धरान । धरान–१ युरेका लाइनका एक चिया पसल र आइरन (स्त्रि) गर्ने पसलमा आगलागी भएको छ ।

आगलागीबाट पसलमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार देवी राउतको टिनको छाना भएको चिया दोकान र मोहम्मद सालीनको आइरन गर्ने पसलमा क्षति पुगेको हो । राउतको एक लाख १० हजार बराबरको क्षति हुँदा सालीनको एक लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

साढे १२ बजेतिर सुरु भएको आगलागी करिब एक बजेतिर नियन्त्रणमा लिएको उनले जानकारी दिए । स्थानीय, धरान उपमहानगरपालिकाको बारुण यन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । आगलागीको कारणबारे खुल्न सकेको छैन ।

पसलकी सञ्चालिका देवी राउतका अनुसार राति आगो लागेको भन्ने सुनेपछि उठेर जाँदा आगो दनदनी बलिरहेको थियो । आगो के कारणले लाग्यो आफूलाई पनि थाहा नभएको उनले फोनसम्पर्कमा बताइन् ।

‘सवा १२ बजेतिर पुग्दा दोकान दनदनी बलिरहेको थियो, देख्नेहरूले सानो कुर्सी बलेको थियो भनेर भन्दैथिएँ, के कारणले लाग्यो मलाई पनि थाहा भएन’–उनले भनिन् । उनी पसलदेखि दुई घर मुन्तिर भाडामै बस्दै आएकी छन् ।