उर्लाबारी/उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले दमक–४ ताराबारीमा सञ्चालित बहुप्राविधिक शिक्षालयका लेखा तथा प्रशासन अधिकृत मुक्तिनाथ दाहालको देह त्यागका विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
प्रतिष्ठानको बिहीबार र शुक्रबार भएको कार्यसमितिले बैठकले घटनाको सत्यतथ्य कारण पत्ता लगाउन निवर्तमान राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीसहित प्रतिष्ठानका उपाध्यक्ष सुमित्रा भण्डारी, कानुन व्यवसायी नारायण वस्ती, लेखा संंयोजक खोमप्रसाद बगाले, पूर्व लेखा संयोजक सोम निरौला र मृतकका दाजु भोला दाहाल रहेका छन् ।
समितिले १५ दिनभित्र छानबिन गरी प्रतिवेदन कार्य समितिमा पेश गर्ने बैठकले निर्णय गरेको छ । यस्तै बैठकले घटनाको छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि कार्यकारी निर्देशक बिनोद अर्याललाई कार्यालयको काम कारबाही नगर्न निर्देशन दिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले दाहालको देह त्यागको वास्तविक सत्यतथ्य पत्ता लगाउन र उनको परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई सहयोग गर्न प्रतिष्ठान कार्यसमिति र प्रतिष्ठान परिवार प्रतिबद्ध भएर लाग्ने निर्णय गरेको छ ।
बैठकले मृतक दाहालकी श्रीमती शान्ता अधिकारी दाहाललाई प्रतिष्ठानको सेवामा स्थायित्व र छोराहरू इशान र श्रेयन दाहालको स्नातकोत्तर तहसम्मको अध्ययनलाई निरन्तरता दिन प्रतिष्ठानले अभिभावकत्व ग्रहण गर्ने उल्लेख गरेको छ । बैठकले गत असोज २० गते प्रतिष्ठानका अध्यक्ष बराल मृतक दाहालको निजी निवासमा समवेदना प्रकट गर्न र अत्येष्टिमा सहभागी हुन पुगेको अवस्थामा अवाञ्छित तŒवबाट भएको भौतिक आक्रमणको निन्दा एवम् भत्सर्ना समेत गरेको छ ।
दाहालले गत असोज १९ गते शिक्षालय भित्रै भुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रतिष्ठानद्वारा जारी विज्ञप्तिका विषयमा परिवारजनले अहिले नै केही प्रतिक्रिया नजनाउने बताएका छन् भने प्रतिष्ठान कार्य समितिका सहसचिव अग्निप्रसाद भट्टराईले पीडित परिवारको भावना विपरीत र यसअघि भएको सम्झौतालाई कार्यान्वयन हुन आवश्यक भएको बताएका छन् ।