विराटनगर/ विराटनगर महानगरपालिका–१९ मिलन चौकदेखि ग्रामथान गाउँपालिका–१ लखन्तरी, गिधनिया, भोवियारे हुँदै सुन्दरहरैंचा जोड्ने भित्री ग्रामीण सडकको शिलान्यास भएको छ ।
तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत निर्माण हुने उक्त सडकको शनिबार शिलान्यास गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय विराटनगरको ४ करोड ३५ लाख ८७ हजार २ रूपैयाँ लागतमा निर्माण सम्पन्न गर्न सुनसरीको इनरुवास्थित साह निर्माण सेवाले ठेक्का पाएको छ । ३२ सय मिटरको कालोपत्रे हुने सो सडकको ३५ फिट पिच बन्ने सडक डिभिजन कार्यालय विराटनगरका सव–इञ्जिनियर राजेशकुमार यादवले जानकारी दिए । आउँदो चैत मसान्तसम्म कालापत्रे बनाउने गरी सडक निर्माणको काम अगाडि बढेको छ ।
ग्रामीण क्षेत्रको ग्रामथान गाउँपालिकाको यो मुख्य सडक हो । प्रदेश १ को राजधानी रहेको सहर विराटनगर र मोरङको उत्तरी क्षेत्रको पूर्व–पश्चिम राजमार्ग पनि यो सडकले जोड्ने भएकोले यहाँका स्थानीय हर्षित छन् । २०७७ साउन ११ गते सम्झौता भएको सडकको निर्माण प्रक्रिया प्रारम्भ भएको महिना दिन हुन लागेको छ । ‘अहिले सडक ग्रेडिङ गरी सव बेसको काम भइरहेको छ’ सव–इञ्जिनियर यादवले भने, ‘३२ सय मिटरको कालोपत्रे हुने सडकमा ६ वटा कल्भर्ट निर्माण हुनेछ । पिच सडकको ४ सेण्टिमिटरको मोटाइ कालोपत्रे हुन्छ ।’
शिलान्यास कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद् अमनलाल मोदीले शिलान्यास गरेको ग्रामीण सडक तोकिएको समयमा गुणस्तरीय निर्माण हुने बताए । आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काम अगाडि बढेको उनले बताए । ‘अहिले मेरो निर्वाचन क्षेत्रमा विकासको सुरुवात भएको छ’ सांसद् मोदीले भने, ‘निर्वाचन क्षेत्रमा भएका विकासका कामहरू संसद् विकास कोषबाट हुँदै आएको छ ।’
यसअघि ग्रामथान गाउँपालिकाभित्रका सुकुम्बासीहरूलाई नमुना आवास निर्माण गरी हस्तान्तरण पनि गरिएको उनले बताए । सांसद् मोदीका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा १ हजार १ सय ३ घर सुकुम्बासीलाई घर हस्तान्तरण गर्ने योजना रहेको सुनाए । ‘घर नहुने सुकुम्बासीलाई घर हस्तान्तरण गर्ने योजना अगाडि सारेको छु’ –उनले भने । मोदीले आफ्नो क्षेत्रमा भएको विकासको काममा स्थानीयलाई खबरदारी गर्न पनि आग्रह गरे । ‘तपाईंहरूको घरअगाडि बन्ने सडकको गुणस्तरमा ध्यान दिन पनि आग्रह गर्दछु’ सांसद् मोदीले भने, ‘घरअगाडि हुने विकासका काम गुणस्तरीय बनाउन सबै लाग्नुपर्दछ ।’
कार्यक्रममा ग्रामथान गाउँपालिकाका प्रमुख शिवनारायण माझीले सडक निर्माणमा गुणस्तरमा कुनै सम्झौता नहुने भएकोले तोकिएको समयमा निर्माण प्रक्रिया पूरा गरिनुपर्नेमा जोड दिए । उनले दीर्घकालीन महत्व भएको यो सडक निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन सबै नागरिकलाई आह्वान गरे ।
कार्यक्रममा ठेकेदार कम्पनीका प्रतिनिधि पवन झाले तोकिएको समयमा गुणस्तरीय सडक निर्माण गर्न सबैको साथ सहयोगको खाँचो रहेको बताए । उनले स्थानीय, सडक विभाग र निर्माण व्यवसायीको सहयोगले मात्र सडक निर्माणले पूर्णता पाउने भएकोले सबैले सहयोग गरिदिनुपर्ने बताए ।