Trending Tags

दुर्लभ अर्ना संरक्षणमा चुनौती

alt
  • आश्विन ८, २०७७
  • मिकाइल आलम

भण्टाबारी/ रैथाने अर्ना अर्थात् विश्वमै लोपोन्मुख अर्नाको राजधानी कोशीटप्पु वन्यजन्तु आरक्ष पर्यटकीय स्थलमध्ये एक हो । अर्ना विश्वमै दुलर्भ जन्तुमध्येमा पर्छ । यो गाउँघरमा पालिने राँगा, भैंसीजस्तै हुन्छ । अर्थात् गाउँघरमा पालिने राँगा, भैंसीको जङ्गली अवतार हो अर्ना । सरकारले अर्ना संरक्षणका लागि कोशीटप्पुलाई निर्धारण गरेको छ ।

सप्तकोशी पूर्वको सुनसरी र पश्चिममा पर्ने सप्तरी र उदयपुर जिल्लाको १ सय ७५ वर्गकिलोमिटरमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष ०३२ सालमा स्थापना भएको हो । नेपालको सबैभन्दा सानो आरक्षको रूपमा रहेको यो आरक्ष जैविक विविधताले निकै महŒवपूर्ण मानिए पनि अर्नाकै कारण पर्यटकहरू आकर्षित हुने गरेका छन् ।

आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालको पूर्वी तराईको महŒवपूर्ण पर्यटकीय क्षेत्रको रूपमा स्थापित रहँदै आएको छ । यहाँ विभिन्न जनावरसँगै विश्वमै दुर्लभ मानिएको जङ्गली भैंसी अर्थात् अर्ना पाइन्छ । विश्वमै दुर्लभ मानिएको अर्नाका साथै विभिन्न प्रजातिका चराहरू पाइने भएकोले कोशीटप्पुमा पर्यटन क्षेत्र फस्टाउन सक्ने प्रबल सम्भावना छ । नेपालमा संरक्षित क्षेत्रको वर्गीकरणअनुसार रैथाने अर्ना पाइने एकमात्र आरक्ष हो कोशीटप्पु ।’

उनका अनुसार ०७४ साल चैत २८ गतेदेखि ३० गतेसम्म गरेको गणनाअनुसार कोशीटप्पुमा अर्नाको सङ्ख्या ४ सय ४१ रहेको छ । जसमा वयष्क पोथी अर्नाको सङ्ख्या बढी छ । कोशीटप्पुमा रहेका ४ सय ४१ वटा अर्नामध्ये १ सय ९१ वटा वयष्क पोथी अर्ना छन् । वयष्क भाले अर्नाको सङ्ख्या १ सय ३७ रहेको छ । पछिल्लो गणनाअनुसार एक वर्षका बच्चा ३८ वटा, २ वर्ष उमेरका ४० वटा र अर्धवयष्क ३५ वटा गरी जम्मा ४ सय ४१ वटा अर्ना कोशीटप्पुमा रहेका छन् ।

कुन सालमा कति थिए अर्ना ?
कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना हुँदा पहिलोपटक ०३२ सालमा गणना गर्दा अर्नाको सङ्ख्या ६३ वटामात्र पाइएको थियो । त्यसको ३३ वर्षपछि अर्थात् ०६५ सालमा गणना हुँदा अर्नाको सङ्ख्या तेब्बर भएको तथ्याङ्क छ । वार्डेन चौधरीले भने, ‘०६५ सालमा गरिएको गणनामा अर्नाको सङ्ख्या २ सय १९ थियो । त्यसको एक वर्षपछि ०६६ सालमा गणना गर्दा २ सय १५, ०६७ सालमा २ सय ३७, ०६८ सालमा २ सय ५९, ०७० सालमा ४ सय २७, ०७२ सालसम्म आउँदा बढेर ४ सय ३२ र पछिल्लो पटक गणना गर्दा ४ सय ४१ देखिएको छ ।’

