धरान/ एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘ऐनसेल जबसप’ सुरु गरेको छ ।

आन्तरिक श्रम बजारमा रोजगारीको अवसर र आफूलाई आवश्यक परेको जनशक्ति खोज्न मिल्ने गरी भर्चुअल प्लेटफर्म सुरु गरेको हो । एनसेलले सञ्चालन गरेको अनपज अभियान अन्तर्गत नै सेवा सुरु गरेको हो । एनसेलका प्रमुख कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ ।

भर्चुअल रूपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत् एक– अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ ।’ सुरुवाती अवस्थामा शारीरिक रूपमा काम गर्ने श्रमिक/कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन् । कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएसमार्फत् सन्देश प्राप्त हुने कम्पनीले जनाएको छ ।

कामदार खोजिरहेका व्यक्ति वा संस्थाले पनि आफ्नो आवश्यकता खुलाई प्रोफाइल बनाउनुपर्ने हुन्छ । यो सेवा लिन इच्छुक ग्राहकले एस्ट्रिक्स १७१३७ ह्यास डायल गरी वा एनसेल जबसप डट कम वेबसाइटमा गई दिइएको निर्देशनअनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकता अनुसार यो सेवा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । अनपज अभियान अन्तर्गत एनसेलले यसअघि महिलावर्गलाई लक्षित गर्दै आकर्षक गो सिम योजना ल्याएको थियो ।