भद्रपुर । भद्रपुरका एक नवदम्पत्तीले विवाह बन्धनमा बाँधिएको दिनको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग र वृद्धवृद्धालाई जाडोको न्यानु कपडा वितरण गरी वैवाहिक जीवनको सुरुवात गरेका छन् ।

 भद्रपुर नगरपालिका ६ का मदनकुमार पोखरेल र कचनकवल गाउँपालिका ६ की  सुस्मिता दाहालले मङ्गलबार यस्तो सहयोग गरेका हुन् ।

बाग्मती सरसफाइ अभियानका अभियन्ता समेत रहेका पोखरेलले विवाहको दोस्रो दिन बुधबार आफ्नै घरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई एक लाख रुपैयाँ र नगर क्षेत्रका एक दर्जन वृद्धवृद्धालाई जाडोको न्यानु कपडा र नगद रकम वितरण गरेका हुन् ।

नवदम्पतीले प्रदेश सांसद वसन्त बानियाँलाई धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको एक लाखको चेक हस्तान्तरण गरेका थिए । सो रकम सांसद बानियाँले फाउन्डेसनको खातामा पठाइदिने बताइएको छ ।

साथै नवदम्पत्तीले भद्रपुरका १०२ वर्षीय वृद्धा सुभद्रा कार्कीसहित एक दर्जन वृद्धवृद्धालाई जाडोमा लगाउने टोपी, ओढनेसहित नगद रकम वितरण गरेका थिए । वैवाहिक कार्यक्रममा बोलाएर सहयोग गरेको भन्दै वृद्धवृद्धाहरुले नवदम्पतीलाई आर्सीवाद दिँदै सफल दम्पती जीवनको शुभकामना समेत दिएका थिए ।

नेपाल फर्किएपछि देशमै केही सामाजिक कार्य गर्नुपर्छ ठानेर विगत लामो समयदेखि बाग्मती सरसफाइ अभियानमा लागेर फोहोर टिप्ने काममा व्यस्त भएको उनले बताए ।

नागरिक स्तरबाटै धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिका १५ मा गौतम बुद्ध नमुना क्रिकेट रङ्गशाला निर्माण गरिरहेकोले वैवाहिक जीवनको विशेष अवसरमा सो रकम प्रदान गरिएको उनले बताए ।

सामाजिक अभियन्ताको हैसियतले समाजमा केही गर्नुपर्छ भावना बोकेर ज्येष्ठ नागरिकका लागि जिल्लामै उत्कृष्ट मनोरञ्जन पार्क भविष्यमा बनाउने सङ्कल्प गरेको उनले धारण समेत व्यक्त गरे ।

अभियन्ता पोखरेलसहित उनका बुबा नेत्रप्रसाद र आमा बिकुरादेवी पोखरेलले यसअघि कोरोना भाइरसको महामारीपछि लगाइएको लकडाउनको समयमा विपन्न परिवारजनलाई खाद्यान्न सामग्री समेत वितरण गरेका थिए ।