भण्टाबारी । विभिन्न समयमा नियन्त्रणमा लिइएका सवारी साधन ‘लिलामको प्रक्रियामा नजाँदा’ कवाडीमा परिणत भएको छ । जसले गर्दा राजस्व गुमिरहेको राजस्वमा कार्यरत अधिकारी बताउँछन् ।
सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा सयौं सवारीसाधन कवाडीमा परिणत भइरहेका छन् । विभिन्न कारणले लिलामी प्रक्रिया अगाडि बढ्न नसकेको राजस्व अधिकारीको भनाइ छ । सुनसरी भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मातहतका चेकपोष्ट, युनिटमा भण्डारण गरेर राखिएका सवारीसाधन जीर्ण बनिरहेका हुन् ।
कयौं सवारीसाधन काम नलाग्ने अवस्थामा पुगेका छन् । जिल्लाका विभिन्न स्थानबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका मोटरसाइकल, पिकअप, अटो, ट्रक, मारुती भेन, कारलगायतका साधन छन् । पछिल्लो पाँचवर्षयतादेखि लिलामी हुन सकेको छैन ।
भन्सारलाई उल्टो टाउको दुखाइ
प्रहरीले नियन्त्रणमा लिएका सयौं सवारीसाधन राख्न वर्षौंदेखि भन्सार तथा प्रहरी कार्यालय परिसरमा स्थान अभाव भएको छ । कतिपय मुद्दा फछ्र्यौटमा ढिलाइ हुँदा सवारी साधनहरू थन्किएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख अर्जुन न्यौपानेले जानकारी दिए । उनले लिलाम नहुँदा भन्सारलाई उल्टो टाउको दुखाइ भएको बताए ।
आपराधिक गतिविधि, दुर्घटना तथा कानूनले वर्जित गरेका कार्यमा संलग्न सवारीसाधनहरू र सोसँग सम्बन्धित मुद्दाको किनारा नलागेको हुँदा कतिपय सवारीसाधनहरू भन्सार र प्रहरी कार्यालयमा थन्किएको बताइएको छ । प्रचलित कानूनबमोजिम जिल्ला अदालतले आफ्नो जिन्सी आम्दानीलाई आवश्यकता अनुसार नगद आम्दानीमा परिणत गर्नका लागि एकैपटक मुद्दा किनारा लागेका सवारी लिलाम प्रक्रिया बढाउने हुँदा सवारीसाधन भन्सार, जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायत मातहतका प्रहरी कार्यालय, चेकपोष्ट र युनिटमा थन्किएका हुन् ।
सवारी ज्यानमुद्दा, लागूऔषध, चोरी–पैठारी, हातहतियार तथा खरखजाना, अपहरणलगायतमा प्रयोग भएका सवारीसाधनहरू बरामद हुने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए । सवारीसाधन थन्किएर बस्ने समयमा निराकरण गर्न जुन अभियोगमा जुन सामग्री वा सवारीसाधन जफतको दाबी आउँछ, त्यस्ताको हकमा तत्काल लिलाम गर्ने, सोही व्यक्तिलाई दिनेलगायतको व्यवस्थासमेत रहेको भन्सार कार्यालयले बताएको छ । मुद्दाको किनारा तथा मूल्याङ्कन गर्न ढिलाइ भएकोले बरामद भएका सवारीसाधन लिलामी गर्न नसकिएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजको भनाइ छ ।
नेपाल सरकारको मेकानिकल इञ्जिनियरले बरामद गरिएका सवारीसाधनको मूल्याङ्कन गरी रकम निर्धारण गरेपछि लिलामी हुने प्रावधान छ । चोरी तस्करीका साथै नेपाली तथा भारतीय नम्बर प्लेट लगाएर नियम उल्लङ्घन गरी गुडाइने सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई बुझाउने गरेको छ । सुनसरी भन्सार कार्यालय परिसरमा ३ सय थान मोटरसाइकल, दुई दर्जन बढी कार, पिकअप, ट्रकलगायत सवारीसाधन थन्किएका छन् । लिलाम नहुँदा राजस्व असुलीसमेत अपेक्षा गरिएअनुसार भएको छैन । सवारीसाधन लिलामी मूल्याङ्कन समितिमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र उद्योग वाणिज्य सङ्घका प्रतिनिधि रहने व्यवस्था छ ।