विजयपुर/ खानेपानी व्यवस्थापन उपभोक्ता समिति धरान–११, १७ को सभाहल र कार्यालय भवनको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् ।
आइतबार मुख्यमन्त्री एवम् कार्यक्रममा प्रमुख अतिथि राईले ३ कोठे भवनको पानसमा बत्ती बालेर र रिबन काटेर उद्घाटन गरेका हुन् । भवन १६ लाख ११ हजार १ सय १५ रुपैयाँ लगानीमा बनेको समितिका सचिव इन्द्रकुमार राईले जानकारी दिए ।
उनले ३ कोठे भवन व्यवस्थापन समिति ११, १७ का उपभोक्ताकै लगानीमा सम्पन्न गरेको पनि बताए । समितिका अध्यक्ष अरुण कट्वालको अध्यक्षतामा भएको कार्यक्रममा १ नं. प्रदेशसभा सदस्य उमिता बराइली, धरान उपमहागर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, धरान वडा नंं. २० का अध्यक्ष मणिराम राई, वडा नंं. ११ का बाबुलाल लामालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खानेपानी व्यवस्थापन समितिलाई निःस्वार्थ सहयोग गर्ने उपभोक्ता देवराज पराजुलीलाई सम्मान पनि गरिएको थियो । उनलाई नगद ५ हजार ५ रुपैयाँ र कदर–पत्रले सम्मान गरिएको समितिका सचिव राईले जानकारी दिए ।