इटहरी/ आर्थिक वर्ष २०६९/७० मा विराटनगरको रानीदेखि इटहरी हुँदै धरानसम्मको सडक ३० मिटर चौडा पार्ने गरी काम सुरु गरियो । ३० मिटर अर्थात् ६ लेन बनाउने भनिएको सडक परियोजना ७ वर्ष (आर्थिक वर्ष २०७५/७६) मै तयार हुने सम्झौता थियो तर, अहिलेसम्म आधाजसो मात्र काम सकिएको छ । 

 १० अर्ब ९८ करोड लागत अनुमान गरिएको राष्ट्रिय राजमार्गको चौडाइमा एकरूपता नहुँदा निर्माणमा समस्या भएको हो । वि.सं. २०१६ सालमा बेलायती सरकारको सहयोगमा ३० मिटर चौडाइको रानी–धरान सडक बनेको थियो । २०२१ सालमा जारी भएको राजमार्ग (निर्माण व्यवस्था) ऐनले २५–२५ गजसहितको सडक सीमालाई अद्यावधिक गरेको थियो । २०२१ साल फागुन ११ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सडकको बीच भागबाट दायाँ–बायाँ २५ र २५ गज सडक अधिकार क्षेत्रभित्र पर्ने भनी जारी भयो ।

तर, राजपत्रमा सीमा जारी भए पनि व्यक्तिगत जग्गा भने सरकारको नाममा ल्याइएको थिएन । सडकको क्षेत्राधिकारभित्र दायाँ–बायाँ २५–२५ मिटर नछोडेपछि पुनः २०३४ सालमा पनि राजपत्रमा सूचना जारी गरेको देखिन्छ । तर, पहिलो पटककै जस्तो पुनः सरकारले सडकभित्र पर्ने निजी जग्गाको कित्ताकाट भने गरेन ।

सडकको चौडाइको विषयमा लामो समयदेखिको विवाद कायमै छ । अहिले सडक विस्तार कार्यमा ढिलाइ हुँदा इटहरीका मासिक हजारौं भाडा तिरेर बस्ने व्यापारीहरू भने विरक्तिएका छन् । सिसी क्यामेराको व्यापार गर्दै आएका इटहरीका नवराज सुवेदीले सरकारी पक्षको चरम लापरबाहीले व्यापारीहरूले दुःख पाएको बताए । सरकारी मापदण्डअनुसार सडक बने भविष्यमा अर्को पुस्तालाई सहज हुने उनको धारणा छ । इटहरीमा ६ लेन सडक विस्तारमा किचलो भइरहेको ६ लेन सडक विस्तार सङ्घर्ष समितिका संयोजक मदन चूडाल बताउँछन् । काममा समेत ढिलासुस्ती भएको भन्दै सरकारी मापदण्डमा सडक विस्तार हुनुपर्ने उनले बताए । उनले सधैँ सानो–सानो विषयमा झमेला हुँदा काम ढिलो हँुदा व्यापारी र सर्वसाधारणले दुःख पाएको बताए । 

सात दिनभित्र संरचना हटाउन निर्देशन

रानी,विराटनगर,इटहरी,धरान निर्माणाधीन ६ लेन सडक योजना अन्तर्गत इटहरीमा सडक विस्तारको ठेक्कापट्टा भएको स्थानमा सडक सीमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन इटहरी उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

सात दिनभित्र सडक सीमाभित्रको आ–आफ्नो संरचना नहटाए इटहरी उपमहानगर, जिल्ला प्रशासन कार्यालय र प्रहरीले ठेक्कापट्टा भएको सडक सीमाभित्रका संरचना हटाउने निर्णय भएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए । रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका प्रमुख बद्रीप्रसाद शर्माले संरचना नहट्दा समस्या भएको बताएका छन् । ‘सरोकारवालाको बैठकले सूचना प्रकाशित भएको सात दिनभित्र संरचना हटाउने निर्णय गरेको छ’–उनले भने । सडक सीमाभित्रका संरचना नहटाइएका कारण निर्माण कार्यमा बाधा पुगेको उनको भनाइ थियो । 

दुहबीमा साँघुरो

शक्ति केन्द्रको चलखेल भएपछि यो सडकले ३० मिटर चौडाइको एकरूपता नपाउने भएको छ । सबैभन्दा साँघुरो दुहबी बजारको करिब ६ सय ४० मिटर क्षेत्रमा बजारमा १६ दशमलव ३ मिटरको मात्रै चौडाइ हुनेछ । विराटनगरपछि दुहबीमा बाटोको क्षेत्राधिकार घटाउने काम २०५४ सालमा भयो । दुहबी विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र हो । सूर्यबहादुर थापा प्रधानमन्त्री भएको मन्त्रिपरिहषद्मा गच्छदार निर्माण तथा यातायात मन्त्री थिए । त्यहीबेला मन्त्रिपरिषद् निर्णयले २०५४ चैत ३ गते राजपत्रमा सूचना जारी गर्दै दुहबी क्षेत्रमा ८.१५ दायाँ र ८.१५ मिटर बायाँ मात्र कायम गरियो ।

चिटिक्क बन्यो इटहरी– तरहरा 

इटहरी–इटहरी–धरान खण्डको काम भइरहेको छ । यो सडकको बीचमा ३ मिटरको बगैंचासहित ६ लेनको बन्दै छ । यस सडक– खण्डको इटहरीदेखि तरहरासम्मको ५ किलोमिटर सडक अत्याधुनिक बन्दैछ । इटहरीको मुख्य चोकदेखि तरहरासम्म हालको सडकको बीच भागबाट २५–२५ मिटर दायाँ बायाँसम्म सडक फैलिनेछ ।

राजमार्ग निर्माण व्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी–धरान सडकलाई सेण्टर लाइनबाट दायाँ–बायाँ २५–२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ । इटहरी– तरहरा सडक ५ किलोमिटर लामो हुनेछ भने चौडा ५० मिटरको हुनेछ । सडकको बीच भागमा ३ मिटरको बगैंचा हुनेछ । बगैंचाको बीचमा सोलार बत्तीको लागि पोल गाडिनेछ । सडकको दायाँ–बायाँ फुुटपाथ र साइकल लेन हुनेछ । यो सडक–खण्डमा दोहोरो गाडी कुदाउन मिल्ने सर्भिस लेन रहनेछ ।