भण्टाबारी/ कोशीटप्पु वन्यजन्तु आरक्षको रैथाने हात्ती मकुनाको आक्रमणबाट प्रमोद यादवको मृत्यु भएको घटना सेलाउन नपाउँदै मकुनाले फेरि अर्कोको ज्यान लिएको छ । 

कोशी कटानदेखि घर जाने क्रममा मकुना हात्तीको आक्रमणबाट सोमबार बेलुका कोशी गाउँपालिका–५ का २० वर्षीय मोतीलाल कामतको मृत्यु भएको हो । कामतसहित पछिल्लो चारवर्षको अवधिमा हात्ती आक्रमणबाट २४ जनाको ज्यान गएको छ । तीमध्ये १९ जनाको मकुना हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सोमबार बेलुका ७–८ बजेको समयमा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर गाउँ पस्ने क्रममा हात्तीले आक्रमण गर्दा आफ्नो देवरको मृत्यु भएको उनकी भाउजू ललिता देवीले बताइन् । गाउँ पस्ने बेलामै हात्ती आक्रमणबाट उनको मृत्यु भए पनि स्थानीयले भने मङ्गलबार बिहान मात्र कोशी गाउँपालिकास्थित कोशी कटानमा शव देखेका थिए । मृतकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रजिअको उग्ररूपले आन्दोलित थप रुष्ट

१५ दिनको अन्तरालमा दुईजनाको ज्यान गएपछि आक्रोसित स्थानीयबासी मङ्गलबार कोशी कटान क्षेत्रमा आन्दोलनरत थिए । उनीहरूले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गर्दै हात्ती समस्या सदाको लागि समाधान गर्न माग गरिरहेका थिए । सोही क्रममा घटनास्थल पुगेका सुनसरीका प्रजिअ फणिन्द्रमणि पोखरेल उग्ररूपमा प्रस्तुत भएको देख्दा आन्दोलनरत पीडित र स्थानीय थप आक्रोसित भए ।

सुरक्षा निकायका प्रमुखहरूसँगै पुगेका प्रजिअ पोखरेलले पीडित र स्थानीयलाई सान्त्वना दिनुको साटो लोकमार्गमा बालिएको ‘टायर हटाऊ’ भनेपछि उनीहरूले प्रजिअका विरुद्ध नाराबाजी गरेका थिए । शान्तिपूर्ण आन्दोलन गरिरहँदा पदीय मर्यादाविरुद्ध प्रजिअ प्रस्तुत भएपछि चित्त दुखेको आन्दोलनकारी मध्येका एक प्रभु यादवले बताए । ‘हामी सडकमा किन र के का लागि आउनुपर्ने अवस्था आयो ?’ उनले भने, ‘त्यो कुरा सिडिओ सा’वले बिर्सनुभएको देखियो । के आन्दोलन गर्नु रहर हो र ? हामी बाध्यताले सडकमा आएका हौं । सान्त्वना दिन नसक्ने सिडिओ सा’वको हेपाहा प्रवृत्तिले हाम्रो चित्त दुख्यो ।’ सडकमा टायर बाल्दै आन्दोलन गर्नु बाध्यता भएकोले जनतालाई हेपाहा प्रवृत्तिले हेर्नुभन्दा हात्ती समस्या समाधान गर्न स्थानीयले आग्रह गरे ।

स्थिति तनावग्रस्त भएपछि आन्दोलन गरिरहेका स्थानीय र प्रहरीबीच झडपको स्थिति सिर्जना भए पनि सुरक्षाकर्मी र जनप्रतिनिधि संयमित हुँदा कुनै अप्रिय घटना भएन । यता यसबारे जिज्ञासा राख्दा प्रजिअ पोखरेलले प्रतिक्रिया दिन चाहेनन् भने हात्ती समस्या समाधान गर्न आफूहरू गम्भीर रहेको प्रतिबद्धता दोहो¥याए । मोतीलाल कामतको हात्ती आक्रमणबाट मृत्यु भएपछि वन्यजन्तु विभाग वा चितवनबाट अनुभवी प्राविधिक र विज्ञ टोली बोलाएर मकुना नियन्त्रण गर्ने सहमति भएको उनले बताए । 

हात्ती नियन्त्रण गरिएको दाबी झुठो 

मङ्सिर २९ गते मकुना हात्तीको आक्रमणबाट कोशी गाउँपालिका वडानम्बर ६ का प्रमोद यादवको मृत्यु भएपछि जनप्रतिनिधिको अगुवाइमा दबावमूलक कार्यक्रमपश्चात् कोशीटप्पु वन्यजन्तु आरक्ष प्रशासनले उक्त हात्ती नियन्त्रण गर्न चितवनबाट प्राविधिक टोली बोलाएको थियो । 

सो टोलीकोे उपचारपछि मकुना हात्ती नियन्त्रणउन्मुख रहेको दाबी गरेपनि त्यसमा सत्यता नभएको पुष्टि भएको छ । प्राविधिक टोलीले डार्ट विधिबाट हात्तीको उपचार गरे पनि दिनभर आरक्षभित्र बस्ने हात्ती राति मानव बस्ती पसेर आतङ्क मच्चाउने सिलसिला भने रोकिएको छैन । सोही क्रममा कामतको ज्यान गएको हो । कामतलाई मार्दै गाउँ पसेको हात्तीले कोशी गाउँपालिका–५ का पाँच  स्थानीयको घरसमेत भत्काएको छ ।

‘हात्ती कतिखेर गाउँ पस्ला भन्दै स्थानीय बसेका हुन्छन्’ कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले भने, ‘हात्ती नियन्त्रण गर्ने बहानामा पैसा सिध्याउने खेल मात्रै भएको छ  ।’ हात्ती नियन्त्रणउन्मुख रहेको आरक्ष प्रशासनले दाबी गरिरहँदा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्तीले पछिल्लो एक हप्ताको अवधिमा कोशी गाउँपालिका–८ का धर्मनारायण मण्डल र तेत्तरी खातुन, कोशी–४ का किफात मियाँ, जैतुन खातुन र कोशी– ५ का सूर्यनारायण यादवसमेतको जम्मा १५ वटा फुसको घर भत्काएको छ । जसबाट अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । 

हात्ती पीडितहरूले कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन, प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रीसम्मलाई पटक–पटक समस्या समाधान गर्न आग्रह गरे पनि समस्या जस्ताको त्यस्तै रहेको अध्यक्ष अन्सारीले बताए । ‘पीडित पक्ष सम्बन्धित निकायलाई गुहार गर्दै थाकिसकेका छन्, अब पीडित किसान र जनता कहाँ र कुन निकायमा गएर समस्या राख्ने ?’ अध्यक्ष अन्सारीले प्रतिप्रश्न गर्दै भने, ‘यो समस्या समाधान गर्ने कुनै उपाय र निकाय छ कि छैन ?’ कोशी पीडित क्षेत्रको समस्या स्थायी रूपमा समाधान  गर्न अध्यक्ष अन्सारीले आग्रह गरे ।