भद्रपुर । सीमा सुरक्षा लगायत आपराधिक कृयाकलाप नियन्त्रणका लागि झापाका एक उद्योगीले अस्थायी रूपमा बस्नका लागि सशस्त्र प्रहरीलाइ भवन उपलब्ध गराएका छन् ।
झापा मेचीनगर १५ स्थित ज्यामिरगढी बिओपीलाई वैभव टीस्टेटको परिसरमा रहेको ६ कोठे भवन उद्योगी प्रदीप मित्तलले उपलब्ध गराएका हुन् । उपलब्ध भवनको बिहीबार प्रदेश १ का डिआइजी वंशीराज दाहालले उद्घाटन गरेका छन् । हाललाइ जग्गा प्राप्ति नभइरहेको अवस्थामा अस्थायी बसोबासका लागि उद्योगी मित्तलले भवन उपलब्ध गराएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रमेशकुमार पाण्डेले बताए । झापाका सीमा क्षेत्रमा क्रमश बिओपी स्थापना गर्दै लैजाने भएकोले अस्थायी रूपमा नै भए पनि पोष्ट स्थापना गरिएको उनको भनाइ छ ।
केही दिनअघि झापाको कचनकवल–५ स्थित पाठामारीमा १० औं बिओपी उद्घाटन भइसकेको उनले जनाए । यो ११ औँ बिओपी भएको उनको भनाइ छ । सीमा अतिक्रमण रोक्नुका साथै सीमा सुरक्षालाई थप बलियो बनाउने उद्देश्य राखेर स्थापनालाई तीव्र बनाइएको डिआइजी दाहालले बताए । यसवर्ष झापासहित प्रदेश १ मा २२ वटा बिओपी स्थापना गर्नु पर्नेमा बिहीबारसम्म ७ वटा स्थापना भइसकेको र शुक्रबार इलाममा थप एउटा बिओपी स्थापना हुने उनले बताए ।
१४४ दशमलव २ किलोमिटर खुल्ला सीमा क्षेत्रमा साविकका ९ सहित १८ वटा बिओपी यसवर्ष स्थापना गरिने उनले जनाए । हाल सशस्त्र प्रहरीका बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर, केचना, घेराबारी, भागडुब्बा, कुञ्जीबारी, गौरीगञ्ज र टाघनडुब्बामा बिओपी स्थापना भइसकेका छन् । यो वर्ष प्रहरीले तिरिङ, नकलबन्धा, सतीघट्टा, ज्यामिरगढी, भद्रपुर, महेशपुर, पाठामारी, पन्थापाडा र आँपगाछीमा स्थापना गर्दैछ । जसअनुसार पाठामारी र ज्यामिरगढीमा उद्घाटन भइसकेका छन् ।