विराटनगर/ ठेक्का लागेर काम सुरु भएको एक वर्ष हुनलाग्दा पनि विराटनगर–५ कोचाखलको सडक निर्माणले पूर्णता नपाएपछि यहाँका स्थानीय आन्दोलित भएका छन् ।
सम्झौता भई काम सुरु भएको १० महिनामा विराटनगर–५ को ‘सिटी रोड– चाँदनी चौकहुँदै केसलिया रोड’ जोड्ने ६ सय ७० मिटरको सडक निर्माण पूरा नभई ठेकेदारले काम रोकेपछि स्थानीय आन्दोलित भएका हुन् ।

विराटनगरको कला बल्डर्सले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयसँग ७१ लाख रूपैयाँमा उक्त सडक पिच गर्ने गरी २०७७ वैशाखमा सम्झौता भई काम सुरु गरेको थियो । एक वर्ष बित्न लाग्दासम्म यहाँको सडकमा ‘सव ग्रेड’ सडकको झार उखाल्ने काम र एउटा कल्भर्ट बनाएर काम बीचैमा रोकिएको छ ।

बोलपत्र खोलेर निर्माण थालिएको सडकका लागि बजेट अभाव भएको कारण देखाउँदै ठेकेदार सञ्जयकुमार यादवले बीचैमा काम रोकेर हिँडेपछि आन्दोलनमा उत्रिएको विराटनगर–५ कोचाखालका स्थानीय अशोक राजवंशीले बताए । ‘ठेक्का पाएर निर्माण सुरु भएको वर्ष दिन हुनसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन’ उनले भने, ‘ठेक्का लागेको सडकमा अहिलेसम्म सडकमा झार उखेलेर ढुङ्गा र गिट्टी झारेर ठेकेदार बीचैमा काम रोकेर हिँडेको छ । पिच गरिनुपर्ने सडक सवग्रेड गरेर बीचैमा काम रोकिएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।’

बजेट अभाव भएको देखाउँदै ठेकेदार भागेको उनको आरोप छ । ‘बोलपत्र आह्वान भई ठेक्का पाइसकेको सडकको पैसा त ठेकेदारले जसरी पनि पाउने थियो, नि ! काम सम्पन्न गरेको भए हुन्थ्यो । किन बीचैमा काम छाडेर हिँड्नुप¥यो ?’ राजवंशीले प्रतिप्रश्न गर्दै भने, ‘आधाकल्चो बनाएर छोडेको सडक निर्माण नभए यहाँका स्थानीय सडक आन्दोलनमा उत्रिनेछन् ।’

चाँदनीचौकबाट केशलिया रोडमा जोडिने यो सडक निर्माणको काम बीचमै रोकिएपछि शुक्रबार स्थानीयले त्यसको विरोधसमेत गरेका छन् । उनीहरूले सडकमा बाँस तेस्र्याएर सवारी आवागमनमा पनि अवरोध गरेका थिए । स्थानीयले ठेकेदारले बालुवा र गिट्टी केही महिनासम्म सडकमै थुपारेर पुनः उठाएर लगेदेखि फर्केर नआएको गुनासो गरेका छन् । सम्झौता गरेर निर्माण सुरु गरे पनि कोरोना सङ्क्रमणका कारण काममा केही अवरोध पुगेको थियो । सरकारले विकास निर्माणका कामलाई अगाडि बढाउने निर्णय गरेपछि ठेकेदार कम्पनीले एउटा कल्भर्ट निर्माण र सडकको सवग्रेड गरिसकेको थियो ।

सम्झौताअनुसार सडक निर्माणको काम अगाडि बढाउने तयारी गरिरहेको बेला पूर्वाधार विकास मन्त्रालयले बजेट नभएको जानकारी गराएपछि बीचैमा काम छोड्नुपर्ने अवस्था आएको ठेकेदार सञ्जयकुमार यादवले बताए । ‘चालु आर्थिक वर्षसम्म निर्माण पूरा गर्ने तयारी थियो । पूर्वाधार विकास मन्त्रालयमा बजेट नभएको र स्थानीयले पनि असहयोग गरेको कारणले बीचैमा काम रोकिएको हो’ ठेकेदार यादवले भने, ‘सडक पिच गर्नको लागि सबैथोक तयारी अवस्थामा थियो । तर, कोरोनाको कारण देखाउने मन्त्रालयमा बजेट नभएको बताएपछि काम रोकिएको हो ।’

प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको योजनामा सो सडक निर्माणको काम थालिएको थियो । कार्यालयले बोलपत्र आह्वान गरेर ठेक्का लगाएका योजनामा स्रोतको सुनिश्चितता गरिएको थियो । निर्माण व्यवसायीले गत आर्थिक वर्ष ठेक्का लिएर सम्पन्न गरिसकेका योजनाको समेत रकम निकासा गरिएको छैन । त्यसको विरोध गर्दै निर्माण व्यवसायी सङ्घ मोरङको टोली आज (आइतबार) मुख्यमन्त्री शेरधन राईसँग छलफल गर्नका लागि जाने तयारीमा रहेको बुझिएको छ ।