बिर्तामोड/ अर्थ मन्त्रालयले समयमा बजेट निकासा नगर्दा झापाको अर्जुनधारा नगरपालिकामा रहेको शनिश्चरे–खुदुनाबारी सडक अलपत्र परेको छ ।

निर्माण सम्पन्न हुनुपर्ने मिति सकिएको ६ महिनासम्म पनि रकम निकासा नहुँदा सडक निर्माण अलपत्र परेको हो । सडक भत्काएर निर्माण नभएपछि सो क्षेत्रका सर्वसाधारणले सास्ती व्यहोरिरहेका छन् । ‘¥याप ३’ को आर्थिक सहयोगमा सडक निर्माण सुरु भएको थियो । ¥याप ३ को समय सकिएपछि त्यसको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयले पायो । त्यस्ताखाले योजनाको जिल्लामा रहेको भौतिक पूर्वाधार विकास कार्यालयबाट अनुगमन हुनुपर्ने प्रावधान रहेको छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार विकास कार्यालयलाई रकम पठाएपछि निर्माण कम्पनीले त्यो रकम पाउने व्यवस्था छ । तर, पटक–पटक ताकेता गर्दा पनि रकम नपाएपछि सडक निर्माण हुन नसकेको हो ।

भौतिक पूर्वाधार विकास कार्यालयको ९ करोड रुपैयाँ लागतमा शनिश्चरेदेखि खुदुनाबारीसम्मको साढे ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७५ साल असार २७ गते ठेक्का लागेको थियो । ‘द कञ्चनजङ्घा–शेर्पा–कञ्चनजङ्घा’ जेभीले सडक निर्माणको ठेक्का पाएको थियो । २०७७ असारमा सडक निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको भए पनि बजेट निकासा नहुँदा सडक निर्माण कार्य अलपत्र परेको हो ।

समयमा काम सक्न दबाव आएपछि ठेकेदार संस्थाले सव–बेसको काम सकेर कालोपत्रे गर्न तयारी गरेको थियो । तर, असारमा बुझाएको बिलको हालसम्म भुक्तानी नदिएको निर्माण कम्पनीका सञ्चालक फुर्तेम्बा शेर्पाले बताए । यतिबेला स्थानीयले धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै सडकमा बाँस तेस्र्याएर अवरोध गरेका छन् । निर्माणको काम किन अलपत्र पारेको भन्ने ब्लाष्टको जिज्ञासामा शेर्पाले आफू रकम भुक्तानीका लागि मन्त्रालयमा धाइरहेको बताएका छन् । ‘लगभग १ करोड रकम भुक्तानी पाउन माग गर्दै मन्त्रालय धाइरहेको छु’ शेर्पाले भने, ‘ आफूसँग भएको रकम खर्च गरिसकेको हुनाले रकम अभावमा काम अघि बढ्न नसकेको हो ।’

सडक निर्माणको सम्झौता सकिएको ६ महिना बिते पनि काम भने ५० प्रतिशतको हाराहारीमा मात्र भएको छ । भौतिक पूर्वाधार विकास कार्यालय अन्तर्गतको सो सडक स्तरोन्नतिको लागि करिब ९ करोडमा ठेक्का लागेको थियो । झापा आन्दोलनका योद्धाको सहादतस्थल सुखानी पार्क हुँदै इलाम जोडिने यो सडक वर्षांैदेखि हिउँदमा धुलाम्मे र वर्षातको समयमा हिलाम्मे हुन्छ । जनप्रतिनिधिले उक्त सडक निर्माणका लागि चासो नदेखाएको स्थानीयको दुःखेसो छ । समयमा सडक नबन्दा स्थानीय सरकारप्रति सर्वसाधारणको आक्रोस बढेको छ ।

सङ्घीय सरकारले प्रदेश सरकारको मातहतमा सडक निर्माण गर्ने भए पनि समयमा निर्माण सम्पन्न नहुँदा स्थानीय तहसँग सरोकारवाला आक्रोसित छन् । सरकारले बजेट समयमा नै निकासा नगरेकै कारण निर्माण कम्पनीले पनि काममा चासो देखाएको छैन । अर्जुनधारा नगरपालिकाले धुलाम्मे उक्त सडकमा धुलो मार्नका लागि पानी हाल्ने र बर्खाको समयमा हिलो हुँदा बालुवा, गिट्टी हाल्ने काम गर्दै आएको नगरप्रमुख हरिकुमार राना बताउँछन् । नगरले उक्त सडक समयमा सम्पन्न गर्नका लागि सङ्घीय र प्रदेश सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको जनाएको छ ।

‘सम्झौता समयावधिभित्र उक्त सडक निर्माण नहुँदा यात्रु तथा स्थानीयले सास्ती व्यहोर्नु परेको छ’ नगरप्रमुख राना भन्छन्, ‘नगरले प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद् वृष प्रधानसहित पटक–पटक पहल गरे पनि सडक निर्माणमा अर्थ मन्त्रालयबाटै चासो देखाइएको छैन ।’

स्थानीयले सम्झौता अवधिभित्रै सडक निर्माण गरिनुपर्ने र धुलोका कारण सास्ती व्यहोर्नु परेको भन्दै लामो समयदेखि पटक–पटक सडक बन्द गरे पनि सुनुवाइ भएको छैन । दक्षिणी इलामलाई झापासँग जोड्ने वैकल्पिक यो सडक समयमा नै निर्माण हुनसके जिल्लाबासीलाई सहज हुनेछ ।