पथरी । मोरङको कानेपोखरी गाउँपालिकाद्धारा गाउँपालिका क्षेत्रका ५ हजार घरपरिवारलाई धनीपुर्जा आगामी जेठ २ गते सम्म वितरण गर्ने तयारी गरेको छ ।
सोमबार भूमि आयोग र गाउँपालिका वीच समझदारीपत्रमा हस्ताक्षर गरी काम गर्ने अधिकार गाउँपालिकालाई दिएको छ ।
गत बैशाखमा गाउँपालिकाले प्रत्येक वडाको घरघरमा पुगि अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको पहिचान गरी विवरण संकलन गरेका थिए ।
प्रत्येक वडाका वडाध्यक्ष र वडा सदस्यहरु टोल बिभाजन गरी घरघरमा पुगि संकलित विवरण गाउँपालिकाले गत जेठ २३ गते ५ हजार ८ घरपरिवार रहेको तथ्याङ् सार्वजानिक गरेको थियो ।
भूमिहिन सुकुम्बासी ९६८ परिवार, भूमिहिन दलित सुकुम्बासी २२६ परिवार, अव्यवस्थीत बसोबास २९८० परिवार र मालपोतमा मोठ कायम नभएको ८३४ परिवार गरी जम्मा ५ हजार ८ परिवार विवरण संकलन गरेका थिए ।
यस अघि गरेको तथ्याङ संकलन भन्दा लगभग ६ हजार भन्दा बढी सुकुम्बासी हुने र भूमि सम्बन्धि समस्या समाधान आयोगको निर्देशन अनुसार तथ्याङ् संकलक तथा समाजिक परिचालक नियुक्ति गरी अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको विवरण संकलन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।
नेपाल सरकारले १ नम्बर प्रदेशमा ५ लाख सुकुम्बासीहरुलाई जग्गा सहित धनीपुर्जा वितरणको तयारी गरेको छ । पहिलो पटक सरकारले १ नम्बर प्रदेशमा ३० वटा स्थानीय तहमा डेंढ लाख सुकुम्बासीको घरपरिवारलाई जग्गा सहित धनिपुर्जा वितरण तयारी गरेको हो ।
अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको पहिचान गरी आगामी जेठ २ गते सम्म जग्गा सहित धनिपुर्जा वितरण गर्ने बारेमा भूमि सम्बन्धि समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी वीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मोरङको कानेपोखरी र मिक्लाजुङ गाउँपालिका, पथरीशनिश्चरे, बेलबारी, लेटाङ, उर्लाबारी र रंगेली नगरपालिका गरी ७ वटा पालिकाले सुकुम्बासीलाई जग्गा सहित धनिपुर्जा वितरण गर्ने अधिकार पाएका छन् ।
त्यसैगरी झापाका कन्काई, गौरदह, शिवसताक्षि, दमक, बुद्धशान्ति, हल्दीबारी, बारादर्शी र कमल गाउँपालिका गरी जम्मा ८ वटा पालिकाले सुकुम्बासीको पहिचान गरी धनिपुर्जा वितरण गर्ने अधिकार पाएका छन् ।
त्यसैगरी, उदयपुरको कटहरी नगरपाकिला, त्रियुगा नगरपालिका, वेलका नगरपालिका,उदयपुर गढी गाउँपालिका र चैदण्डीगढी नगरपालिका, सुनसरीको धनरान उपमहानगरपालिका र बराक्षेत्र नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, इलामको माङसेबुङ गाउँपालिक र इलाम नगरपालिका, पाँचथरकाे हिलिहाँङ गाउँपालिका र ताप्लेजुङको पाथिभरा याङवरेक गाउँपालिकामा गरी जम्मा ३० वटा पालिकामा पहिलो पटक अव्यवस्थीत बसोबास, भूमिहिन सुकुम्बासी र दलित सुकुम्बासीको पहिचान गरी आगामी जेठ २ गते सम्म जग्गा सहित धनिपुर्जा वितरण गर्ने भूमि सम्बन्धि समस्या समाधान आयोगका प्रदेश सदस्य गोपाल गुरागाईले बताए ।
दोस्रो चरणमा प्रदेश १ को तराईका २२ जिल्ला र पहाडको केही जिल्लालाई पनि जग्गा सहित धनिपुर्जा वितरणको तयारी रहेको आयोगका सदस्य गुरागाईले बताए । उनले प्रदेश १ मा ५ लाख घरपरिवारका जम्मा २० लाख जनसंख्याले जग्गा सहित धनिपुर्जा २०७८ साल भित्र पाउने बताए ।