धरान । तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीलाई लक्षित गर्दै ‘दीर्घरोगी तथा विपन्न नागरिक निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन निर्देशिका’ ल्याएको छ ।

यो निर्देशिका बमोजिम अब गाउँपालिकाले २५० भन्दा बढी दीर्घरोगीहरूलाई सरकारले ल्याएको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो । यो कार्यक्रमले दीर्घरोगी तथा विपन्न नागरिकलाई राहत पुग्ने विश्वास लिइएको छ । गाउँपालिकाले यसका लागि २० दिनसम्म अभियानको रूपमा सञ्चालन गरेको छ ।

पुस १० गतेबाट अभियान सुरु गर्दै तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले विपन्न नागरिक तथा दीर्घरोगीलाई लक्षित गर्दै निर्देशिका ल्याइएको बताए । उनले २५० जना परिवारका जनही ५ जना सदस्यको बिमा गाउँपालिकाले गरिदिने भएको बताए ।

यसअघि गाउँपालिकाले दीर्घरोगी विपन्न परिवारलाई चार हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म उपलब्ध गराउँदै आएको छ । नागरिकले आधारभूत स्वास्थ्य उपचार सेवामा पहुँच पु¥याउन यो अभियान थालिएको हो । छथर गाउँपालिकाका ३ नम्बर वडाध्यक्ष तुल्सीजङ थापाले दीर्घरोगी तथा विपन्न नागरिकलाई यो अभियानलाई धेरै नै राहत दिने बताए ।

गाउँपालिकाले सरकारले सूचीकृत गरेका कडा खाल्का दीर्घरोग जस्तैः मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी, सिकलसेल एनिमियाबाहेक अन्य दीर्घरोगीको पनि बिमा गरिदिने भएको हो ।