इटहरी/ निर्माण हुन थालेको एक वर्षभन्दा बढी भइसकेको ६ लेन सडक निर्माण सम्पन्न नहुँदा स्थानीय व्यापारी–व्यवसायीले सास्ती खेप्दै आएका छन् ।

बर्खाको समयमा हिलो हुने सडक यतिबेला धुलोले हैरान बनाएको छ । इटहरीका सुशील परियार धुलोका कारण व्यवसायबाटै विस्थापित हुन लागेको गुनासो पोखे । वर्षौंदेखि फुटपाथमा सिलाइ मेसिनको काम गर्दै आएका उनले पछिल्लो एक वर्षयता समस्या भइरहेको गुनासो पोखे । सुशील भन्छन्, ‘सडक ढिलो बन्दा धुलाम्मे भइन्छ, लास्टै तनाव भएको छ ।’ उनी मात्र होइन, फुटपाथमा बसेर सर्ट, पाइण्ट फिटिङ गर्दै आएका अन्यलाई पनि रोजगारीको असर परेको बताउँछन् । ‘इटहरी चोकमा धुलोले बसिसक्नु छैन’–अर्का व्यवसायी आशिष दर्जी भन्छन् । विगत दुई वर्षदेखि सुरु भएको सडक विस्तारसँगै ढल र नाला निर्माणले गति नलिँदा उपमहानगरवासी सुख्खा मौसममा धुलोको पीडा सहन बाध्य छन् ।

मासिक हजारौं भाडा तिरेर व्यवसाय गर्नेहरूको हालत पनि उस्तै छ । विराटनगरको रानीदेखि धरानसम्मको सडकलाई ६ लेन बनाउने काम भइरहेको छ । निजी सवारीदेखि यात्रुवाहक बसहरूलाई समेत धुलोले समस्या भइरहेको इटहरी–१ आँपगाछीका दीपक श्रेष्ठ बताउँछन् । निर्माणाधीन ६ लेन सडकमा अहिले धुलोको समस्या छ ।

धुलो नियन्त्रण गर्न नसकेको बताउँछन् स्थानीय हीरा होटलका सञ्चालक प्रकाश महतो । हाई–वे सडकमा दैनिक पानी लगाउनु पर्ने भए पनि ठेकेदार कम्पनीले नलगाउँदा समस्या भइरहेको उनको बुझाइ छ ।