भद्रपुर/ धन भएर के गर्नु मन नभएपछि । जीवनमा धन सबैले कमाउँछन् तर, मन छैन भने धनको कुनै मतलव हुँदैन । पुर्खाको सम्पत्ति नभए पनि जे छ, त्योमध्ये थोरै दान गरेँ, यो भनाइ हो, झापाको भद्रपुर–३ स्थित मेचीपारि स्कुल डाँडाका मोहन महतोको ।
उनका पुर्खासमेत यही गाउँमा रहेको उनी सम्झन्छन् । बाटो थिएन, दिउँसै चौपाया चोरी हुने, लुटपाट हुने प्रहरी प्रशासनको उपस्थिति नभएको यस्तो डरलाग्दो गाउँमा जीवन निर्वाह गर्दै आइरहेको उनी बताउँछन् । भौतिक पूर्वाधारको अभावले गर्दा नेपाली भए पनि सबै भारतीय बजारको भर पर्नुपर्ने भएकोले उनीहरूले जे गरे पनि सहनुभन्दा अन्य विकल्प नभएको उनी बताउँछन् । ‘दैनिकी यसरी नै चलिरहेको अवस्थामा जब ६ महिनाअघि विश्वभर फैलिएको कोरोना भइरसका कारण नेपाल– भारत आवत–जावत बन्द भयो, यो गाउँको मुहार नै फेरियो’–उनले भने ।
सीमा नाका सुरक्षाको लागि सो गाउँमा सशस्त्र प्रहरी बलको उपस्थिति भएपछि उनीमात्र होइन, त्यो गाउँमा नै सुरक्षाको अनुभूति भएको उनी सुनाउँछन् । सोही गाउँमा सञ्चालनमा आएको मेची आधारभूत विद्यालय कोरोनाका कारण बन्द भएपछि सोही विद्यालयमा रहने गरी सशस्त्र प्रहरीको एक टोली आएको उनको भनाइ छ । टोलीलाई फिर्ता जान नदिन केही मान्छे लागिपरे भने केहीले यहाँ राख्न उचित नहुने तर्क गरेको उनी सुनाउँछन् । सशस्त्र प्रहरीलाई जग्गा दिएर यहीँ स्थापना गराउने स्थानीयसहित प्रहरी टोली र जनप्रतिनिधिको भेला बसेको थियो । राख्ने नराख्ने विषयमा खासखुससमेत चलेको एक स्थानीयले बताए । अवैध कारोबार गर्नेलाई प्रहरी घाँडो भएको छ भने अन्यलाई प्रहरी बसेकोमा खुसी लागेको उनीहरूको भनाइ छ ।
भेलामा कसैले जग्गा दिने छाँटकाँट नगरेपछि बुबाको नाममा रहेको जग्गामध्ये ४ कठ्ठा आफूले प्रहरीलाई दिने भेलामा घोषणा गरेको उनले सुनाए । घर सल्लाहपछि हाल जग्गा प्रहरीलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको उनले सुनाए । छिमेकीले चार कठ्ठाका जग्गा दिने थाहा पाएपछि मैले पनि एक कठ्ठा दिने घोषणा गरेको कप्लेश्वर महतोले बताए । सिमाना मिल्ने भएकोले थोरै भए पनि निःशुल्क जग्गा दिएको उनको भनाइ छ । अहिलेको समयमा सशस्त्र प्रहरीको ठूलो आवश्यकता ठानेर जग्गा उपलब्ध गराएको उनीहरू बताउँछन् ।
जग्गा नभएका कारण सशस्त्र प्रहरीको बिजोक देखेर स्थानीय दुई जनाले दया गरेको प्रस्तावित महेशपुर बिओपीका सइ युवराज राउतले बताए । २०७६ फागुनदेखि स्कुलको जग्गामा बस्दै आइरहेको उनले जनाए । धान पाक्नै लागेकोले अबको केही महिनाभित्र अस्थायी भवन बनाएर त्यहाँ जाने उनले बताए । महेशपुरले हाल भारत किशनगञ्ज निमुगुडी १०३ सीमा स्तम्भदेखि कुर्लिकोट १०६ नम्बर स्तम्भसम्म हेर्दै आइरहेको उनले जनाए ।
स्थानीयले जग्गा दिने भएपछि वडामार्फत् भद्रपुर नगरपालिकामा प्र्रक्रिया अघि बढाएको सशस्त्र प्रहरी गण नम्बर २ झापाका एसपी रमेशकुमार पाण्डेले बताए । उपलब्ध गराएको जग्गाको सिमानामा ३ बिघा शिव मन्दिरको नाममा रहेकोले भविष्यमा सो क्षेत्र पनि आवश्यक पर्ने उनले बताए । हाल १७ जना रहँदै आएकोमा बिओपी खडा भइसकेपछि विभागको नियमअनुसार प्रहरी थप गरिने उनले जनाए । यो वर्ष झापामा ९ वटा बिओपी स्थापना गर्ने विभागको अभियान अन्तर्गत जग्गा खोजीको चरणमा रहेको उनले जनाए । सीमाक्षेत्रमा जग्गा निःशुल्क उपलब्ध गराइदिन उनले सबैलाई अनुरोधसमेत गरेका छन् ।