इनरुवा/ सुनसरीको कोशी गाउँपालिका वडानम्बर ३ मा तस्करीको सामानको विषयमा कुटपिट हुँदा ८० वर्षीय वृद्धको ज्यान गएको छ ।
रातिको समयमा भारततर्फबाट तस्करी गरी ल्याइएको कपडाको विषयमा स्थानीयबीच विवादपछि कुटाकुट हुँदा ८० वर्षीय वृद्ध गङ्गाई दास मुखियाको मृत्यु भएको हो । प्रहरीका अनुसार तस्करीमा संलग्न रहेका सोही स्थानका उदिचन्दसहित कृपा मुखिया र वृद्धको परिवारबीच झगडा भएको थियो ।
सो क्रममा उदिचन्द र कृपा मुखियाको कुटपिटबाट वृद्धको ज्यान गएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कपडाको विषयमा विवादपछि हात हालाहाल भएको र सो क्रममा वृद्ध लडेको बताइएको छ । यद्यपि घटनाको विस्तृत अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।
स्थानीयले भने वृद्धको मृत्यु दुर्घटना नभई हत्या भएको दाबी गरेका छन् । उनीहरूले तस्करीको सामान घरमा लुकाएर राख्ने विषयमा उत्पन्न विवादपश्चात् वृद्धमाथि कुटपिट भएको बताएका छन् । प्रहरीले कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिएका व्यक्ति दाजुभाइ रहेको बताएको छ । उनीहरूको सम्बन्धमा कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।