भद्रपुर/झापाको शिवसताक्षी नगरमा शनिबार राति ९ बजे भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने ३० वर्षीय रमेश बिष्टको बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । ट्राफिक प्रहरीका अनुसारको को २ प ६९७० नम्बरको मोटरसाइकलको ठक्करबाट बिष्ट गम्भीर घाइते भएका थिए ।
उनको साथमा रहेका स्थानीय ईश्वरी तिम्सिना पनि घाइते भएका छन् । बिएन्डसी अस्पतालका अनुसार तिम्सिना खतरामुक्त छन् । विष्ट र तिम्सिना पैदल यात्री हुन् । विपरीत दिशाबाट आएको ट्रकको लाइट जुधेर मोटरसाइकल चालकले पैदलयात्री नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुर्घटना गराउने मोटरसाईकल प्रहरीले नियन्त्रणमा रहेको र चालक शिवसताक्षी ७ का १८ वर्षिय सन्तोष देजालाइ नियन्त्रणमा लिएको उनले जनाए । दुर्घटना सम्बन्धी प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।