विराटनगर/ प्रदेश १ को राजधानी विराटनगरभित्र निर्मित सडक तीनसाता नबित्दै उप्किएको छ । यसलाई सर्वसाधारणले ‘गुणस्तरहीन कार्यको नमुना’ भनेका छन् ।
विराटनगर–१९ को न्यू विजय निर्माण सेवा प्रालिले सडकको ठेक्का पारेको थियो । विराटनगर–१३ पूर्वाञ्चल बालसेवा आश्रमको उत्तर–दक्षिणतर्फको सडकको कालोपत्रे उप्किन थालेको हो । सङ्घीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरको कुल ५८ लाख ३४ हजार ७ सय १२ रूपैयाँ भ्याट बाहेकको बजेटमा कालोपत्रे बनेको थियो । ‘तिहारमा पिच सम्पन्न भएको घरअगाडिको कालोपत्रे अहिले उप्किन थालेको छ’ विराटनगर–१३ का स्थानीय चन्दन यादवले भने, ‘घरअगाडि पिच छ, मोटरसाइकल स्टेण्ड लगाएर राख्दा धसेर जहिल्यै बाइक नालामा पुगिरहेको हुन्छ ।’
निर्माण सेवाले ३ सय ४ मिटर नालासहित ३ सय ६९ मिटर सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । पूर्वाञ्चल बालसेवा आश्रमदेखि उत्तर–दक्षिणतर्फको करिब २ सय मिटर पिच गरिएको सडकमा कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम भएको हो । सम्झौता पत्रमा ४० एमएमको पिच हुनुपर्ने उल्लेख गरेको छ । तर, बालआश्रमको उत्तर–दक्षिणतर्फको सडकमा ठेकेदार कम्पनीले कम ‘इक्वीपमेण्ट’ प्रयोग गरेकोले कालोपत्रे उप्किन थालेको स्थानीयको गुनासो छ । निर्माण भएको तीनसातामै झार उम्रिन थालेको छ ।
‘कालोपत्रे उप्किएकोबारे यहाँका जनप्रतिनिधिहरूलाई पनि भनिसक्यौं’ उनले भने, ‘अहिलेसम्म सुनुवाइ भएको छैन । निर्माण कम्पनीले अहिलेसम्म मर्मत गर्ने चासो पनि देखाएको छैन ।’ ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर सडक बनाएकाले यस्तो समस्या आएको स्थानीयको भनाइ छ । स्थानीयले साइट हेर्ने इञ्जिनियरसहितका कर्मचारीको मिलेमतोमा अनियमितता गरेको हुनसक्ने आशङ्का गरे । ‘पिच भएको सडक अहिले अनुगमन गर्न सडक विभागका इञ्जिनियर पनि आएको छैन । ठेक्का पाएको निर्माण कम्पनीले कस्तो सडक बनायो हेर्न त आउनुपर्ने हो नि ? अहिलेसम्म एक पटक पनि आएको छैन’ एक स्थानीयले भने, ‘कमसल सामग्री र कम इक्वीपमेण्ट प्रयोग गरेर ठेकेदारसहितका कर्मचारीहरूले अनियमितता गरेको हुनुपर्छ, छानबिन गरिनुपर्छ ।’
२०७६ मङ्सिर ४ गते सम्झौता भई ०७७ वैशाख १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण सेवाले काम थालेको थियो । कोरोना भाइरसको कारणले सम्झौता अवधिमा काम नसकिएको भन्दै ठेकेदार कम्पनीले पुस मसान्तसम्ममा निर्माण सक्ने गरी म्याद थप गरेको थियो । दोस्रो पटक म्याद थप गरिएको समय सीमाभन्दा एक महिनाअगाडि निर्माण सम्पन्न भएको छ ।
सडक विभाग विराटनगरका साइट हेर्ने सव–इञ्जिनियर शेखर सिंहले नाला लड्ने भएकोले रोलिङ राम्रोसँग नभएको सडकको साइटमा कालोपत्रे उप्किन थालेको भेटिएकोले पुनः निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको बताए ।
सडक डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख पशुपति ज्ञवालीले ठेक्का प्रक्रिया अहिले रनिङमा रहेकोले कालोपत्रे उप्किएको सडक पुनः मर्मत गर्न ठेकेदारलाई निर्देशन दिएको बताए । उनले निर्माण सम्पन्न भएको पिच सडकको गुणस्तर परीक्षण गर्न ल्यावमा पनि पठाउने बताए । ‘पिच भएको एक वर्षसम्म सडक बिग्रिएको भेटिए ठेकेदार कम्पनीले पुनः निर्माण गर्नुपर्ने हुन्छ’ उनले भने, ‘यहाँका सडकमा पनि बनाउन निर्देशन दिएको छु ।’
न्यू विजय निर्माण सेवाका प्रोप्राइटर ग्रपसेन साहले काम गर्ने क्रममा सामान्य त्रुटि हुने भएकोले कालोपत्रे उप्किएको ठाउँमा पुनः मर्मत गर्ने बताए । ‘पिच गरिएको सडक राम्रोसँग नबसेको कारणले पनि कहिलेकाहीँ यस्तो समस्या आउने गर्दछ’ उनले भने, ‘समस्या आएको ठाउँमा बनाएर जानेछौं ।’
आधा बढी रकम ठेकेदारलाई निकासा
गुणस्तरहीन सडक निर्माण गरेको आरोप लागेको विराटनगर–१९ स्थित न्यू विजय निर्माण सेवाले ठेक्का पाएको आधाभन्दा बढी रकम भुक्तानी लिएको पाइएको छ । सडक डिभिजन कार्यालय विराटनगरबाट ठेकेदार कम्पनीका प्रोप्राइटर ग्रपसेन साहले विभिन्न मितिमा ३७ लाख ८ हजार ६ सय ७६ रुपैयाँ भ्याटसहित लिएका हुन् ।
साहले मलाय रोड रानी विराटनगर–१३ पूर्वाञ्चल बालसेवा आश्रमको लिङ्क रोड जोड्ने सडक कालोपत्रे गर्न ५८ लाख ३४ हजार ७ सय १२ रूपैयाँ भ्याटबाहेक ठेक्का पाएका थिए । ठेक्का पाएकोमध्ये आधाभन्दा बढी रकम सडक डिभिजन कार्यालयले निकासा गरिदिएको हो । न्यू विजय निर्माण सेवाले निर्माण गरेको सडकमा समस्या आएपछि अहिले भुक्तानी रोक्का गरिएको डिभिजन प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । ‘बाँकी भुक्तानी हामीले रोक्का गरेका छौं’ उनले भने, ‘सडकको ल्याव परीक्षण र समस्या आएको ठाउँमा पुनः निर्माण भएपछि मात्र भुक्तानी दिनेछौं ।’