इनरुवा/आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।
सोमबार जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका गिरीतर्फका वकिलहरूको बहस सुनेपछि करणीको ‘अभियोग दाबी नपुग्ने’ भन्दै सफाइ दिइएको हो । २०७६ पुस १० गते नेपाल सरकार वादी भएर दर्ता भएको जबरजस्ती करणीको मुद्दा नम्बर ०७६–०१–०३०४ मा जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सुनुवाइ गर्दै ‘अभियोग दाबी नपुग्ने’ भन्दै सफाइ दिइएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा अभियोग दाबी नपुगेकाले सफाइको आदेश भएको जानकारी दिए ।
सोमबारको फैसलाको क्रममा सरकारी वकिलको तर्फबाट भने बहस भएन । सरकारी वकिल पेशीमा अनुपस्थित रहेका थिए । उक्त मुद्दामा सोमबार तोकिएको पेशी सार्न सरकारी वकिलको कार्यालयले अदालतमा निवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालययको निवेदन दर्ता नगरी अदालतले गिरीलाई सफाइ दिएको बुझिएको छ ।
केही दिनअघि बलात्कार मुद्दामा नै थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वोच्चसम्म मुद्दा पुग्दा जिल्ला सरकारी वकिल कार्यालयबाट मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको र जिल्लामा फिर्ता नआएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । आफूहरूसँग मिसिल नभएकाले पेशी सार्न माग गर्दै पत्र बुझाएको तर, सुनुवाइ नभएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले बताए ।
उनले सोमबारको इजलासमा पत्र बुझाउँदा अदालतले बुझ्न अस्वीकार गरेकोले सरकारी वकिल बहसमा नगएको बताए । सरकारी वकिलको कार्यालयमा मिसिल आएपछि बहस गर्न केही समय माग गरेकोमा अदालतबाट सुनुवाइ नगरी एकतर्फी बहस सुनेर फैसला सुनाइएको सरकारी वकिलको भनाइ छ । अदालत स्रोतका अनुसार पीडित र पीडक भनिएका दुवै पक्षले आफूहरूबीच लामो समयदेखि प्रेमसम्बन्ध रहेको र सोही क्रममा यौन सम्पर्क भएको स्वीकार गरेपछि अदालतले गिरीलाई सफाइ दिएको हो ।