धरान । उदयपुरको बेलका स्थित सव डिभिजन वन कार्यालयका वन रक्षकको बन्दुकको गोली लागेर मृत्यु भएको छ ।
बुधबार राती वन रक्षक दुहबीका ४० वर्षीय लेखनाथ बास्तोलाको बन्दुकको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
वन रक्षक बास्तोला बुधबार राती जंगलमा गस्ती गर्न गएका थिए । गस्तीका क्रममा फेला परेको लोड गरिएको भरुवा बन्दुक लिएर उनी राति १० बजेतिर कार्यालय फर्किएका थिए ।
वनकै गाडीबाट बन्दुक निकाल्ने क्रममा बेलका नगरपालिका–१ स्थित वन कार्यालयको गेट अगाडि बन्दुक पड्किँदा उनको छातीमा छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त बन्दुक कुन ठाउँमा फेला परेको हो र कसरी घटना भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।