इटहरी/ इटहरीको साप्ताहिक हाट लाग्दै आएको बजारको करोडौं मूल्य पर्ने १६ कठ्ठा जग्गा व्यक्तिको नाममा रहेको खुलासा भएको छ । आइतबार र बुधबार इटहरीमा साप्ताहिक हाट लाग्दै आएको छ ।

वर्षौंदेखि इटहरी उपमहानगरले संरचना बनाएर भोगचलन गर्दै आएको वडानम्बर ९ मा पशु बधशाला निर्माण गरिएको सबै जग्गा व्यक्तिको नाममा रहेको पाइएपछि अहिले जनप्रतिनिधिहरू तीनछक्क परेका छन् । यो विषय नयाँ नभए पनि लामो समयदेखि मुद्दा परेकाले उक्त जग्गाको विषयमा जनप्रतिनिधिहरूले बल्ल थाहा पाएका हुन् ।

नेपाल बार एसोसिएसन सुनसरीका अध्यक्ष तथा जिल्ला अदालत सुनसरीका अधिवक्ता शारदाप्रसाद अधिकारीले १६ कठ्ठा जग्गा व्यक्तिको नाममा रहेको र सो विषयमा मुद्दा परेकोले मुचुल्का उठाएको बताए । इलाम घर भएका चन्द्रबहादुर श्रेष्ठले सट्टाभर्ना भन्दै सेटिङमा २०४६ सालतिर नै दर्ता गरेको अधिकारी बताउँछन् । ‘अहिले मुद्दा चलिरहेको छ, सो विषयमा हामी मुचुल्का गर्न आएका हौं’ –उनले भने ।

अधिवक्ता अधिकारीले भने व्यक्तिको नाममा दर्ता भएको जग्गालाई बदर गरी सार्वजनिक हाटबजार कायम गरी पाउँ भनी इटहरीवासीले दिएको उजुरीलाई आधार मानेर सर्वोच्च अदालतले तत्काललाई जग्गा रोक्का गरी सत्य–तथ्य बुझ्न मुचुल्का तयार भइरहेको छ । २०५१ सालतिर नै सो जग्गाको विषय इटहरी उपमहानगरलाई थाहा भएको उनी बताउँछन् ।

हाटबजार लाग्ने करोडौं मूल्यको जग्गा व्यक्तिको नाममा भएको थाहा पाएको इटहरी–९ का वडाध्यक्ष भूपेन्द्र बराल बताउँछन् । ‘चन्द्रबहादुर श्रेष्ठले आफ्नो नाममा लिएको रहेछ । अरू जग्गा पनि चन्द्रबहादुरले दर्ता गराएको भन्ने पाएका छौं, यस विषय थप खोजी गर्दैछौं’ –वडाध्यक्ष बरालले भने । विवादित जग्गामा नेपाल सरकारको पशुपंक्षी महानिर्देशनालय, आवास तथा शहरी विकास विभाग र इटहरी उपमहानगरले २०७३ सालमा करिब १ करोडको लगानीसहित पशु बधशाला तथा व्यवस्थित तरकारी बजार निर्माण गरी सञ्चालनमा ल्याएको थियो । तर, सो बधशाला अहिले पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

तत्कालीन सरकारको पालामा श्रेष्ठले इलाममा रहेको आफ्नो घरजग्गासँग इटहरीको हटिया लाइनमा अवस्थित बजार लाग्ने पशु बधशालाको जग्गा सट्टाभर्ना गरेर भोगचलन नगरी १२ वटा कित्तामा बिक्री गरेका थिए । कित्ता नं. ८०, ५९४ र ५९६ को कित्ताकाट भएको कित्ता नं. ५९४, ५९६, ९५१, ९५२, ९५३, ९५४, ९५५, ९६४, ९६५, ९६२, ९५६ र ९६३ गरी १२ टुक्रा बनाई जग्गा बिक्री गरेको पाइएको छ ।