भण्टाबारी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ मा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोकिँदा एकजना बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

बुधबार बिहान को ११ प १२०० नम्बरको मोटरसाइकल र ट्याक्टर ठोकिँदा मोटरसाइकलमा सवार १० वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा सरफराज अन्सारीको १० वर्षीया छोरी रेहना प्रवीणको मृत्यु भएको हो भने मोटरसाइकलमै सवार १२ वर्षीया रुकसार खातुन र ७ वर्षका बालक सफिन अन्सारी गम्भीर घाइते भएका छन् । घाइतेहरुको इनरुवामा उपचार सम्भव नभएपछि थप उपचारको लागि बिराटनगरको गोल्डेन हस्पिटल लगिएको बताइएको छ ।

ठक्कर दिने ट्याक्टर भागेको हुनाले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।