विजयपुर । भदौ २२ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी सुनिहाङ्गमा लिम्बूको परिवारले दोषी पत्ता लगाउन माग गरेको छ ।
परिवारका तर्फबाट सुनिहाङ्माका ससुरा भीम माबो र मुजोतलुङ थाकथाकु माबोहाङका अध्यक्ष धनबहादुर माबोले विज्ञप्ती जारी गर्दै घटना प्रचार भए भन्दा फरक हुन सक्ने भन्दै गम्भीर अनुसन्धान गरेर दोषी पत्ता लगाउन माग गरेका हुन् । सुनिहाङ्गमाका श्रीमान आइत माबोको फेसबुक आइडी लगइन गरि अरु कसैले उनलाई नग्न तस्विर मागेर ब्लाकमेल गरेका कारण सुनिहाङ्गमा आत्महत्या गर्न बाध्य भएको भन्दै विज्ञप्तीमा त्यसरी लगइन गर्ने व्यक्ति पत्ता लगाएर कारबाही गर्न माग गरिएको छ ।
आइतको फेसबुक लगइन गरेर नग्न तस्विर मागिए पछि आईत, सुनिहाङ्मा र उनका मामा श्रीमान कुरुफाङको सल्लाहमा सिंगापुरमा निवेदन समेत दिइएको विज्ञप्तीमा उल्लेख छ । मृतकका मामालाई घट्नाको विषयमा धेरै जानकारी भएकोले दोषी पत्ता लगाउन सहयोग गर्न समेत आग्रह गरिएको छ ।
विज्ञप्तीमा घट्नापछि माइती पक्षले आफुहरुलाई हत्या गरेको गलत आरोप लगाउने र कुप्रचार गर्ने कार्य निरन्तर भएको भन्दै आरोप लगाईपनि घटना भएका बेला आमाजुहरु सञ्जु माबो र बिमला माबो आ–आफ्नै घरमा रहेको जनाइएको छ ।
माइती पक्षले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि घटनाको वास्तविकता बाहिर आउँछ भनेर सहयोग गरेको तर माइती पक्षले एकोहोरो आरोप लगाएकाले घट्नाको वास्तविकता बाहिर आउन समस्या भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा बुहारीको मृत्युको कारण पत्ता लगाउन सत्यतथ्य अनुसन्धान लागि आवश्यक सहयोग गर्ने वताइएको छ ।
