय विकासको इतिहासमा यो त्यति लामो अवधि भन्न मिल्दैन । यो अवधिमा करिब आधा समय त दलहरू राज्य सञ्चालनको अभ्यासबाट प्रतिबन्धित हुँदै निर्वासन, जेल र भूमिगत रूपमा रहन बाध्य भए । जनताको बलले क्रान्ति सफल भएपछि दलहरूको शासनमा नयाँपन देखिनु आवश्यक थियो । तर, जनअपेक्षालाई दलहरूले सम्बोधन गर्न नसकेकै कारण अव्यवस्थाले रडाको मच्चायो ।

देशको पिछडिएको आर्थिक अवस्था, राज्यसत्तामा सामन्तवादी प्रवृत्तिको हालीमुहाली, दलीय सङ्गठनमा परम्परावादी झुण्डहरूको व्यापक प्रवेश र उनीहरूकै बाहुल्य रहनु, आन्दोलन, जनक्रान्ति र सङ्घर्षमा खारिएकाहरू क्रमशः पार्टी सङ्गठनबाट बाहिरिँदै जानु, नेताहरूका आचारण, विवादास्पद भई जनताका मनमुटुबाट क्रमशः पर्गेलिनु जस्ता कुराले नेपालमा दलीय सङ्गठन कमजोर बनाउँदै लगेको छ । साँचो अर्थमा जबसम्म राजनीतिक दलहरू जनइच्छालाई मुखरित गर्दै राष्ट्रिय स्वार्थ पूर्ण गर्न सक्षम हुन सक्दैनन्, तबसम्म दलीय व्यवस्था नाममात्रको औपचारिक संस्था बन्दछ । दलको सफल पाटो स्पष्ट नीति, कार्यदिशा र कार्यान्वयन नै हो । नेपालका दलहरू नीति प्रधान हुनुपर्नेमा नेता प्रधान भएको असन्तुष्टि छताछुल्ल भएर पोखिएका छन् ।

धेरैजसो दलमा निश्चित कार्यदिशा नहुनु नेपालका दलका अँध्यारा पक्ष हुन् । कार्यनीति र रणनीतिको तादात्म्य नमिल्नु, दलभित्रका जुझारु कार्यकर्ताभन्दा नाता, चाकरी, धन र बाहुबलीलाई राजनीतिक भर्नामा प्राथमिकता दिनु, जनताका दैनिक उपभोग्य वस्तुमा बेखबर भई बजारलाई लगामविहीन बनाउनु, तरुण आकाङ्क्षा सम्बोधन गर्ने सामथ्र्य नराख्नु, परराष्ट्र नीति विशेषगरी छिमेकी देशहरूसितको सन्तुलित सम्बन्ध राख्ने नीति कमजोर बन्नु, समावेशी र सीमान्तकृत मुद्दामा उदासीन रहनु राजनीतिक दलका कमजोरी हुन् ।

यतिखेरको नेकपाको सरकार दुईतिहाइ भन्दामाथिको प्रचण्ड बहुमतमा रहेर पनि अलमलमा रुमल्लिनु, तीन वर्षसम्म पनि सरकार टिकाउन नसक्नु, आफूलाई प्रगतिशील, समाजवादी, लोकतान्त्रिक र राष्ट्रवादी भने पनि औपचारिकतामा मात्र सीमित हुनु देशको समृद्धि र विकासका लागि दुर्भाग्य हो । यतिखेर नेकपा विभाजित भएको छ । एक–अर्काको आरोप–प्रत्यारोपमा उत्रिएका छन् । एक–अर्काको पोल खोल्दैछन् । महाभारतको कौरव र पाण्डवबीचको युद्धजस्तै युद्ध मैदानमा उत्रिएका छन् । एकले अर्कालाई धनुषवाण चलाइरहेका छन् । घोषणा–पत्रमा स्वप्नशील भएर जनअपेक्षा पूर्ण हुन्नन् भन्ने कुरा वर्तमान सरकारले हेक्का राख्नै पर्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवा भनेर दाबी गर्ने प्रमुख प्रतिपक्षीको कित्तामा रहेको नेपाली काङ्ग्रेस गुटैगुटको झण्ड लिएर आफै वक्रतुण्ड बन्ने होडबाजीमा गल्ती बाटो अनुशरण गर्नु अनौठो विडम्बना हो ।  विगतको निर्वाचनको पराजयलाई आत्मसमीक्षा गर्न डराएर परस्परमा आक्षेप लगाइरहनाले काङ्ग्रेस दलको साख गिर्दै गएको छ । सत्ताको ‘वाचडग’ बन्नुपर्ने दल आन्तरिक कलहकै दल–दलमा फसेर अव्यवस्था सिर्जना गरी समृद्धि र विकासमा प्रकाश बन्न सकेको छैन ।

