बेलबारी/मोरङको केराबारी नगरपालिका–९ का ९१ वर्षीय टेकबहादुर थापालाई दैनिकी बिताउन सहज हुन थालेको छ । आफू दामलका साथीसङ्गीसँग ‘देउराली चौतारो’ मा गफिँदै आनन्द लिन थालेका छन् ।
थापाले दश वर्षअघि यही चौतारोलाई व्यवस्थित बनाउन लागि परेका थिए । अहिले उनका उमेरका साथीसङ्गीलाई दिन काट्ने मेलो बनेको छ । केराबारी बजारको एक कुनामा रहेको देउराली चौतारो ‘बूढापाका’ को गफिने थलो बनेको छ । निकै वर्ष अगाडि बनेको चौतारो जीर्ण बनेपछि २०६७ सालमा थापालगायत चार जना ज्येष्ठ नागरिकले त्यसको मर्मत सम्भार गरे । अहिले मन बहलाउने मेलो बनेकोमा उनी खुसी छन् ।
थापासँगै युवराज नेपाल, रामप्रसाद अधिकारी र शोकबहादुर श्रेष्ठले मिलेर स्तरोन्नति गरेका हुन् । जसमध्ये रामप्रसाद र शोकबहादुर बितिसकेका छन् भने युवराज ९५ वर्षका भए । ब्लाष्टकर्मी पुग्दा युवराज गीताका श्लोकहरू वाचन गरिरहेका थिए भने केही सुन्नमा व्यस्त थिए । चौतारोमा भेला हुनेमध्ये ज्येष्ठ रहेका नेपालले भने, ‘म १६ वर्षदेखि नियमित रूपमा यो चौतारोमा आइरहेको छु, चौतारोमा भेला भएर साथीहरूसँग गफगाफ नगरी घरमै बस्ने कुरा कल्पनै गर्न सक्दिन ।’
उनले थपे, ‘बिहान एक फन्को बजार घुम्छु अनि दिनभरि चौतारो मै हुन्छु ।’ केराबारी–८ का त्रैलोक्यनाथ ढकाल ९० वर्ष पार गरिसकेका छन् । उनी २०५० सालमा पाँचथरबाट केराबारी बसाइँ सरेर आएका हुन् । केराबारी आएदेखि नियमित चौतारोमा आउनेमध्येका उनी पनि एक हुन् । उनले भने, ‘यहाँको सितलताले लोभ्याउछ, कहिलेकाहीँ साथीहरू आई नपुगेको अवस्थामा एक्लै भए पनि केही समय चौतारोमा बिताउँछु ।’
दैनिक रूपमा करिब दशपन्ध्र जना चौतारोमा भेला हुन्छन् । गफिन्छन् । चौतारो खदम खोलाको छेउमा रहेकाले चिसो हावा शरीरमा छुँदै बाहिरिन्छ । केराबारी १० का ८१ वर्षीय महेन्द्र देवानको दिनचर्या पनि यही चौतारोमा नआई बित्दैन । चौतारोमा ७८ वर्षीय पारस तामाङ र धर्मानन्द पौडेल पनि ५१ सालदेखि नियमित गफिँदै आएका छन् ।
वृद्धवृद्धालाई छुट्टै भवन
केराबारी–८ मा वृद्धवृद्धाका लागि छुट्टै भवन बनेको छ । करिब ६० लाखको लागतमा केराबारी गाँउपालिका, स्थानीय चन्दादाताहरू र प्रदेश सरकारको सहयोगमा भवन बनेको हो । केराबारी गाँउपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीका अनुसार वृद्धवृद्धाका लागि धार्मिक सांस्कृतिक तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत गर्न मिल्नेगरीको एक तले पक्की भवन बनाइएको छ । उक्त भवन दशैंपछि सञ्चालनमा आउने अध्यक्ष कार्कीले बताए । उनले आफ्नै निजी खर्चमा एक वर्षसम्म चियानास्ताको व्यवस्था पनि गरिदिने बताए ।