भद्रपुर/ झापामा एक महिला शङ्कास्पद अवस्थामा मृत भेटिएकी छिन् । बिर्तामोड नगरपालिका –२ निवासी वीरबहादुर राजवंशीकी श्रीमती ४२ बर्षिया दिनो राजवंशी शङ्कास्पद अवस्थामा मृत भेटिएकी प्रहरी कार्यालय झापाका एसपी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार बिर्तामोड–२ स्थित चैतुबारीको खेतमा उनको शव आइतबार बिहान फेला परेको हो । मृतक महिलाको नाक र मुखबाट सामान्य रगत बगेको र शव उत्तानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ’महिलाको मृत्यु शङ्कास्पद छ,’ एसपी कोइरालाले भने, ’घाँटीमा सल बेरिएको छ, धारिलो हतियार केही प्रयोग गरिएको छैन, घटनाको विषयमा थप अनुसन्धान हुदैछ ।’
शवको प्रकृति हेर्दा महिलाको हत्या गरिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । घटनास्थलमा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली थप अनुसन्धानका लागि खटिएको छ । धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’सहितको प्रहरी टोली घटनास्थल आएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार राजवंशी दम्पतीले सोही ठाउँका जगत राजवंशीको खेत भाडामा लिई विगत तीन वर्ष देखी कुखुरा फारम सञ्चालन गर्दै आइरहेका थिए । त्यही कुखुरा फाममा शनिबार बेलुका ७ बजे श्रीमानलाई खान पु¥याउन भनी घरबाट हिडेकी अबेर राती सम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा उनको शव घर देखि तीन सय मिटर पश्चिम मोहन मगरको खेतमा भेटिएको प्रहरीले जनाएको छ ।