गुट–उपगुट, झण्ड उपझुण्डमा विभक्त भएर दर्शन, सिद्धान्त, विचार र कार्यक्रमलाई नै अलपत्र बनाउनुले पार्टीको वैभव नै धरासायी हुने अवस्थामा पुगेको छ । बीपीका कालजयी विचारमा अनुबन्धित हुँदै जनताका दैनिकीमा सहयोगी बन्न सकेका छैनन् चारतारे झण्डाधारीहरू । राष्ट्रियताको सुनौलो दर्शन, लोकतन्त्रको प्रबल सिद्धान्त र समाजवादको युगसापेक्ष कार्यक्रमले नेपालको लोकजीवन हल्लाउन सक्ने काङ्ग्रेस खै कता गयो ? काङ्ग्र्रेस केन्द्रीय समितिको कार्यकाल उत्तराद्र्धतिर लाग्दासम्म पनि कार्यसमितिले पूर्णाकार लिन नसक्नु र भातृसङ्गठनहरू अस्त–व्यस्त हुनु के लोकतान्त्रिक पार्टीको लागि शोभनीय होला त ? यसरी आचरणमा रूपान्तरण नहुने सिद्धान्त र दल जनताका आँखाबाट पक्कै पर्गेलिन्छन् । यो ऐतिहासिक तथ्य हो ।

नेपालको सन्दर्भमा आफूलाई खाँटी बामपन्थी र क्रान्तिकारी भनेर गर्व गर्ने अर्धभूमिगतदेखि खुला हौं भन्ने कम्युनिष्ट दलहरू दर्शन, सिद्धान्त, विचार र कार्यक्रममा कुहिरोको काग बनेर भ्रान्ति–भ्रान्तिमा क्रान्तिको परिभाषा दिनैपिच्छे फेरिरहेका छन् । यस्ता गन्हाउने क्षेत्रीय दलहरू कुनै देशको समृद्धि र विकासका बाधक त बनिरहेका छैनन् ? जनतामा यस्तै यस्तै यक्ष प्रश्नहरू मडारिएका छन् । आधुनिक सिङ्गापुरका निर्माता ली क्वान यु जसले देशबाट गरिबी हटाउने, उद्योगधन्दा फैलाउने, भ्रष्टाचार निर्मूल गर्ने, वैदेशिक लगानी भिœयाउनेजस्ता सुकाम गरेर मलेसियालीको माछा मार्ने टापु संसारकै अगाडि समृद्ध देश बनाइदिए मात्र एकतीस वर्षको छोटै समयमा । उनी कुशल, कठोर, सदाचारी, दूरगामी, प्रयोगशील र व्यावहारिक भएकोले सिङ्गापुर विश्वमा नमुना देश बन्न पुग्यो । हामीभन्दा पछि निरङ्कुशताको जञ्जीरबाट स्वतन्त्रता प्राप्त गरेका कतिपय देशको स्थिति आकाशिँदा हामी भने विकास र समृद्धिको सपना र नारा जपेर पातलिँदैछौं ।

यसैले नेपालका सत्ताधारी दलदेखि प्रमुख प्रतिपक्षी, प्रतिपक्षीलगायतका सबै दलले आ–आफ्नो दलीय सङ्गठनलाई व्यवस्थित, चुस्त, पारदर्शी, राष्ट्रिय आकाङ्क्षालाई संवरण गर्ने सिर्जनशील, उत्पादनशील, देशभक्तिको भावनाले ओतप्रोत बनेर मूल्य र मान्यताको राजनीतिक संस्कृति अँगाल्नु अनिवार्य छ ।

दलहरूभित्रको गुटगत जाल तोडेर पराक्रमी, परमार्थी, समझदार, परिवर्तनकामी र साँच्चै राजनीति भनेको समाजसेवा हो भन्ने मन्त्र भएका शक्तिको निर्माण गर्नेतिर नेतृत्व मन, वचन र कर्मले लागून् । होइन भने ‘समृद्ध नेपाल सुखी नेपाली’ को नाराले आकार लिन कठिन हुन्छ । हामीले त समृद्ध नेपाल सुखी नेपालीमा खुसी भर्न सक्नुपर्छ । किनकि समृद्धि र सुख भौतिक विकासका प्रतीक हुन् भन्ने खुसी नेपाली जनताका उन्नयनका विम्ब वा छविछायाँ हुन् ।