बिर्तामोड/ नेपालका प्रमुख शहरमा फोहोर व्यवस्थापन मुख्य चुनौती हुने गरेको छ । फोहोर व्यवस्थापन गर्ने स्थानको बारेमा हुने गरेका विवादका कारण थुप्रै शहरमा अहिले पनि फोहोर उठ्न सकेको छैन । तर, झापामै यस्तो नगर छ, त्यहाँ फोहोर व्यवस्थापनका लागि बिवाद त के स्थानीयले सहजै फोहोर फाल्न पाएका छन् । अर्जुनधारा नगरपालिकाले झापामा उदाहरणीय रूपमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि १२ जना कर्मचारी परिचालन गरेको छ । उनीहरूलाई फोहोर व्यवस्थापनका लागि एउटा टिपर र ट्याक्टर उपलब्ध गराइएको छ । बिहान सबेरैदेखि फोहोर व्यवस्थापन टोली आफ्नो काममा सक्रिय हुने गरेको प्रमुख माधव भण्डारी बताउँछन् । शनिश्चरे, खुदुनाबारी, नयाँ बसपार्क नगरपालिकामा धेरै फोहोर उत्पादन गर्ने स्थान हुन् । नगरमा उत्पादित फोहोरलाई नगरकै वडानम्बर ५ मा रहेको ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गर्ने गरिएको भण्डारी बताउँछन् ।

अन्य स्थानको तुलनामा नगरको शनिश्चरे बजारमा फोहोर व्यवस्थापन चुनौती रहेको भण्डारी बताउँछन् । ‘यहाँका मान्छे नै सचेत नभएको जस्तो लागेको छ, जथाभावी फोहोर फ्याल्छन्, भनेर पनि लागेन, अब चाहिँ यसलाई कडाइका साथ नियन्त्रण नगरी भएन’ भण्डारीले भने, ‘बजारमा क्यामेरा र डष्टबीन थप गर्यो भने यो नियन्त्रण हुन सक्छ ।’ भण्डारीले अर्जुनधारा नगरले व्यवस्थापन गर्दै आएको तर बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कलाई पनि फोहोर व्यवस्थापनमा उत्कृष्ट बनाएको दाबी गरेका छन् ।

झापामा केही नगरले ‘फोहोरबाट मोहर’ बनाउने भन्दै उपकरण राख्ने प्रक्रिया शुरु गरिसकेका छन् । अर्जुनधारा नगरपालिकाले पनि बिर्तामोड र कनकाई नगरपालिकासँगको सहकार्यमा कनकाई नगरपालिकामा फोहोरबाट वैकल्पिक ऊर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गर्न लागेको छ । वैकल्पिक ऊर्जा उत्पादन गर्नका लागि भौतिक संरचना निर्माणकै चरणमा रहेको यो समयमा उत्कृष्ट ढङ्गले फोहोर व्यवस्थापन गरिरहेको नगरप्रमुख हरिकुमार राना बताउँछन् । ‘यो नगरमा फोहोरले दुर्गन्ध फैलिएको भनेर कुनै गुनासो आएको छैन’ नगरप्रमुख रानाले भने, ‘व्यवस्थापनमा भूमिका खेल्ने कर्मचारीको लगनशीलताले यो सम्भव भएको हो ।’ सो संरचना निर्माण भएपछि नगरमा उत्पादित सड्ने फोहोर त्यस प्लाण्टमा लगिने भएको छ ।

फोहोर व्यवस्थापनमा निरन्तर सक्रिय भएका कारण यस नगरमा नाक थुनेर हिँड्नु पर्ने अवस्था नभएको स्थानीयको भनाइ छ । नगरको मुख्य बजार शनिश्चरेमा रहेको ढल सरसफाइ गरेपछि अहिले दुर्गन्ध हटेको छ । सो स्थानमा ढलको निकास बनाउन सकियो भने विगतमा भोग्दै आएको दुर्गन्धको समस्या सधैँको लागि समाधान हुने भण्डारीले बताए ।

सरसफाइको दृष्टिले अन्य नगरपालिकाभन्दा सहज भएकाले अर्जुनधाराको फोहोर उत्कृष्ट ढङ्गले व्यवस्थापन हुन सकेको सरसफाइ अभियन्ता विष्णु आचार्यले टिप्पणी गरे । अझै पनि डष्टबीनमा फोहोर फाल्नु पर्छ भनेर सचेत बनाउन आवश्यक रहेको उनले बताए । स्थानीयले सडकमा फोहोर फ्यालेर शहरको सुन्दरता बिगारेको आरोप उनको थियो । आचार्यले सरोकारवाला सचेत भएर फोहोर व्यवस्थापनमा एकजुट हुनुपर्ने बताए ।