इटहरी/सवारी चालक अनुमति–पत्र (लाइसेन्स) नखुल्दा नयाँ सवारी खरिद गर्नेहरू समस्यामा परेको गुनासो गरेका छन् ।
कोरोना महामारी सुरु भएयता लाइसेन्सको आवेदन खुल्न सकेको छैन । तर, सवारी खरिदबिक्री भने विगतभन्दा बढेको छ । नयाँ सवारी खरिद गर्नेहरू ट्राफिक जाँचका कारण समस्यामा पर्ने गरेको बताएका हुन् । अन्य कार्यालयहरूका दैनिक कामकाज हुने भए पनि यातायात कार्यालयमा नवीकरणको काम मात्रै भइरहेको छ ।
अहिले इटहरीको यातायात कार्यालयमा दैनिक सयको हाराहारीमा लाइसेन्स कहिले खुल्ने हो भन्दै पर्खाइमा बस्ने गरेका छन् । व्यवसायी गोपाल घिमिरेले निश्चित मापदण्ड अपनाएर लाइसेन्स खोल्न आग्रह गर्छन् । अन्य कार्यालय खुल्ला रहेको अवस्थामा लाइसेन्स कार्यालयमा मात्र कडाइ गरिनुको कुनै औचित्य नभएको बताए ।
इटहरीकै ड्राइभिङ व्यवसायी शिव श्रेष्ठले लाइसेन्स नखोल्दा नयाँ तथा पुराना सवारी किन्नेहरू समस्यामा परेको सुनाए । व्यवसायीहरू समेत समस्यामा परेको भन्दै सुरक्षा मापदण्ड अपनाएर खोल्नुपर्ने उनको माग छ । दशैंअगाडि मोटरसाइकल किनेका इटहरी–१९ का सविन कार्कीले लाइसेन्स नहुँदा ट्राफिकबाट छलिनुपर्ने बाध्यता भएको बताए । ‘अहिले इटहरी, धरान जान पनि समस्या छ’–उनी भन्छन् । इटहरीकै राजेश चौधरीले लाइसेन्स नखुल्दा सधैँजसो ट्राफिक चेकिङमा जरिबाना तिर्नुपर्ने बाध्यता भएको गुनासो गरे । उनले पनि मापदण्ड बनाएर लाइसेन्स खोल्ने व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
कोशी अञ्चल यातायात कार्यालय सवारीका निमित्त प्रमुख प्रेम सापकोटाले सर्वसाधारणहरूको समस्यालाई मध्यनजर गर्दै माघमा लाइसेन्स खोल्ने तयारी गरेको बताए । ‘सुरक्षाको मापदण्ड अपनाएर लाइसेन्स खोल्ने तयारी छौं’–उनले भने । उनले माघबाट लाइसेन्स खोल्ने तयारी भएको सापकोटा बताउँछन् । यतिबेला नवीकरणको मात्रै काम भएकाले कर्मचारी कामविहीन बनेका छन् । अन्यबेला अति व्यस्त हुने कार्यालयमा पर्ने यातायातमा कर्मचारी अहिले घाम तापेर बस्दै आएका छन् । करिब चार दर्जन कर्मचारी कामविहीन बनेका छन् ।