झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाई खोला किनारमा बौद्ध दर्शन अध्ययन केन्द्रका लागि पायुल्स देछेन छ्योलिङ गुम्बाको निर्माण अन्तिम चरणमा पुगेको छ । करिब १५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको गुम्बा प्रदेश १ कै ठूलो र भव्य हुने बताइएको छ ।

पेनोर रिम्पोछे बुद्धिष्ट सोसाइटीको पहलमा निर्माण भइरहेको उक्त गुम्बा झापाको रमणीय पहाडी इलाका साविक शान्तिनगर र सट्टाभर्ना बस्तीको बीचमा रहेको टिमाई खोला किनारमा छ । एक वर्षभित्र गुम्बा निर्माण सम्पन्न हुने र थप आवासीय भवनहरू भने क्रमशः निर्माण गर्दै जाने सोसाइटीका अध्यक्ष भक्त ग्लान तामाङले बताए ।

गुम्बा निर्माणका लागि बुद्धशान्ति गाउँपालिकाले सुरुमा ४ लाख रुपैयाँ दिएको ग्लानले बताए । उनले भने, ‘बौद्ध दर्शन अध्ययन केन्द्र सञ्चालन गर्ने गरी यति ठूलो उद्देश्य लिएर बुद्धशान्तिको टिमाईमा गुम्बा निर्माण गरिरहे पनि सङ्घीय सरकारले भने खासै चासो दिएको छैन । न त आर्थिक सहयोग नै गरेको छ । सायद पछि सहयोग गर्ला कि ?’

उनले भने, ‘गुम्बा निर्माणले बुद्धशान्ति गाउँपालिकालाई बौद्ध दर्शन अध्ययन केन्द्रमात्र नबनाएर बौद्ध धर्मावलम्बी र अन्य समुदायका लागि पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्नेछ । सोसाइटीको लक्ष पनि यही हो ।’ उनले हालसम्म करिब ६ करोड रुपैयाँ खर्च भइसकेको बताए । गुम्बाको करिब ७५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ ।

गुम्बा निर्माणमा फर्पिङस्थित गुम्बाका लामा खेल्छेन नाम्डोल रिम्पोछेले विशेष सहयोग गरेको अध्यक्ष भक्त ग्लानले बताए । गुम्बा निर्माणका लागि सोसाइटीले पहल गर्नासाथ नेपाल, भारत, बर्मा, जापान, थाइल्याण्ड लगायतका बौद्ध धर्मावलम्बी र टिमाई शिविरमा बसेर हाल विभिन्न मुलुक पुगेका भूटानी शरणार्थीहरूले समेत आर्थिक सहयोग गरेको अध्यक्ष ग्लानले बताए । सोसाइटीका अध्यक्ष ग्लानले १० कठ्ठा जमिन दान गरेपछि बाँकी जमिन किनेर १ बिघा १३ कठ्ठा क्षेत्रफलमा गुम्बा निर्माण गरिएको हो ।

सोसाइटीका सचिव तिलक पाख्रिनले गाउँपालिकाका इञ्जिनियरले डिजाइन गरेको गुम्बामा धमाधम कालीगढहरूले भित्ताहरूमा बुट्टा भर्ने काम गरिरहेको बताए । गुम्बाको विभिन्न तलामा सजाउनका लागि अर्डर गरेर दिल्लीबाट बुद्धको प्रतिमा ल्याइसकेको पाख्रिनले बताए । गुम्बाका प्रमुख लामा खेम्पो दावा ग्याल्छेन रहेका छन् ।

बुद्धशान्ति गाउँपालिकाको मात्र नभएर प्रदेश १ कै गहनाको रूपमा उक्त गुम्बालाई बौद्ध दर्शन अध्ययन गर्ने विश्वविद्यालय जस्तै विस्तार गर्ने योजना रहेको सोसाइटीका सचिव तिलक थिङले बताए । उनका अनुसार अबको करिब १ वर्षमा तयार हुने गुम्बामा आवासीय भवनहरू पनि तयार भएपछि ५ हजार भिक्षुहरूले बौद्ध दर्शनको अध्ययन अनुसन्धान र पठन–पाठन गर्नेछन् ।