कोरोना महामारीले विश्व नै आक्रान्त छ । त्यसैमध्ये शैक्षिक क्षेत्र पनि अस्तव्यस्त बनेको छ । सरकारले असोज १ गतेबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गर्यो तर, महामारी फैलिइरहेकाले विद्यालय खुल्न सक्ने अवस्था छैन । लामो समयको लकडाउनले शैक्षिक क्षेत्रमा के कस्तो प्रभाव पार्यो ? निजी विद्यालयहरूको अवस्था के छ ? जस्ता प्रश्नहरूको उत्तर खोज्न ब्लाष्टले धरान–१६ स्थित सियोन स्कुलका निर्देशक खड्गबहादुर थापा मगरसँग गरेको कुराकानीको अंश :

शिक्षण क्षेत्रका लागि लकडाउनको अवस्था कस्तो थियो र कसरी अघि बढ्दै हुनुहुन्छ ?
– विश्वव्यापी महामारीका कारण शैक्षिक क्षेत्र मात्र होइन, सम्पूर्ण क्षेत्रमा नै ठूलो असर गरेको छ । हामी शैक्षिक क्षेत्रमा भएकोले स्कुल, शिक्षक, विद्यार्थी र अभिभावकका लागि पनि चुनौतीपूर्ण नै छ । यो ठूलो नोक्सानीको वर्षभन्दा फरक नपर्ला । वैशाखमा नयाँ शैक्षिक वर्ष सुरू हुनुपर्ने थियो । तर, ठीक एक महिनाअघिदेखि लकडाउन सुरू भयो । भदौसम्म केही गर्न सकिएन । तर, हामीले जेठबाट नै विद्यार्थीमा अध्ययन गर्ने बानी नबिग्रियोस् भन्नका लागि निःशुल्क रुपमा कम्तिमा २ घण्टा भए पनि अनलाइन कक्षा सञ्चालन गरेका थियौं । असोज १ बाट सरकारले नै वैकल्पिक माध्यमबाट अध्ययन सुरू गर्नू भनेपछि विधिवत् रुपमा कोर्स अगाडि बढाएका हांै । हरेक दिन शिक्षकहरुले ४ वटा विषय अध्यापन गराउनुहुन्छ । होमवर्कहरु दिनुहुन्छ । अभिभावकहरुले हप्तामा १ दिन सम्पूर्ण हप्ताभरिको होमवर्क जम्मा गरेर बुझाउन आउनुहुन्छ । यसरी हामीले नयाँ शैक्षिक वर्षलाई उठाउने प्रयास गरेका छौं ।

लकडाउनले निजी शैक्षिक क्षेत्रमा के कस्तो असर पर्यो ? तपार्इंको विद्यालयले के कस्तो समस्याको सामना गर्नुपर्यो ?
– आर्थिक पक्षको कुरा गर्दा चैत ११ गतेबाट लकडाउन सुरू भयो, जुन विद्यालयमा कतिपय अभिभावकहरुले वर्षभरिको बुझाउनु पर्ने बाँकी फि पनि चैत अन्तमा बुझाउनुहुन्थ्यो । वैशाख त नयाँ शैक्षिक वर्ष नै थियो, वार्षिक शुल्क, मासिक शुल्क यसैबाट नै निजी विद्यालय सञ्चालित हुन्छ । बैङ्कको ब्याज, शिक्षकहरुको तलबलगायतको खर्च चलेको हुन्छ ।

वर्षको अन्तमा सम्पूर्ण योजना तथा खर्च मिलान गर्नुपर्ने हुन्थ्यो तर, त्यो हुन पाएन । जसले गर्दा स्कुलले धेरै नोक्सानी बेहोर्नु पर्ने भयो । हामीलाई बैङ्कहरुले पनि छुट दिएनन् । गतवर्षको पाउन बाँकी फि पनि हामीले माग्न सकिरहेका छैनांै । जसकारण स्कुलका कर्मचारी, शिक्षकहरुलाई पनि हामीले तलब खुवाउन सकेनौं । स्कुलको तलबले धानेको शिक्षक, कर्मचारी परिवारमा पनि त्यसको असर प¥यो । शैक्षिक रुपमा विद्यार्थीहरुको पठन–पाठनमा ठूलो असर ग¥यो । तल्लो कक्षाबाट पासआउट भएका विद्यार्थीहरु माथिल्ला कक्षामा गएर अध्ययन गर्न पाएका छैनन् । कक्षा सञ्चालन नहुनाले विद्यार्थीहरुमा पढ्ने बानी हराउन थालेको छ ।

