धरान/ कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा बितण्डा मच्चाउँदै आएको २५ वर्षे मकुना एकसातायता शान्त बनेको छ । राष्ट्रिय प्राकृतिक कोषका वन्यजन्तुविज्ञ चिकित्सक र प्राविधिकहरूको टोलीले करिब १० दिनदेखि लगातार उपचार गरेपछि शान्त हुन थालेको हो ।

आक्रामक बनेको बेला मकुनाले मानसिक सन्तुलन गुमाएको अनुमान आरक्ष प्रशासनले गरेको थियो । अत्यधिक हिंस्रक भएर मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरूको ज्यान एकपछि अर्को गर्दै लिन थालेपछि ‘मकुना बहुलाएको’ अनुमान गरिएको थियो । पछिल्लो समयमा कोशी गाउँपालिकाका प्रमोद यादवलाई मकुनाले आक्रमण गरेर ज्यानै लिएपछि स्थानीय समुदायले मार्नैपर्ने माग गरेका थिए ।

उनीहरूको मागलाई लिएर जिल्ला प्रशासन पनि सहमत भइसकेको थियो । यसैबीच कोषबाट आएका वन्यजन्तु चिकित्सक र प्राविधिकहरूको टोलीले मकुनाको व्यवहार अध्ययन गर्दै डार्ट विधिबाट औषधि दिएर उपचार गरेपछि एकसातायता शान्त भएको हो ।

हिंस्रक र आक्रामक हुनुका कारण पहिचान गरेपछि सोही अनुसार उपचार गरिएको कोषका वन्यजन्तु चिकित्सक डा. अमिर सडौलाले बताए । उनले भने, ‘मकुनाको कानको छेउमा रहेको प्वालबाट माद (एक प्रकारको यौन रसायन, जसले हात्तीलाई उत्तेजित र आक्रामक बनाउँछ) अत्यधिक निस्कने गरेको पाइयो । त्यसलाई घटाउने औषधि एकसातासम्म दिएपछि शान्त अवस्थामा आएको छ ।’

उनका अनुसार उपचारका लागि डार्ट विधिबाट मकुनालाई दिएको पर्फेनाजिन र जोलाजिन औषधिले कतिपयलाई ४ महिनासम्म र कतिपयलाई एक वर्षसम शान्त हुन मद्दत गर्छ । औषधिको असर सकिँदै गएपछि फेरि डार्ट विधिबाट दिनुपर्ने हुन्छ । मकुना आरक्षकै दाह्रा नआएको रैथाने भाले हात्ती हो । मादको स्तर बढेको बेला आरक्षमा खानेकुरा नपाउँदा बस्तीमा पसेर बितण्डा मच्चाउने मकुना नियन्त्रणमा आएकोले केही दिनभित्र कोषका चिकित्सक र प्राविधिकहरू फर्कने तयारीमा रहेका छन् ।