भद्रपुर/ जिल्ला सदरमुकाम जोड्ने करिब ३ सय मिटर निर्माणाधीन सडक मापदण्ड विपरीत निर्माण भएको भन्दै स्थानीयले कालोझण्डा गाडेर विरोध प्रदर्शन गरेका छन् । मेची राजमार्गको चाराआली–केचना सडक–खण्डअन्तर्गत भद्रपुरस्थित चन्द्रगढी बजारको कृषि विकास बैङ्क अगाडिदेखि ट्रेड युनियन चोकसम्मको निर्माणाधीन सडक मापदण्ड विपरीत भएको भन्दै विरोध जनाएका हुन् ।
स्वतूस्फूर्त सयौँको सङ्ख्यामा निस्किएका स्थानीयले मौन जुलुसमार्फत् अविलम्ब सो सडक मापदण्डअनुसार बन्नुपर्ने एक बुँदे माग अघि सारेका थिए ।
हाल सडकको दुवैतर्फ नाला बनाउने काम चलिरहेको छ तर, सो बाटो सडक ऐन २०३१ को मापदण्डअनुसार विस्तार नगरिएको भन्दै स्थानीयले यसअघि सम्बन्धित निकायमा लिखित ज्ञापन–पत्र बुझाए पनि सुनुवाइ नभएकाले कालोझण्डा गाडेर विरोध प्रदर्शन गरिएको स्थानीय किशोर कोइरालाले जानकारी दिए ।
नाला निर्माण प्रक्रिया तुरुन्त बन्द गरी मापदण्डअनुसार सडक विस्तारका लागि ठाउँ खाली गर्नुपर्ने उनको माग छ । माग सम्बोधन नभए न्यायका लागि स्थानीयवासी कडा सङ्घर्षमा उत्रिन बाध्य हुने उनले जनाए ।
चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्यअन्तर्गत ० देखि २० किलोमिटर सडक निर्माणको ठेक्का कालिका, कन्काई र याक्थुङ्हाङ जेभीले २०७३ साल असोज १७ गते ३० महिनामा काम सक्ने गरी सम्झौता गरेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।
हुलाकीले सडक विस्तार गर्दा दायाँ–बायाँ १५–१५ मिटर र थप ६–६ मिटर साइड ब्याक अप हुनुपर्छ भनी राजपत्रमै सूचना प्रकाशित गरिसकेको छ । जनप्रतिनिधि र स्थानीयको घर, पसल भत्किने भएकोले खुम्च्याएर सडक निर्माण गर्न खोजिएको स्थानीयको दाबी छ ।
सडक बन्ने भएपछि घरेलु तथा साना उद्योग कार्यालय, पूर्वाधार विकास कार्यालय, विद्युत् प्राधिकरण, कृषि विकास बैङ्कले आफ्नो जमिन खाली गराइसकेका छन् । तर, जिल्ला समन्वय समिति झापा, जिल्ला सहकारी सङ्घको सटर पसल र अन्य व्यक्तिले भने ठाउँ खाली गरेका छैनन् । अहिले निर्माण भइरहेको सडक १० मिटर बन्न लागेको छ ।
ट्रेड युनियन चोकदेखि एसपी मोडसम्मको सडक नै १४ मिटरको बनेको छ । काम सुरु गराउनुअघि नै भद्रपुर नगरपालिकालाई पटक– पटक पत्राचार गरी ठाउँ खाली गराइदिन आग्रह गरिसकिएको सव–इञ्जिनियर सीताराम मण्डलले जानकारी दिए । नगरपालिकाले ठाउँ खाली नगराएपछि टेण्डरमा लागेको प्रक्रियाअनुसार सडक विस्तारको काम सुरु गरेको उनले बताए ।