अनलाइन कक्षाको प्रभावकारिता कतिको छ ? तपाईंका कति विद्यार्थीहरू कक्षा लिइरहेका छन् ?
– नेपालका लागि अनलाइन कक्षा नयाँ विषय हो । विद्युत्, इन्टरनेट र विद्यार्थीले प्रयोग गर्ने डिभाइसका कारण धेरै असहजता छ । तथापि पछिल्लो समय सहरबजारमा केही सहजता देखिन्छ तर, त्यो पूर्ण भने होइन । जेठबाट हामीले हरेक अभिभावकलाई अनलाइन कक्षा सञ्चालन गरेको जानकारी गरायौं । कतिले शुल्क लिनका लागि हो कि भन्ने शङ्का गर्नुभयो तर, हामीले भदौसम्म हाम्रा विद्यार्थीहरुमा अध्ययनशीलता नहराओस् भन्नका लागि निःशुल्क कक्षा सञ्चालन गर्यौं । सरकारले वैकल्पिक अध्ययनका लागि ५ वटा विकल्प अपनाउन भने पनि रेडियो, टेलिभिजनमा पढाएर विद्यार्थीको अवस्था थाहा हुन्न रहेछ । अनलाइन कक्षामा कति विद्यार्थी सहभागी छन्, के गर्दै छन्, हामीले पढाएको बुझिरहेका छन् कि छैनन् भन्नका लागि प्रत्यक्ष देखिने र प्रश्न गरेर उत्तर लिन सकिन्छ । जुन रेडियो, टेलिभिजनमा सम्भव हुँदैन । हाम्रा ८० प्रतिशत विद्यार्थीले अनलाइन कक्षाबाट अध्ययन गरिरहेका छन् । दैनिक हाजिरी हुन्छ । होमवर्क दिने गरिन्छ । अभिभावकहरु पनि उत्साहित भएर हप्तैपिच्छे होमवर्क बुझाउन आउनुहुन्छ । तर, हामीसँग २० प्रतिशत विद्यार्थी सम्पर्कमा हुनुहुन्न । सरकारले कक्षा चलाउन यही माध्यम तोकिदिएको छ ।

अभिभावकहरूसँग समन्वयन कसरी गरिरहनुभएको छ ? विभिन्न विद्यालयहरूले फि पनि मागिरहनुभएको छ, तपाईंहरूकोमा के छ ?
– पहिलाको जस्तो समय होइन, सेमिनार गरेर अभिभावकसँग भेटघाट गर्ने अवस्था छैन । अनि हरेक अभिभावकका लागि अफिसबाट एकैजनाले फोन गरेर सम्पर्क गर्न सम्भव पनि छैन । त्यसैले हामीले क्लास टिचरलाई आफ्नो कक्षाका विद्यार्थीका अभिभावकलाई सम्पर्क गरेर वहाँहरुलाई आफ्ना नानीबाबूहरुलाई अनलाइन कक्षामा सामेल गराउन आग्रह गरेका छौं । उहाँहरुले नानीबाबूहरुलाई कक्षामा सामेल गराइरहनुभएको छ ।
साना कक्षाका लागि कक्षागत ग्रुप च्याटमार्फत् भिडियो क्लास सञ्चालन भएको छ । अभिभावकहहरुले पनि के पढाइ भइरहेको छ भनेर हेर्न सक्नुहुन्छ । नबुझेको सोध्न सक्नुहुन्छ । लामो समयको लकडाउनका कारण विद्यालयका शिक्षकहरुलाई तलब दिन सकिरहेका छैनौं । शिक्षकहरुको पनि परिवार छ । चाडपर्व आएको छ । त्यसकारण पनि असोजदेखि हामीले सम्भव भए वार्षिक फिमा ५० प्रतिशत र मासिक फि भए बुझाउँदै गर्नुहोला भन्ने अनुरोध गरेका छौं ।

कतिपय विद्यालयका शिक्षकहरूले तलब नपाएको भन्दै विद्यालय छाड्ने गरेको पनि पाइएको छ, तपार्इंको विद्यालयको अवस्था के छ ?
– हो, धेरै विद्यालयमा त्यो समस्या रहेको पाइयो तर, हाम्रो विद्यालयमा भने हामीले पूर्णरुपमा तलब नै भनेर दिन नसके पनि उहाँहरुलाई समस्या पर्दा खर्च दिइरहेका छौं । शिक्षकहरुले लगिरहनुभएको छ । मैले तपाईंमा आर्थिक समस्या छ भने तपाईं १०–२० हजार जति सकिन्छ, लाँदै गर्नुहोस् भनेको छु । वैशाखबाट नै हामीले दिएका छौं र शिक्षकहरु पनि खुसी नै रहेका छन् ।

पछिल्लो समय धरान उपमहानगरपालिकामा शुल्क निर्धारण तथा कक्षा सञ्चालनको विषयमा छलफल भइरहँदा अभिभावकहरू निजी स्कुलले राखेको प्रस्तावमाथि असन्तुष्ट देखिन्छन्, यसलाई कसरी लिनुभएको छ ?
– वार्षिक शुल्क कति लिने, कति महिनाको फि लिने, शिक्षकहरुलाई कति महिनाको तलब दिने भन्ने निर्णय गर्ने सबैको अभिभावक भनेको सरकार नै हो । सबैलाई महामारीले आक्रान्त बनाएको छ ।
हरेक क्षेत्रमा समस्या उत्पन्न भएको छ । अभिभावकहरुमा पनि त्यो कुरालाई अनदेखा गर्न मिल्दैन । शुल्क निर्धारण गर्ने, सहुलियत प्रदान गर्ने, स्थानीय सरकारले न्यायोचित ढङ्गबाट सर्वमान्य निर्णय गर्नुपर्छ र गर्नेछ भन्ने पूर्ण आशा पनि छ । हामीले अभिभावकहरुलाई फि माग्दा तपाईं अहिले जति सक्नुहुन्छ बुझाउनुहोस् । पछि उपमहानगरको निर्णयपछि तपाईंले थप्नुपर्ने वा हामीले फिर्ता गर्नुपर्ने भए गरांैला भन्ने गरेका छौं । उपमहानगरले चाँडै निर्णय लियोस् भन्ने लागेको छ । निर्णय हुन नसक्दा अभिभावक र हामी दुवैपक्ष अन्योलमा परेका छौं ।