आरक्षभित्र बढ्दो खुला चरिचरनका कारण घरपालुवा जनावर संरक्षित क्षेत्रमा आउने र साँघुरिँदो क्षेत्रका कारण अर्ना संरक्षणमा चुनौती बढेको कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चौधरीले बताए । कोशीटप्पुमा बच्चा जन्माउने अर्थात् प्रजनन्योग्य अर्नाको सङ्ख्या बढिरहँदा अर्नाको सङ्ख्या थप बढ्ने सम्भावना रहेको बताउँदै वार्डेन चौधरीले भने, ‘चरिचरनमा देखिएको समस्या सुधारका लागि योजनाबद्ध तरिकाले काम भइरहेको छ ।’

उनका अनुसार भाले अर्नाको प्रजनन्योग्य उमेर १८ महिना र पोथीको २ देखि ३ वर्ष रहेको मानिन्छ । गर्भधारण अवधि १० देखि ११ महिना हुन्छ भने सरदर आयु २५ वर्षको हुन्छ । अर्नाले बढीमा ५ वटासम्म बच्चा जन्माउने गर्दछ । उनले भने, ‘अर्ना चिनिने आधारहरूमा खुट्टा, घाँटी, पुच्छर, थुतुनोमा सेतो धर्सालगायत हुन्छन् ।’ अर्ना गणनाका लागि सुनसरीको हरिपुर, पश्चिम कुसाहा, प्रकाशपुर क्षेत्रका साथै सप्तरीको भागलपुर, पत्थरी, बदगामा क्षेत्रलाई ६ ब्लकमा बाँडेर अर्नाको गणना गर्दै आएको आरक्ष कार्यालयले बताएको छ । अर्ना गणना गर्न बाइनाकुलर, क्यामेरा, जिपिएस, अर्ना गणना फारम र फिल्ड डायरी प्रयोग गरिएको पाइन्छ ।

कोशीटप्पुमा कहाँबाट आए दुर्लभ अर्ना ?
अर्नाको आगमन कसरी भयो भन्ने बारेमा एकिन नभए पनि अर्नाको अवस्था हेर्दा सबै घरपालुवा भैंसीको पूर्वजको रूपमा मानिने गरिएको छ । अर्ना पाइने देशहरूमा नेपाल, भारत, भुटान, कम्बोडिया, थाइल्याण्ड रहेको छ । अन्य देशमा दुर्लभ मानिएको अर्ना संरक्षण गर्न कठिन देखिए पनि कोशीटप्पुमा केही चुनौतीका बावजुद त्यस्तो सङ्कट नरहेको जानकार बताउँछन् । अर्नाको बासस्थान खास गरेर पानी नजिकैको घाँस मैदान, हरियाली र चरिचरन भएको क्षेत्र नै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी झोलाई चौधरीको भनाइ छ ।

आरक्ष व्यवस्थित र सुरक्षित बनाउनुपर्ने आवश्यकता रहेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको भनाइ छ । खुला रूपमा हुँदै आएको चरिचरनका कारण दुर्लभ अर्नाको बासस्थान सङ्कटमा परेको उनले बताए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर मानव बस्ती प्रवेश गर्ने अर्नासहितका जनावर संरक्षणमा जुट्नुपर्ने अन्सारीको भनाइ छ । आरक्ष आसपास बसोबास रहेका सर्वसाधारणसँगै अर्नाजस्ता विश्वमै दुर्लभ जनावरको संरक्षण गर्न दीर्घकालीन योजना आवश्यक रहेको उनको कथन छ । आरक्षभित्र रहेका घरपालुवा भैंसी, सुख्खा मौसममा घाँस नहुनु र मानव बस्तीमा आउँदा दुर्घटना तथा प्रतिशोधको कारण मारिने गरेकोले संरक्षणमा गर्न चुनौती थपिएको अन्सारीको भनाइ छ ।

साढे तीन लाख रूपैयाँ ...

विराटनगर/अवैध रूपमा भारतबाट मध्य रातकाे समयमा तस्करी गर ...

पथरीशनिश्चरेमा कोरोन ...

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा कोरोना भाइरस स ...

कोरोना संक्रमणको मात ...

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिर ...

लागूऔषधविरुद्धको स्व ...

इनरुवा । लागूऔषध विरुद्ध सुनसरी प्रहरीले चालेको स्वीप अ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved