धरान । कोशी टप्पु बन्यजन्तु आरक्षको ज्यानमारा हिंश्रक मकुना हात्ती नियन्त्रणकालागि मंगलबार चितवन राष्ट्रिय निकुन्जबाट आउने भएका छन् ।

मकुनाले बर्षेनी ठूलो मात्रामा आरक्ष आसपासका मध्यवर्ती क्षेत्रमा जनधनको क्षति पु¥याएकाले नियन्त्रणकालागि विज्ञ प्राविधिकहरु मंगलबार आइपुग्ने वार्डेन चन्द्रशेखर चौधरीले बताए ।

पछिल्लो समयमा मंसिर २९ गते सुनसरीको कोशी गाउपालिका – ६ का २८ बर्षीय प्रमोद यादवलाई आक्रमण गरी मकुनाले ज्यान लिएको थियो । मकुनाले तीन बर्ष यता १८ जनाको ज्यान लिएको कोशी गाउपालिका अध्यक्ष ऐयुव अन्सारीले बताए । उनकाअनुसार मानवीय क्षति बढी हुन थालेकाले मकुना नियन्त्रणकालागि मंगलबार विहान जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, स्थानीय तहका जनप्रतिनिधि र आरक्षका वार्डेन बीच सर्वपक्षीय छलफल भएको थियो ।

छलफलले मकुना नियन्त्रण गर्ने निष्कर्ष निकाल्दै कानूनी प्रक्रिया अपनाएर मार्ने वा सिक्रीले खुट्टामा बांध्ने भन्नेमा कुरो पुगेको आरक्षका वार्डेन चन्द्र शेखर चौधरीले बताए । उनले भने, ‘चितवनबाट आज आइपुग्ने विज्ञ प्राविधिक टोलीले मकुना बहुलाएको हो वा के भएर बढी मानवीय र धनमालको क्षति पु¥याएको हो अध्ययन अनुसन्धान गरेर अन्तिम निष्कर्ष दिने छन् । सोही अनुसार मकुना नियन्त्रण गर्ने छौं ।’ जिल्ला प्रमुख अधिकारी फडिन्द्रमणी पोखरेले मकुनालाई मार्नै पर्ने जनदवाद अत्यधिक आएकाले सर्वसाधारणको माग अनुसार कानुनी प्रक्रिया अपनाएर नियन्त्रण गर्ने बताए ।