ताप्लेजुङ। पाथीभरा क्षेत्रको जंगलमा सात दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । अहिले फुङ्लिङ नगरपालिका वडा नं–११ फावाखोलामा पर्ने पाथिभरा सिम्बू सामुदायिक वन र सिरीजंगा गाउँपालिका वडा नं–३ सिकैँचाको सुनपाती समुदायिक वनमा डढेलो फैलिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार मन्दिर आसपासका क्षेत्रमा रहेका आगो छिटै सल्किने झोडीलाई सफाई गरेको साथै अग्नी रेखा बनाएकाले पाथिभरा मन्दिर भने अहिले सम्म सुरक्षित रहेको छ । मन्दिर क्षेत्रमा आगो आईहाले नियन्त्रणका लागि ससस्त्र प्रहरीको जनशक्ति तथा पाथिभराका कर्मचारी परिचालन गरिएको काफ्लेले बताए ।
यता फुङलिङ नगरपालिका १० को मयामतर्फ डढेलो फैलिए मन्दिर क्षेत्र खतरामा पर्ने देखिएकाले मयामतर्फ फैलन नदिनका लागि नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, पाथीभराका कर्मचारी र स्थानियले प्रयास गरिरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताए ।
बिहान सामान्य रहेपनि दिउँसोपख हावा चल्ने र मौषम सुख्खा हुदै गएपछि आगो बढे्ने गरेकोले नियन्त्रणमा लिन समस्या परेका हो । उच्च पहाड, सुख्खा क्षेत्र तथा पानीको समस्या रहेकोले बिकल्पको रुपमा पाथिभरा देवि मन्दिर संरक्षण तथा संर्वद्धन समितिको समन्वयमा हेलिकोप्टर प्रयोग गरी डढेलो नियन्त्रणमा लिने प्रयास समेत गरिएको थियो । ठुलो आगो लागेको र जंगल क्षेत्रमा भएका कारण हेलिकप्टरबाट समेत सम्भव नरहेको समितिका सचिब लक्ष्मी काफ्लेले बताए ।
बन क्षेत्रमा रहेको गुराँस तथा सल्ला जस्ता काँचै बल्न सक्ने प्रजातीका बिरुवा भएकोले डढेलो नियन्त्रणमा लिन झनै समस्या भएको स्थानियको बुझाई छ । सो क्षेत्र मूख्यगरि रेडपाण्डाको बासस्थानका रुपमा लिने गरिएको छ । आगलागीले बहुमूल्य जटिबुटि तथा बनस्पती साथै विभिन्न प्रजातिका बोटविरुवा नष्ट भएका छन् ।