भण्टाबारी । कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासन जंगली जनावरकाे आतंक रोक्न उदासीन देखिएको भन्दै कोशी क्षेत्रका सर्वसाधारण आन्दोलित भएका छन् ।
 
मंसिर २९ गते जंगली हात्ती मकुनाको आक्रमणबाट कोशी गाउँपालीका ६ का प्रमोद यादवको मृत्यु भएपछि पनि आरक्ष प्रशासन जनावर आतंक रोक्न गम्भीर नदेखिएको  बताउदै उनीहरू आन्दोलित भएका हुन । बिहानै गहुँबारीमा पानी लगाउने क्रममा हात्ती आक्रमणबाट घटनास्थलमै मृत्यु भएका यादवको पीडित परिवार पोस्टमार्टम गर्न मानेका थिएनन् । जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाईमा पीडित पक्ष र आरक्ष प्रशासनबीच माग सम्बोधन गर्ने सहमति भएपछि उनको अन्त्येष्टि गरिएको थियो ।
 
जंगली जनावर पीडित संघर्ष समितिका संयोजक अधिवक्ता पंचनारायण मण्डलले घटनापछि आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाउदा जायज माग सम्बोधन गरिने आश्वासन पाएपछि मृतकको अन्त्येष्टि गरिएपनि माग सम्बोधन गराउन आरक्ष प्रशासन गम्भीर नदेखिएको बताए ।
 
आफूहरूको माग सम्बोधन गर्न कोशी टप्पु वन्यजन्तु आरक्ष उदासीन देखिएको बताउदै संघर्ष समितिले एक कार्यक्रम गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । कोशी गाउँपालीका स्थित कोशी कटानमा कोशी गाउँपालीकाको अगुवाईमा शनिबार आयोजित कार्यक्रममार्फत जंगली जनावर पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन ।
 
जस्अनुसार संघर्ष समितिले मृतक परिवारलाई क्षतिपूर्ति बापत ५० लाख दिइनुपर्ने देखि निकुञ्ज ऐन संशोधनसम्मका माग राखेका छन् । मृतक परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एकजना सदस्यलाई रोजगारीको ग्यारेन्टी,मृतकको बालबालिकालाई निशुल्क उच्च शिक्षाको व्यवस्था, घाइतेलाई निशुल्क उपचार, जंगली हात्ती मकुना बहुलाएको हुँदा मार्न वा नेल लगाई आरक्ष भित्रै राख्ने प्रवर्द्धन गर्न, जंगली जनावर र मानव द्वन्द रोक्न ५ फिट चौडाइ र १५ फिट अग्लो आरसीसी पर्खाल लगाई नियमित करेन्ट प्रवाह गर्न, उक्त मागहरूमध्ये कतिपय माग सम्बोधन गर्न निकुञ्ज ऐन संशोधन गर्नसहित ९ बुदेमाग राख्दै कोशीबासी आन्दोलित भएका छन् ।
 
संघर्ष समितिले पुस ६ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री,गृहमन्त्री र वनमन्त्रीलाई एकैसाथ ज्ञापनपत्र बुझाउने, सोहीदिन आरक्ष प्रशासन अगाडि धर्ना दिई विरोध प्रदर्शन गर्दै आरक्ष कार्यालयमार्फत विभागमा ज्ञापनपत्रसमेत बुझाउने,पुस ७ गते १ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ८ गते हात्ती आक्रमणबाट मृत्यु भएका प्रमोद यादवको पुण्य तिथिमा श्रद्धाञ्जली सहभागी गर्दै थप आन्दोलनका कार्यक्रम तय गरिने जनाएकाे छ । 
 
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किने गरेको हात्तीसहितका जंगली जनावरको आतंक रोक्न हरसम्भव प्रयास गर्दै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले दाबी गरे ।